coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

यही हो नयाँ नेपाल ?

अस्ट्रेलियाका आदिवासी ‘मिथक’ बन्दैछन्। अमेरिकामा हजारौँ वर्ष पहिलेदेखि बसेका चेरी वा जिप्सीजस्तै वा मोरक्कोमा फ्रेन्च प्रभाव पैmलिएपछि मुरहरू मासिँदै गएझैँ धेरै राष्ट्रमा रैथानेहरू कमजोर, अस्तित्वहीन र अदृश्य बन्दैछन्। विदेशी प्रभावले कमजोर राष्ट्रमा चिन्ता थपिएको छ। इलामदेखि सिक्किमसम्म फैलिएका लाप्चे (लेप्चा) हुन् वा दार्चुला टिङ्करतिरका ब्याँसी, झापा, मोरङका राजवंशी, धिमाल वा सतार हुन् वा तनहुँका बोटे, सबैलाई प्राचीन धर्म–संस्कृति प्रिय लाग्छ। काठमाडौँ खाल्डोका कान्तिपुर, ललितपुर, भक्तपुर, कीर्तिपुर– नेवारी संस्कृति र सभ्यता पुष्पित–पल्लवित ठाउँ हुन्। ६५ प्रतिशत जनसंख्या तामाङले ओगटेका छन् रसुवामा। त्यहाँबाटै तामाङको भाषा, साहित्य र संस्कृति हरायो भने दोष कसलाई दिने ? थारू धर्म–संस्कृति मासिँदा कुन थारू खुसी होलान् ? गुरुङ, मगर, राई, लिम्बू सबैको त्यस्तै हो।

गोरखाका राजा रामशाहले समाज सुधारका लागि कानुन (थिति) बनाउँदा ‘ठूलो–सानो’ भनेनन्। समाज भ्रष्ट भयो भने भावी पुस्ताको जीवन तनावयुक्त, अशान्त र अराजक बन्छ भन्ने उनले बेलैमा बुझेका रहेछन्। जग्गा–जमिन, ढक–तराजु, कुुलोपैनी, मठमन्दिर सबै ठाउँलाई कानुनद्वारा व्यवस्थित गरे, उनले। एउटा रूख काट्नेलाई ५ रुपियाँ जरिवाना गर्ने कानुन बनाए। यसले गर्दा जथाभाबी वातावरण बिगार्नेहरू डराए। भविष्य चिन्तामय नहोस् भनेर उनले बनाएका थिति (बन्दोबस्त) आज पनि सम्झना गरिन्छ। हाम्रा प्राचीन धर्म–संस्कृति बुझाउने ग्रन्थहरूमा न्याय, मानव अधिकार, नागरिक हक, वातावरण,  राष्ट्रिय सुरक्षा, समाजसेवा, कूटनीति आदि अनेक विषय समेटिएका छन्। हाम्रा पुर्खाले विदेशीका बुद्धि, पैसा र अन्य सहायता सापटी लिएनन्। सुर्खेतको काँक्रेविहार होस् वा भक्तपुरको न्यातपोल– सबै स्वदेशी श्रम, सीप र साधनले बनेका हुन्। पृथ्वीनारायण शाहको दिव्य–उपदेशमा भविष्यप्रतिको चिन्ता प्रतिबिम्बित छ। जुन हामीमध्ये धेरैले पढेकै छैनौँ।

जो राष्ट्र नै भत्काउन आएका हुन्, उनीहरूले पुराना सबै कुरा भत्काउनकै लागि ‘नयाँ नेपाल’ शब्द प्रयोग गरिरहेका छन्।

नेपालमा अहिले राजनीतिज्ञहरूले ‘राष्ट्रको चिन्ता’ गर्ने गरेका खबर यदाकदा सुनिन्छ। मुसा नपाउन्जेल बिरालो शाकाहारी हुन्छ भनेझैँ प्रबल नभएसम्म दलहरू राष्ट्रवादी भइदिन्छन्। सत्ता प्राप्त गर्न वा टिक्न जोसँग जे पनि सम्झौता गर्छन् भन्ने कुरा पच्चीस–तीस वर्षयताका घटनाक्रम अध्ययन गरे पुग्छ। महाकाली सन्धिपछि नेपाललाई हरेक साल सय अर्ब रुपियाँ फाइदा भइरहन्छ भन्ने वामपन्थी नेता हाल प्रधानमन्त्री छन् तर महाकालीबाट राष्ट्र कति लाभान्वित भएको छ, त्यो जगजाहेर छ। त्यस्तै लाखौँ विदेशीलाई सजिलैसँग नेपाली नागरिकता प्रदान गर्ने वातावारण बनाउन ठूला र प्रभावशाली दलहरूले रचेको प्रपञ्च सबैले देखेबुझेकै कुरा हो। यसले हामी ‘फिजी’ बन्ने भय फैलिएको छ।
महात्मा गान्धीले भारतमा चलाएको अंग्रेजविरोधी आन्दोलनबाट उत्प्रेरित भएर श्री ३ भीमशमशेरका पालामा केही युवकयुवतीले धूमपान, मद्यपान, माछामासु र विदेशी सामान बहिष्कार गर्ने अभियान चलाए। योगवीरसिंह कंसाकार, माणिकमान तुलाधर, धर्मरत्न तुलाधर, करुणारत्न कंसाकार, लक्ष्मीनानी (महिला पुराणवाचक) आदिका गतिविधिप्रति शासकहरू सशंकित भए। १९८८ कात्तिक २१ गते श्री ३ महाराजमा मुद्दा पेस भयो। प्रधानमन्त्री भीमले छोरा रामशमशेरलाई ‘तिमीले छानबिन गर्नू’ भनेर अह्राए। रामशमशेरले ‘उट्पट्याङ कुरा गर्नेहरूको यो समूह आडम्बरी मत हो’ भनिदिए। उद्देश्य राम्रो भए पनि विद्रोहको शैलीलाई जनताले स्वीकार गरेनन् भने भविष्यको चिन्ता गर्नेहरू पनि ‘आडम्बरी’ ठहरिन सक्छन् भन्ने यो एउटा उदाहरण हो।

नेपाली कांग्रेस, राणा शासक र भारतबीच दिल्लीमा भएको सम्झौताले नेपाली राजनीतिमा विधिपूर्वक विदेशी हस्तक्षेप भिœयायो। भोजपुरका रामप्रसाद राईले पूर्वी नेपालमा र केआई सिंह (डोटी) ले पश्चिम नेपालमा दिल्ली सम्झौता राष्ट्रघात हो भन्दै विद्रोह गरे। त्यो भविष्यप्रतिको गम्भीर चिन्ता थियो। राई र सिंह कम्युनिस्ट थिएनन् तर राष्ट्रवादी आन्दोलन चलाएको भन्दै कम्युनिस्टले सो विद्रोहलाई समर्थन गरेका थिए। नेपालमा प्रजातन्त्र स्थापना र नागरिक हकका निम्ति संघर्ष गर्ने उद्देश्यले देवीप्रसाद सापकोटाको नेतृत्वमा बनारसमा २००३ माघ १२ गते स्थापित ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ नेपाली कांग्रेसको पुरानो घर थियो। कलकत्ताको भवानीपुर सम्मेलनले दलको नाम परिवर्तन गरेर नेपाली राष्ट्रिय कांग्रेस राख्यो। गणेशमान सिंह र सुन्दरराज चालिसेजस्ता राष्ट्रवादी युवकले दबाब दिएपछि नाम फेरिएको पुराना कांग्रेसीहरूको तर्क छ। टंकप्रसाद आचार्य त्यसका सभापति थिए। कृष्णप्रसाद भट्टराई, बालचन्द्र शर्मा, डिल्लीरमण रेग्मी, रुद्रप्रसाद गिरी, गोपालप्रसाद भट्टराई (गोरखापत्रका पूर्व प्रधान सम्पादक) सबै एउटै दलमा थिए। बिस्तारै दलमा विभाजन आयो। विदेशी हित प्रबल हुँदै गयो।

मलेसियाका राजनेता महाथिर बिन महमदले ४८ वर्षअघि लेखेको पुस्तकमा भनेका छन्–‘इमानदारहरूको संख्या न्यून रहेको समाजमा शंकाको वातावरण व्याप्त हुन्छ।’ राजनीतिक आदर्श, सिद्धान्त, निष्ठा, नैतिकता र दर्शन हराउँदै गएको आजको नेपाल ‘बाइसे–चौबीसे’ बाटोमा हिँड्न खोजेको देखिन्छ। नेपाली कांग्रेसमा ‘नेपाली’ शब्द प्राविधिक रूपमा छ र पार्टी भने गुटहरूको महासंघ बन्दैछ। कम्युनिस्ट पार्टीको अवस्था त्यस्तै छ। पशुपतिनाथलाई ठूलो बसाहा (साँढे) प्रतिमाले छेकेझैँ राष्ट्रियता छेकिएको छ र अर्थोक नै देखिएको छ।

संसदमा नक्कली नागरिकताधारीहरूको ‘दुईतिहाइ’ पनि हुनसक्छ। राजा ज्ञानेन्द्रलाई जुन शक्तिले ‘पूर्वराजा’ बनायो, त्यही शक्तिले हामीलाई ‘पूर्वनेपाली’ बनाउने चिन्ता थपिएको छ।

तराईमा भारतीयको बाहुल्य बढ्यो भने जनसंख्याको सन्तुलन खल्बलिन्छ। संसदमा नक्कली नागरिकताधारीहरूको ‘दुईतिहाइ’ पनि हुनसक्छ। मलाया (मलेसिया) भूमिका रैथाने मले जातिलाई चीन, भारत र सिंगापुरे जनसंख्याले पेल्न खोजेझैँ वा फिजीमा ८५ प्रतिशत जमिन, कारखाना र सम्पत्ति भारतीयको भएझैँ नागरिकताको खुकुलो प्रावधानले नेपाली जनता भविष्यमा अल्पमतमा पर्ने देखिन्छ। राजा ज्ञानेन्द्रलाई जुन शक्तिले ‘पूर्वराजा’ बनायो, त्यही शक्तिले हामीलाई ‘पूर्वनेपाली’ बनाउने चिन्ता थपिएको छ। इतिहासका निर्माता चेतनशील जनता हुन्। राष्ट्रिय एकताका सूत्र र आधारहरू भत्काइँदैछन्। जो राष्ट्र नै भत्काउन आएका हुन्, उनीहरूले पुराना सबै कुरा भत्काउनकै लागि ‘नयाँ नेपाल’ शब्द प्रयोग गरिरहेका छन्। बिबीसीजस्तो मर्यादित संस्थाले समेत त्यस्तो उट्पट्याङ शब्द प्रयोग गरिरहेको छ। राजतन्त्र ढलेर सन् १९४९ मा चीनमा कम्युनिस्ट पार्टी सत्तामा पुगेपछि माओले ‘नयाँ चीन’ भनेका थिए। तर ओलिभर क्रमबेलले राजाको हत्या गरेर गणतन्त्र घोषणा गर्दा पनि ‘न्यु ब्रिटेन’ भनेका थिएनन्। स्पेनमा जनरल फ्रांकोले राजतन्त्र हटाए र कालान्तरमा पुनस्र्थापना गरे तर ‘न्यु स्पेन’ भनेनन्।

हजारौँ साल पुरानो धर्म, परम्परा, संस्कृति, इतिहास र स्वतन्त्रता भएको राष्ट्रलाई नयाँ नेपाल बनाउन पुराना जति सबै मास्नैपर्छ। त्यसैले राष्ट्रिय भन्डासमेत फेर्न माओवादीले देव गुरुङमार्फत प्रस्ताव ल्यायो। एनजिओ÷आईएनजिओमार्फत ‘नयाँ नेपाल’ नाटक मञ्चन गरिँदैछ। सनातन धर्म, ॐकार परिवार, प्राचीन धर्म–संस्कृति विकासका बाधक हुन् भनिँदैछ।
कतिपय मानिस प्रश्न गर्छन्– ‘राजनीतिक परिवर्तनले राष्ट्रलाई खती मात्र गराएको छ त ?’ २०६२÷६३ पछि धेरै आशा गर्नेहरूमध्ये हालका प्रधानमन्त्री पनि एक हुन्। काठमाडौँमा उद्योग–वाणिज्यका रथीहरूको सम्मेलनमा प्रधानमन्त्री केपी ओलीले पुनः स्वीकार गरे– ‘जनता निराश हुँदै गएका छन्।’ यस्तो अभिव्यक्ति अन्य दलका नेता, विद्वान, नागरिक अगुवा सबैतिरबाट आइरहेको छ। केही वर्ष अघिसम्म गणतन्त्रमा जनता निराश बन्दैछन् भन्नेलाई परिवर्तनविरोधी वा प्रतिगामी भनिन्थ्यो। अहिले पुष्पकमल दाहालदेखि खड्गप्रसाद ओलीसम्मले सत्य स्वीकार्न थालेको देखिन्छ। यो भनेको, हामीले गतिलो काम गर्न सकेनौँ नै भनेको हो। हिन्दीमा भनाइ छ– ‘जब जागा तब सबेरा’ (जब ब्युँझिन्छ तब उज्यालो भएको थाहा पाउँछ।) गणतन्त्रको मीठो रसपान गरेर झन्डै बाह्रतेह्र वर्ष मोजमस्ती गरे, गणतन्त्रवादीले। राष्ट्र कंगाल बन्दै गएको छ। राष्ट्रको सिमाना मिचिएर क्षतविक्षत हुँदा पनि यी निदाइरहे। प्रधानमन्त्री निवासभित्रको जमिन अर्कैले हडपेको चाल नपाउने शासकहरू ‘मेरो कम्मरको खुकुरी कुन हुस्सुले चोरेछ’ भनेर छानबिन गर्ने ताहुरमाहुर गर्दैछन्। सत्तामा बस्ने व्यक्ति र उनीहरूको संयन्त्र कति सक्षम छन् भन्ने टिप्पणी गर्नैपरेन।

तीन तहका राजनीतिक संरचना बनाएर ‘जनप्रतिनिधि’ भनिने सरकारी जागिरमा ठूला दलका हजाराँै बेरोजगारले तलबभत्ता पाउने व्यवस्था गरिएको छ। नत्र उनीहरू पनि श्रम बेच्न विदेशिन सक्थे। ‘संविधानमै शुद्ध सीमा किन राखिएन भन्दै सीमाविद् बुद्धिनारायण श्रेष्ठले विकृत र अशुद्ध मानचित्र बजार पठाइएकामा विरोध जनाएका छन्। भारतको रक्षा मन्त्रालयद्वारा स्वीकृत पत्र नं. १९ (१८६) १६ डि (जिएस ३) मिति १९९६ नोभेम्बर ८ को पत्रलाई आधार मानेर इन्डिया बुक डिपो, २९३७ बहादुरगढरोड दिल्लीले प्रकाशन गरेको नक्सा नेपालको रक्षा मन्त्रालय र नापी विभागले हेर्नसमेत नभ्याएको देखिन्छ। ‘यो नक्सा नेपालका धेरै विद्यालयका कक्षाकोठामा, ट्राभल एजेन्टको कार्यकक्षमा, कतिपय सरकारी कार्यालयमा र सिंहदरबारका केही संसदीय दलको कार्यकक्षमा पनि झुन्ड्याइएको पाइन्छ।’(अन्नपूर्ण पोस्ट दैनिक, ४ असोज, २०७५ ) बागलुङका पुराना पत्रकार तथा समाजसेवी बलराम हमाल प्रश्न गर्छन्, ‘म पनि सिमानाबारे गहिरो अध्ययन गरिरहेको छु। सरकारले नै सीमाबारे कुनै चासो राखेको देखिएन।

चन्द्रशमशेरकै पालामा मेरा पूर्वज नेपाली सेनाका कर्णेल (चक्रपाणी) थिए। हाम्रो घर ‘अमालीघर’ भएकाले पुराना धेरै कागजपत्र र दस्तावेज मसँग सुरक्षित छन्। पुरानो नक्सामा नेपालको वास्तविक चित्र देखिन्छ। तर अहिले कैयन् भाग भारतमा मिसाइएको देखिन्छ। राष्ट्रको सिमाना जोगाउन पुर्खाले कुनै सम्झौता गरेनन्। ‘नयाँ नेपाल’ भनेको सबै पोलेर खाने र गणतन्त्र मात्र बचाउन खोज्ने व्यवस्था रहेछ। तसर्थ सिमाना रक्षा गर्ने काम प्रत्यक्ष रूपमा सेनालाई नै दिनुपर्छ भन्ने मेरो सुझाव छ। नत्र लिपुलेक, कालापानी, तिङ्कर, छाङ्रु मात्र होइन, सैपाल हिमाल पनि भारतले मेरो हो भन्न बेर लाउँदैन। झन्डै ७० हजार हेक्टर जमिन मिचिँदा पनि आँखा चिम्मा गरेर बस्ने शासकहरूले सुनुन्, सरकारले सक्दैन भने मजस्तो ६३ वर्षको नागरिक र अन्य लाखौँ स्वाभीमानी जनता देश बचाउन अघिसर्ने बेला आउँछ।’ हो, राष्ट्र संकटमा छ। चारैतिरबाट हेपिँदैछौँ हामी। विदेशीको तलबभत्ता खाएर सूचना बेच्ने र राष्ट्रका लागि केही नगर्नेहरू उच्च तहमा पुगेका छन्। पुराना सिमाना भत्काउँदा उनीहरू मौन छन्। धर्म, संस्कृति, सभ्यता मासिँदा बोल्दैनन्। यही हो नयाँ नेपाल ?

प्रकाशित: २९ चैत्र २०७५ ०४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App