७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारविरुद्ध कांग्रेससहित १० दल एक ठाउँमा, देउवा र वैद्यले नेतृत्व गर्ने

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार निरंकुश बन्दै गएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित १० राजनीतिक दल एक ठाउँमा उभिएका छन्। 

यी दश राजनीतिक दलको विद्यार्थी संघले आफ्ना माउ पार्टीलाई एक ठाउँमा ल्याएको हो। केपी शर्मा ओली नेतृत्वको सरकार जनअपेक्षाविपरीत गएको भन्दै आन्दोलनका निम्ति पार्टीलाई एक ठाउँ ल्याउनुपर्ने बाध्यता भएको विद्यार्थी नेताहरू बताउँछन्।

सरकारको विरुद्धमा प्रमुख प्रतिपक्षी दल कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कोपाल किराँती नेतृत्वको नेकपा माओवादी, नेकपा माले, विप्लव नेतृत्वको नेकपा र चन्द्रबहादुर थापा नेतृत्वको राष्ट्रवादी एकता केन्द्र एक ठाउँमा उभिएका हुन्। 

यी सबै राजनीतिक दलका विद्यार्थी संगठनले शुक्रबार काठमाडौंमा कार्यक्रमको आयोजना गर्दै आफ्नो माउ पार्टीका शीर्ष नेतालाई एक ठाउँमा उभ्याएका हुन्। १० वटा पार्टीको भ्रातृ संगठनसँग जनजाति विद्यार्थीहरूको जातीय संस्था जनजाति विद्यार्थी महासंघ पनि जोडिएको छ।

कार्यक्रमसँगै अब सरकारविरोधी आन्दोलनका लागि पार्टीलाई एक बनाउने कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थीसँगका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले बताए। ‘हरेक आन्दोलनमा सुरुमा विद्यार्थीले नै नेतृत्व गर्दै आएको इतिहास हामीसँग छ’, उनले भने, ‘दुई तिहाईको बलियो सरकारको दम्भका विरुद्ध आन्दोलन गर्नुपर्छ। त्यसको सुरुवात हामीले गरेका हौं।’

उनले चाँडै कार्यक्रममा सहभागी दलका शीर्ष नेताबीच वार्ता हुने बताए। ‘सभापति (शेरबहादुर देउवा)को बाहिर कार्यक्रम छ। त्यो कार्यक्रम सकेर सबै आज सहभागी दलका नेताको वार्ता हुने कुरा भएको छ’, उनले नागरिकसँग भने, ‘अरू दलसँग पनि कुरा भइरहेको छ। अबको आन्दोलनको नेतृत्व फेरि कांग्रेसले गर्छ।’

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष किरातीले अब आन्दोलन अपरिहार्य रहेको बताए। यसका लागि सबै दल एक हुनुको विकल्प नभएको उनको भनाई थियो। ‘अब आन्दोलनको समय आएको छ’, उनले भने, ‘त्यसको संयोजनका लागि लोकतान्त्रिक खेमाको नेतृत्व देउवाजी र कम्युनिस्टको वैद्यजी (मोहन वैद्य)ले गर्नुपर्छ।’

संयुक्त विद्यार्थीको मोर्चाबन्दी कार्यक्रममा सत्तारुढ फोरमको विद्यार्थी संगठन सहभागी भए पनि यसका शीर्ष नेता भने थिएनन्। विप्लव नेतृत्वको नेकपाले कार्यक्रममा सन्देश पठाए पनि प्रतिबन्धका कारण नेताहरू भने सहभागी हुन सकेनन्। 

केपी ओली हैन ‘करप्रसाद ओली’ : देउवा

कांग्रेस सभापति देउवाले अब सरकारको विरुद्धमा आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए। दुई तिहाइको शक्तिशाली सरकारले जनअपेक्षाअनुसारको काम गर्न नसकेकाले आन्दोलनमा जानुको विकल्प नरहेको बताए। 

‘यो सरकारले बलात्कारीलाई पक्राउ गर्नुको सट्टा लुकायो’, उनले भने, हत्या हिंसाका घटना बढिरहेका छन्। यी र यस्तै कारणले अब आन्दोलन गर्नुपर्ने अवस्था आएको छ। त्यसका लागि तपाई विद्यार्थीहरू अघि बढ्नुहोस् हाम्रो साथ रहन्छ।’

सभापति देउवाले यो सरकारले जताततै कर बढाएको बताए। उनले महँगी र करका कारण गरिब जनतालाई समस्या भएको बताए। ‘कर अचाक्ली बढेको छ। महँगी पनि उस्तै छ। मैले केही दिनअघि काभ्रे जाँदा थाहा पाएँ कि कुखुरा एक ठाउँबाट अर्को ठाउँमा लगेको पनि कर लाग्दो रहेछ’, उनले भने, ‘उहाँलाई केपी ओली हैन करप्रसाद ओली भने हुन्छ।’

सभापति देउवाले सीके राउतलाई मूलधारमा ल्याएर सरकारले शंका गर्ने ठाउँ राखेको बताए। ‘रातारात सीके राउतलाई छुटाएर सम्भौता गरियो। सम्झौता गरेको भोलिपल्ट उनी मेधस पुग्दा नयाँ देशमा स्वागत छ भनेर स्वागत गरियो। स्वतन्त्र मधेसका लागि जनमत संग्रह गर्ने भनेको छ’, उनले भने, ‘कांग्रेसले कुनै हालतमा राष्ट्रहितविपरीत जनमत संग्रह हुन दिँदैन। केपी ओलीको राष्ट्रवाद कहाँ छ? देशभक्ति खोइ कहाँ देखियो?’

ओलीलाई टुक्का मै जवाफ!

प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक भाषणा उखान टुक्काको प्रयोग गर्छन्। उखान टुक्कासहित विपक्षीलाई मज्जाले घोचपेच पनि गर्छन्। 

तर बिहीबारको कार्यक्रमा भने क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले टुक्कामै ओलीलाई जवाफ फर्काएका छन्। 
‘ओलीजी उखानटुक्का धेरै भन्नुहुन्छ। म पनि आज उखानमै उहाँलाई जवाफ फर्काउछु। उहाँहरू (सत्तारुढ नेकपा) जुन गोरुको सिंग छैन उसकै नाम तीखे भने जस्तै हो’, उनले भने, ‘उनीहरू नाम मात्रैका कम्युनिस्ट हुन्। फासीवादी हुन्। उखान टुक्कावादी हुन्।’

महासचिव वैद्यले जनजिविकाको सवालमा सरकार फेल भएकाले अब आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए। उनले सरकार गलत बाटोमा हिँडिरहेको बताए। ‘सीकेलाई सरकारले जेलबाट छुटाएर सम्झौता ग-यो। तर थरुहट आन्दोलनमा संलग्न भएका अभियुक्त रेशम चौधरीलाई कैदी बनायो’, उनले भने, ‘थरुहट आन्दोलनमा जनता उर्लिएर आए अनि घटना भयो। त्यसलाई राजनीतिक तरिकाले सरकारले हेर्नुप-यो र राजनीतिक तबरबाटै समस्याको समाधान खोज्नुपर्छ।’

मैनाली र महतोबीच मञ्चमै विवाद!

आफूहरू एक भएर सरकारविरोधी आन्दोलन गर्ने संकेत दिन राष्ट्रिय सभागृह पुगेका राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र नेकपा मालेका महासचिव सीपी मैनालीबीच मञ्चमै विवाद भएको छ। 

झापा आन्दोलनको नेतृत्वमध्येका एक मैनालीले राजपा नेता महतोले बारम्बार झापा आन्दोलनको कुरा निकालेपछि प्रतिवाद गरेका थिए। 

‘झापा आन्दोलनमा बञ्चरोले मान्छे काटेका ओली प्रधानमन्त्री हुने, १७ हजार मान्छे मारेका प्रचण्डले जेल जान नपर्ने’, मैनालीभन्दा अघि बोलेका महतोले भने, ‘थारुको हकहितमा आन्दोलन गर्ने रेशम चौधरी जेल जानुपर्ने? यो कस्तो विभेद हो?’

झापा आन्दोलनमा ‘बञ्चरोले मान्छे काटेको’ भनेपछि आक्रोशित देखिएका मैनालीले चौधरीलाई जेल पढाउनु ठीक भएको बताए। ‘झापा आन्दोलनका योद्धा आरके मैनाली र केपी ओलीले १४ वर्ष जेल बसे। म पनि जेल तोडेर भागेँ। झापा आन्दोलनमा खेलेको भूमिका मार्फत हामीले जेल जीवन बितायौं’, उनले भने, ‘थरुहट आन्दोलन ठीक थियो। तर हिंसा ठीक भएन। फेरि झापा आन्दोल २०४६ मा निष्कर्षमा पुग्यो तर थरुहट आन्दोलन निष्कर्षमा पुगेको छैन नि!’

मैनालीले नागरिकताका सम्बन्धमा पनि बोलिरहँदा महतोले छेउमै रहेका कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतसँग कुरा काटिरहेका थिए। आफ्नो भनाई सकिने बितिकै मञ्चमा आएका मैनालीलाई महतोले झम्टिहाले। केही समयसम्म उनीहरूबीच मञ्चमै वादविवाद भयो। तर पत्रकारका क्यामेरा उनीहरूतिर तेर्सिएपछि भने सतर्क भए। 

प्रकाशित: २९ चैत्र २०७५ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App