छाउले पारेको घाउ

शुक्रबार, २९ चैत २०७५, ०९ : ३९ नागरिक

ज्ञानबहादुर बोहोरा

छाउ भनेको महिनावारी हुनु हो। महिनावारी हुनु भनेको नयाँ सन्तान उत्पादन गर्न महिला शारीरिकरूपमा तयार हुनु हो। छाउपडी भनेको महिनावारी भएकी महिला हुन्। महिनावारी भएका बेला महिला सुत्ने स्थानलाई छाउगोठ भन्ने गरिन्छ। जुन घरदेखि टाढा, होचो र झ्याल नभएको हुन्छ। यही छाउगोठभित्र अहिलेसम्म हजारौँं महिलाको अस्मिता लुटिएको छ। कैयौँ महिला बन्धकजस्तै बनेर बाँच्न बाध्य छन्। कतिपय छाउपडी(महिला)को मृत्युको मुख्य कारण छाउपडी प्रथा बनेको छ। छाउलाई देवी÷देवतासँग जोडेर महिलालाई भयभीत बनाइएको छ।
छाउ अर्थात् महिनावारी भएका महिला ५–६ दिनसम्म अत्यन्त चिसो, पोषणहीन खाना र घर÷परिवारबाट अलग छाउगोठमा बस्छन्। यसरी छाउगोठमा बस्नुपर्दा कति पीडा हुन्छ होला ? सृष्टिकर्ता महिलालाई महिनावारीका बेला सम्मान गर्नुको सट्टा यसरी उल्टै यातना दिने कुसंस्कार मान्नु सभ्य समाजका लागि लाजमर्दो विषय हो। अहिले पनि यस्ता कुरीति पश्चिम नेपालका कतिपय पहाडी क्षेत्रमा कायम छन्।

छाउपडीप्रथा सुरुवात
कुसंस्कार हुन् वा सुसंस्कार। ती सबै तत्कालीन समाजमा गरिने क्रियाकलापका उपज हुन्। जुन निरन्तर चल्दै आएर पछि संस्कृति बनेका हुन्। ती संस्कार समयानुकूल र मानव हितमा हुन सकेन भने कुप्रथा बन्छन्। जसलाई समाजबाट हटाउन सकिएन भने मानव समाजका लागि अभिशाप हुन्छन्। त्यस्तै भयो छाउपडी प्रथा पनि।
तत्कालीन समाजमा महिनावारीका बेला निस्कने रगत व्यवस्थापन गर्ने चेतना विकास भएको थिएन। महिलाले पेन्टी लगाउँदैनथे। प्याडबारे जानकारी थिएन। योनीबाट निस्कने फोहोर रगत पैतालासम्म लतपतिएको हुन्थ्यो। महिनावारीले रक्ताम्य महिलाको शरीर र लगाउने कपडामा झिँगा भन्किन्थ्यो। गर्मीका बेला जताजता छाउपडी हुन्थिन् उतैउतै झिँगाको ताँती लाग्थ्यो। यो दृश्य असाध्यै घिनलाग्दो हुन्थ्यो। तत्कालीन समाजमा महामारी समस्या त्यत्तिकै हुन्थ्यो। यो अवस्था अन्त्यका लागि तत्कालीन शासक तथा सामाजिक नेताहरू (धामी–झाँक्री, पुजारी, जमिन्दार) ले छाउपडीलाई सार्वजनिक स्थल, जस्तैः मठमन्दिर, धारा÷पँधेरा, वस्तुभाउ र घर÷परिवारबाट टाढा राख्ने व्यवस्था मिलाएका थिए।
अर्को एक अध्ययनका अनुसार तत्कालीन समाजमा भोकमरी निकै हुन्थ्यो। पेटभर खान पुग्दैनथ्यो। महिनावारीका कारण महिला कमजोर हुन्थिन्। शरीरमा देखिने रगत घिनलाग्दो हुन्थ्यो। शरीर ढाक्ने एकसरो लुगा हुँदैनथ्यो। त्यस्तो बेला महिलालाई आराम आवश्यक पथ्र्याे। सोही आधारमा छाउपडीलाई समाज तथा घर÷परिवारको सम्पर्कबाट टाढा तथा एकान्तमा राख्ने चलन सुरु भएको हो। समाजले अस्वीकार गरेका कुरा अलौकिक शक्ति देवीदेवतासँग जोडेर नियन्त्रण गर्ने गर्थे। त्यतिबेला औपचारिक साधन (ऐन, कानुन) भन्दा अनौपचारिक साधन (धर्म, कर्म, देवीदेवता) का माध्यमबाट समाज नियन्त्रण गर्ने प्रचलन थियो। त्यही कुरो व्यवहारमा देखिन थाल्यो। यसरी छाउपडी अभ्यासलाई निरन्तरता दिइयो। समयानुकूल परिवर्तन गरिएन। जुन अभ्यास अहिले मानवका लागि अहितकारी सावित भयो। समाज परिवर्तन र विकासको बाधक बन्यो।

घर–घरमा पुजिने देवी, जस्तैः लक्ष्मी, सरस्वती, सीता, दुर्गा पनि पक्कै महिनावारी भए तर उनीहरूलाई किन कहिल्यै घरपरिवार र समाजबाट अलग गरिएन ?

छाउपडीलाई गरिने व्यवहार
आज अवस्था बदलिएको छ। जनचेतना बढेको छ। सबै महिलालले पेन्टी लगाउन थालिसके। धेरैले प्याड प्रयोग गर्छन्। महिनावारीका बेला निस्कने रगत व्यवस्थापन गर्ने ज्ञान र सीप विकास भएको छ। तर पनि पश्चिम नेपालका कतिपय समुदायमा छाउपडीलाई गरिने व्यवहार बदलिन सकेको छैन। छाउपडीलाई दूध, दही खान दिइँदैन। सार्वजनिक धारा, पँधेरामा नुहाउन प्रतिबन्ध छ। उनीहरू नुहाउने धारा छुट्टै हुन्छ। छाउपडीले सुक्खा रोटी नूनसँग खानुपर्ने बाध्यता छ। दूध, दही दियो भने देवता रिसाउँछन्, गाईवस्तु मर्छन् भन्ने अन्धविश्वास छ। छाउगोठमा बलात्कार हुन्छ। बाघ, भालुको आक्रमण तथा सर्पको डसाइबाट छाउपडीको मृत्यु भएको घटना बेलाबेला सार्वजनिक हुने गरेका छन्। घर/आँगनमा रहेका फलफूलका बोट कुनै कारणले सुकेको होस् वा बालबच्चालाई सुकेनास लागोस्, यी सबैको दोष छाउपडीलाई लगाइन्छ। महिनावारी भएका बेला कतिपय छात्रा विद्यालय जाँदैनन्। मन्दिर छेउछाउ जान तथा पूजाआजा गर्न छाउपडीलाई प्रतिबन्ध छ भने सो अवधिभर उनीहरूका श्रीमान्समेत अशुद्ध मानिन्छन्।

यी सबै रीति भगवान्ले बनाएका हुन् भन्ने अन्धविश्वास छ। छाउपडी प्रथा मानिसले नै बनाएको सामाजिक व्यवस्था हो भन्ने चेतना विकास हुन सकेको छैन। यस कुप्रथालाई धामी–झाँक्री, पुजारी, मुखिया तथा पुराना पुस्ताका मान्छेले पक्षपोषण गरिरहेका छन्। छाउपडी, छाउगोठ र त्यसले मानव जीवनमा पार्ने नकारात्मक असरका विषयमा विभिन्न तालिम, गोष्ठी तथा छलफल नभएका होइनन्। यसबाट केही सुधार त भएका छन् तर समाजबाट यसको उन्मूलन नै चाहिँ हुन सकेको छैन। समय–समयमा छाउगोठ भत्काउने अभियान पनि सञ्चालन हुने गरेका छन्। तर गोठ मात्र भत्किन्छन्, मान्छेका मस्तिष्कमा जरो गाडेर सोच भने भत्किन सकेको छैन।

छाउपडी प्रथाका नकारात्मक असर
छाउपडी प्रथा अवलम्बन गर्ने महिला शारीरिक, मानसिक एवं मनोवैज्ञानिक रूपमा कमजोर हुन्छन्। उनीहरू देवीदेवता, घर÷परिवार र समाजदेखि डराउँछन्। छाउपडी प्रथाले महिलाको शारीरिक अवस्था कमजोर बनाएको छ। उनीहरूका बालबच्चा पनि प्रायः कुपोषित देखिन्छन्। छाउ बार्ने धेरैजसो महिलालाई वाकवाकी लाग्ने, कम्मर तथा हातखुट्टा दुख्ने, रिंगटा लाग्ने, शरीर सुनिनेजस्ता समस्या हुने गरेका छन्। छाउगोठमा हुने बलात्कारका कारण कतिपय परिवार विखण्डन भएका छन्। छाउपडी प्रथाले बालविवाह दर बढेको छ। स्कुल पढ्ने किशोरीको पढाइ बिग्रिएको छ। सर्पको डसाइ र हिंस्रक जनावरको आक्रमणबाट कतिपय महिलाको ज्यान गएको छ। जसका कारण कलिला बालबालिका टुहुरा बनेका छन्। कतिपय महिलामा डराउने, तर्सिनेजस्ता समस्या देखिन्छन्। छाउपडी प्रथा समाजका लागि अभिशाप बनेको छ।  यस कुप्रथाका कारण राष्ट्रियदेखि अन्तर्राष्ट्रिय समुदायसम्म नकारात्मक सन्देश प्रवाह भएको छ। यो कुसंस्कार सामाजिक रूपान्तरणका लागि मुख्य चुनौती बनेको छ।

समाधानका उपाय
छाउपडी प्रथा कुनै देवीदेवता र धर्मसँग सम्बन्धित छैन। यो मान्छेले नै बनाएको व्यवस्था हो। यसकारण यसलाई हामी मान्छेले नै हटाउनुपर्छ। छाउपडी प्रथा मान्न नपाइने कानुन बनिसकेको छ। उक्त कानुन कडाइका साथ व्यवहारमा लागू गर्नुपर्छ। घर–घरमा पुजिने देवी, जस्तैः लक्ष्मी, सरस्वती, सीता, दुर्गा पनि पक्कै महिनावारी भए तर उनीहरूलाई कहिल्यै घरपरिवार र समाजबाट अलग गरिएनजस्ता उदाहरण दिएर जनजागरण कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ।
छाउपडी प्रथा वस्तुपरक ढंंगले समुदायलाई बुझाउने। परम्परागत सोच परिवर्तनका लागि विशेष कार्यक्रमहरू तर्जुमा गरी सञ्चालन गर्ने। शिक्षक, विद्यार्थी, नेता÷कार्यकर्ता, धामी, पुजारी, सामाजिक अभियन्ता, पत्रकार र प्रहरी मिलेर छाउपडी प्रथाविरुद्ध घरदैलो अभियान सञ्चालन गर्ने। छाउपडी प्रथा अन्त्यमा अवरोध गर्नेलाई स्थानीय सेवा÷सुविधाबाट वञ्चितदेखि दण्ड सजायसम्म गर्ने। छाउगोठमुक्त क्षेत्र घोषणाका लागि स्थानीय सरकारले नेतृत्व गर्ने। यी काम गरियो भने समाजको क्यान्सर बनेर बसेको छाउपडी प्रथा चाँडै अन्त्य हुनेमा शंका छैन।
अध्यक्ष– साहारा नेपाल, बझाङ








यसमा तपाईको मत

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad