coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

किन नबनाउने 'हाइअल्टिच्युड ट्रेनिङ हब'

काठमाडौं-ओलम्पिकको चर्चा कम भइसकेको छ। दक्षिण अमेरिकाको ब्राजिलमा विश्व खेलकुदको सबैभन्दा ठूलो मेला सम्पन्न भएको तीन महिना बितिसकेको छ। तथापि केही खेलाडीका कालजयी प्रदर्शनको तेज अझै कम भएको छैन।

माइकल फेल्पस अमेरिका फर्किएपछि रियो दी जेनेरियोमा सबैभन्दा चर्चित बने उसेन बोल्ट, ‘ट्रिपल ट्रिपल’ को उपाधिसहित । छोटो दुरी दौडका बादशाह बोल्टले १०० मिटर, २०० मिटर तथा ४ गुणा १०० मिटर रिलेमा लगातार ओलम्पिकमा तेस्रोपटक स्वर्ण जिते । यसअघि जमैकन धावक बोल्टले लन्डन ओलम्पिक २०१२ र बेइजिङ ओलम्पिक २००८ मा पनि तीनै विधामा स्वर्ण जितेका थिए ।

बोल्ट बाहेक पनि अफ्रिकी मुलुक केन्याका पिचोज इलिउडले म्याराथनमा स्वर्ण जित्दा इथियोपियाका लिलेसा फेयसाले रजत जिते । ८ हजार मिटरमा केन्याकै रुडिसा डेभिड लेकुटाले स्वर्ण जिते । त्यस्तै १० हजार मिटरमा केन्याका तनुई पाउल किपगेटिचले रजत जिते भने इथियोपियाका टोला टामिरटले कांस्य जिते । महिला विधामा पनि जमैका बाहेक केन्या र इथिइयोपिया खेलाडीको वर्चस्व थियो ।

विश्वकै शक्तिशाली अमेरिका, बेलायत चीन र रुसले ओलम्पिक पदक तालिकामा आफूलाई अग्रस्थानमा राख्दा एथलेटिक्सको ट्र्याक इभेन्ट्समा भने अफ्रिकी मूलका खेलाडी हाबी भए, जो आर्थिक रुपमा सम्पन्न थिएनन् । उनीहरूका देश पनि तुलनात्मक कमजोर नै थिए ।

.......                       .......

विज्ञानले ‘हाइ अल्टिच्युट’मा अभ्यास गरेका खेलाडीले प्रतिस्पर्धामा राम्रो नतिजा निकाल्न सक्ने निष्कर्ष निकालेको छ ।सन् २०१० तिर अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले निकालेको निचोड अफ्रिकी मूलका यी खेलाडीको सफलताले प्रमाणित गर्छ ।

समुन्द्र सतहको ५ हजार फिट (करिब १५ सय मिटर) देखि ८ हजार फिट (करिब २४ सय मिटर) को उचाइ एथलेटिक्सका खेलाडीलाई अभ्यास गर्न उपयुक्त स्थल मानिन्छ । समुन्द्री सतहबाट जति माथि गयो अक्सिजनको मात्रा कम हुँदै जान्छ । जसका कारण हामीले लिने श्वास पनि शरीरलाई चाहिने भन्दा थोरै हुन्छ ।त्यसै कारण हाम्रो शरीरलेअक्सिजनको मात्रा मिलाउन स्वतस्फूर्त रुपमा ‘रेड ब्लड सेल’ को तीव्र उत्पादन गर्छ ।रगतमा हुने रेड ब्लड सेलले शरीरको मांसपेसीमा अक्सिजन पु¥याउने काम गर्छ ।

त्यसैले हाइ अल्टिच्युडमा अभ्यास गर्दा खेलाडीको शरीरले अतिरिक्त रेड ब्लड सेल उत्पादन गरेको हुन्छ । उक्त रेड ब्लड सेल १० देखि २० दिनसम्म शरीरमा सक्रिय रहिरहन्छ । जसले गर्दा खेलाडीलाई सामान्य ठाउँमा प्रतिस्पर्धा गर्दा सहज हुन्छ ।

‘उच्च तहको हावामा अक्सिजनको मात्र कम हुन्छ । तल्लो तहमा धेरै हुन्छ । त्यसैले उच्च तहमा अभ्यास गरेर तल्लो तहमा आएर प्रतिस्पर्धा गर्दा सहज हुन्छ,’ एथलेटिक्स प्रशिक्षक सुशील नरसिंह राणाले भने, ‘एथलेटिक्स मात्र नभई ३० मिनेटभन्दा धेरै समय खेलिने कुनैपनि खेलका लागि ७ देखि ८ हजार फिटमा अभ्यास गर्नु फाइदाजनक हुन्छ ।’

इथियोपियाको राजधानी एडिस एबाबा समुन्द्री सतह देखि २३५५ मिटर(करिब ७७२७ फिट)को उचाइमा छ । केन्याको राजधानी नैरोबीको उचाइ १७९५ मिटर (करिब ५८८९फिट) छ । नेपालको राजधानी काठमाडौं समुन्द्री सतह देखि १४०० मिटर (करिब४५९३ फिट) को उचाइमा छ । जमैकाको पनि ८० प्रतिशत भूभाग पहाडी छ ।

....

अन्तर्राष्ट्रिय उदाहरण तथा विज्ञानको निचोड मान्ने हो भने नेपालको भूगोल एथलेटिक्स खेलाडीका लागि स्वर्ग भन्दा फरक पर्दैन । भौगोलिक हिसाबले एथलेटिक्स खेलाडीलाई अभ्यास गर्ननेपाल उपयुक्त स्थलहो।यहाँका अग्ला पहाडी तथा हिमाली भेगहरुमा पाइने वातावरणखेलाडीका लागि निकै फाइदाजनक हुन सक्छ । हाइ अल्टिच्युडको उपलब्धतता मात्र नेपाली भूगोलको विशेषता होइन । पहाडी इलाकामा उकाली ओराली गर्न पाउनुले सामान्य मानिसमा पनि सफल धावक बन्ने राम्रो आधार बनाइरहेको हुन्छ । करिब ६५ प्रतिशतभन्दा बढी पहाड भएको मुलुकको नियमित दैनिकीउकाली ओरालीबाट सुरु भएर त्यसैमा अन्त्य हुन्छ । स्कुल जाने विद्यार्थीदेखि कामकाजीसम्मको बाध्यता उकाली ओराली हो ।

नेपालको भौगोलिक अवस्थामा सामान्य दैनिकीले पनि कहीँ न कहीँ अप्रत्यक्ष रूपमा सहयोग पु¥याएको रियो ओलम्पिकमा सहभागिता जनाएका धावकद्वय हरि रिमाल र सरस्वती भट्टराईको अनुभव छ ।

‘घरमा गाउँबेसी गर्नुपथ्र्यो । स्कुल पनि टाढा थियो,’ धादिङको फूलखर्क गाविसमा जन्मिएका हरि भन्छन्, ‘सायद त्यो वातावरणले पनि अप्रत्यक्षरूपमा काम गरेको हुनसक्छ ।’

सुदूरपश्चिममा जन्मिएकी सरस्वतीको अनुभव पनि उस्तै छ । ‘मलाई स्कुल जान आधा घन्टा हिँड्नुपथ्र्यो। जाँदा उकालो थियो । आउँदा ओरालो,’ सरस्वतीले थपिन्, ‘घरधन्दा सकेर स्कुल जानुपथ्र्यो । त्यसैले सधँै हतार हुन्थ्यो । सायद त्यतिबेला मेरा लागि ट्रेनिङ भएथ्यो होला ।’

....

पृथ्वी गोलाद्र्धका दुई भिन्न ठाउँमा रहे पनि विश्व एथलेटिक्सका महारथी राष्ट्रसँगको तुलनामा नेपालको अवस्था धेरै फरक छैन । आर्थिक अवस्थादेखि समुन्द्री सतहदेखिको उचाइ ठ्याक्कै नमिल्ला तर धेरै हदसम्म उस्तै छन् ।

प्रत्येक चार वर्षमा ओलम्पिक हुँदा नेपालमा एउटा निरीह सोचले अक्षरश निरन्तरता पाइरहेको हुन्छ । ‘हामी अनुभव बटुल्न जाने हो । ओलम्पिकमा पदक जित्नु हाम्रो बुताको कुरा होइन ।’

लाजै नमानी प्रत्येक चार वर्षमा दरिद्रता भजाउँदै व्यक्त गरिने यस्तो लाचारीलाई अन्तर्राष्ट्रिय उदाहरण, विज्ञानको खोज र नेपालको अवस्थाले चर्को स्वरमा खण्डन गरिरहेको छ । सुन्ने कोही नभए पनि । एथलेटिक्समा नेपालले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधिको आशा गर्नु नाजायज पक्कै छैन । तत्काल ओलम्पिकको सपना देख्न अप्ठेरो लागे दक्षिण एसिया र एसिया हुँदै विश्व स्तरको योजना बनाउन भने सकिने तथ्यहरूले प्रमाणित गरेका छन् ।

प्रकृतिलेसाथ दिए पनि त्यसको प्रयोगको थालनीसमेत नभएकोमा निराश छन् प्रशिक्षक राणा । ‘हाई अल्टिच्युड’ बसाइ तथा उकाली ओरालीले खेलाडीको प्रदर्शनमा केही सहयोग गरे पनि आधुनिक र वैज्ञानिक अभ्यास नगरे स्तर बढ्न नसक्ने उनी बताउँछन् ।

‘पक्कै पनि त्यो उकाली ओरालीले केही सहयोग त गर्छ तर त्यसलाई निखार्न आधुनिक र वैज्ञानिक ट्रेनिङ आवश्यक हुन्छ,’ राणाले थपे, ‘प्रकृतिले त साथ दिएको छ, तर हामी माल पाएर चाल नपाए जस्तो गरिरहेका छौं । हामीसँग हाइ अल्टिच्युड छ तर त्यहाँ गएर अभ्यास गर्न पूर्वाधार छैन।’

निजी क्षेत्र (जस्तै, हरिबहादुर रोकायले जुम्लामा बनाएको ट्रेनिङ सेन्टर) बाट केही पहल भए पनि सरकारी निकाय कानमा तेल हालेर बसकेको अवस्था छ । सरकारले हाइ अल्टिच्युड अभ्यासका लागि रंगशाला बनाउने पनि बताएको थियो । तर बोलेका कुरा कार्यान्वयन नहँुदा समस्या ज्यूँका त्यूँ रहेको उनी बताउँछन् । ‘कुरा उठ्छन् तर कार्यान्वयन हुँदैन। सरकारले हाइ अल्टिच्युड अभ्यासका लागि रंगशाला बनाउने कुरा नगरेको होइन तर अहिलेसम्म केही प्रगति भएको छैन । हाइ अल्टिच्युडमा अभ्यास गर्दा कम्तीमा मेडिकल सुविधा, आधुनिक ट्र्याक, खेलाडीको अवस्था परीक्षणका लागि ल्याबको व्यवस्था लगायतका कुरामा सरकारले लगानी गर्नुपर्छ,’ प्रशिक्षक राणाले थपे।

सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा कभर्डहल बनाउने योजना अघि सारेकोछ तर हाल देशमा अन्तर्राष्ट्रिय स्तरको एउटै रंगशाला छैन । भएको दशरथ रंगशालामा पनि भूकम्पले जीर्ण अवस्थामा छ । त्यसलाई पुनर्निर्माण गर्नुको सट्टा सरकार टालटुल गर्ने मनस्थितिमा छ । सरकारको खेलकुदमा छुट्टिने बजेट एकीकृत विकासभन्दा कनिका छरेजस्तो भएको छ । जसले गर्दा खेलाडीले नियमित प्रशिक्षण गर्न पाएका छैनन् ।

‘उपलब्धि खोज्न पूर्वाधार नै चाहिन्छ । पहिलादेशव्यापी खर्च गर्नुभन्दा एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाएर देखाउ । वर्षमा एउटा बन्यो भने पनि पाँच वर्षमा ५ वटा बन्छ । बेकामे धेरैभन्दा स्तरीय एउटै हुनु राम्रो हुन्छ,’ राणाले थपे, ‘आजको भोलि केही हुँदैन । तर दूरदृष्टि नराखी यही पारामा काम गर्ने हो भने अबको ५० वर्षमा पनि सफलता हात पार्न सकिँदैन।’

प्रकाशित: ३ कार्तिक २०७३ ०३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App