coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

संरक्षण भएनन् पाँचखालका लिच्छवीकालीन सम्पदा

काभ्रेपलाञ्चोक पाँचखालभित्रका लिच्छवीकालीन र सोभन्दा पुराना ऐतिहासिक सम्पदाको संरक्षण र अध्ययनको माग स्थानीयवासीले राखेका छन्। सयौं वर्ष पुराना सिक्का, इँटा, पुराना घरको जग, भाडाका टुक्रा फेला परेपछि स्थानीयले त्यसको खोजोनीति र संरक्षण गर्न सरोकारवाला निकायसमक्ष माग गरेका हुन्। 

 पाँचखालको माथिल्लो भागमा राजा मानदेवको प्रामाणिक ऐतिहासिक दरबार क्षेत्र र काभ्रेपलाञ्चोक भगवती मन्दिर छ। सोही ठाउँबाटै दनुवार समुदायको उत्पत्ति भएको इतिहास रहेको स्थानीयवासीको भनाई छ। यही बस्तीसँगै जोडिएको अर्को इतिहास झिकुखोला जलाधार क्षेत्र छ। पाँचखाल उपत्यकाको बीच भागमा ऐतिहासिक रानीपोखरी छ। तर, उक्त रानीपोखरीको सबैजसो भाग पुरिएको छ। पोखरी भएको ठाउँ करिब १२ रोपनी जग्गामा खेतीपाति थालिएको छ। स्थानीयले यी सबै पक्षको उचित संरक्षण र अध्ययनको माग राख्दै आएको स्थानीयवासी श्रीकृष्ण धिमालले जानकारी दिए। उनका अनुसार यस क्षेत्रमा पछिल्लो समय ऐतिहासिक प्रमाण फेला पर्न थालेका छन्। स्थानीय खेतबारी खनजोत गर्ने क्रममा पनि पुराना सिक्का, भाडाका टुक्रा, इँटा, जग फेला पारेको उनको भनाई छ।

‘पाँचखाल क्षेत्र राजा मानदेव र अंशुबर्माको ऐतिहासिक दरबार र रानीपोखरीले बेग्लै ठाउँ मानिन्छ, हामीले बूढापाकाबाट यो ठाउँ ऐतिहासिक हो भन्ने बुझेका छौं। तर, यहाँको ऐतिहासिक पक्षबारे सरकारी निकायले त्यति चासो दिएको देखिन्न,’ उनले भने।
गत सोमबार पुरातत्वसहितको टोली उक्त क्षेत्र पुगेको थियो। टोलीले केही प्रमाण फेला समेत पारेको छ। पुरातत्वविद् उद्धव आचार्यले पाँचखालका धेरैजसो सम्पदा लिच्छवीकालीन भएको जानकारी दिए। त्यहाँका ऐतिहासिक पक्षको विषयमा सरकारवाला निमायले चासो दिनुपर्ने बताए। ‘हामीले एकपटक अध्ययन ग¥यौं, केही ऐतिहासिक कुरा भेटिएका छन्, पलाञ्चोक भगवती मन्दिर र पाँचखालमा रहेको एउटा ढुंगेधारा लिच्छवीकालीन नै हुन्, यसबाहेक अरु सम्पदा पनि लिच्छवीकालमै बनेको भनेर स्थानीयले सुनाएका छन्, त्यसको प्रमाण खोजी गर्न आवश्यक छ,’ उनले भने।
पुराना ऐतिहासिक सम्पदा संरक्षणमा सरोकारवाला निकायले चासो नदेखाउँदा तरकारी र अन्य खेतीपाति उब्जाउको उर्वर भूमि पाँचखालमा इँटाभट्टा सञ्चालन भएका छन्। पाँचखाल नगरभित्र सय मिटरको फरकमा सञ्चालित इँटा भट्टाले उपत्यकाको स्वरूप नै परिवर्तन गरिदिएको पाँचखाल उपत्यका बचाउ अभियानका अभियन्ता सूर्यबहादुर भेटवालले जानकारी दिए। उनका अनुसार सहरको पुरानो मौलिकता भट्टाकै कारण खोसिँदै छ। यी भट्टा स्कुल, स्वास्थ्य केन्द्र, जंगल, नदी र ऐतिहासिक रानीपोखरीको आडैमा छन्। जसले कृषि नगरका रूपमा परिचित स्वच्छ र हराभरा पाँचखाल क्षेत्रलाई सखाप पारेका छन्। बस्तीमा इँटा भट्टा व्यवसाय थालेपछि ९० प्रतिशत स्थानीय चिन्तामा रहेको भेटवालले जानकारी दिए।

पाँचखालको माथिल्लो भागमा राजा मानदेवको प्रामाणिक ऐतिहासिक दरबार क्षेत्र र काभ्रेपलाञ्चोक भगवती मन्दिर छ। सोही ठाउँबाटै दनुवार समुदायको उत्पत्ति भएको इतिहास छ। यही बस्तीसँगै जोडिएको अर्को इतिहास झिकुखोला जलाधार क्षेत्र छ। पाँचखाल उपत्यकाको बीच भागमा ऐतिहासिक रानीपोखरी छ।

‘जिल्ला प्रशासन कार्यालय, वातावरण मन्त्रालय, पाँचखाल नगरपालिका, जिल्ला प्रहरी कार्यालय लगायतलाई पटक–पटक भट्टा बन्द गर्न पहल गरियो, यहाँका ऐतिहासिक सम्पदाबारे पनि पत्रमार्फत जानकारी गरायौं,’ उनले भने, ‘सरकारी निकायले त्यसको सुनुवाई गरेनन्, जसका कारण ऐतिहासिक ठाउँ भत्किएका छन्।’
उनका अनुसार यहाँ पाँच हजार वर्ष पुराना रानीपोखरी र दरबार क्षेत्र रहेको भूमि छ। खेतका गह्रा खन्ने क्रममा २६ इन्चको ‘वाल’ (पर्खाल) भेटिएको छ। मानदेवको पालामा बनेका इँटा, ढुंगा हुन् बुढापाकाले अड्कल गरेका छन््। यहाँ भेटिएका इँटा र पुराना सिक्का (मानांक) मानदेवकै पालाको रहेको ऐतिहासिकवस्तुको अध्ययनकर्ता समेत रहेका स्थानीय धिमालको भनाई छ। उनका अनुसार फेला परेका पुराना सिक्काका दुई पाटामा एकातिर पाली भाषामा भोगिनी लेखिएको छ र अर्कातिर सिंहको चित्र छ। पहिले यो ऐतिहासिक दरबार क्षेत्र थियो, अहिले त्यही ठाउँबाट इँटा बनाउने माटो निकालिन्छ। दरबार क्षेत्र भएको ठाउँको जमिन खारेर २० फिट गहिरो पारिएको छ।
स्थानीय टंक ढकाल (७९) का अनुसार यो क्षेत्रमा पहिले रानीपोखरी, रानीपानीको कुवा र मानदेवको दरबार थियो। ‘पुरानी (रानी)को कुवादेखि ऐतिहासिक रानीपोखरीसम्म लगभग एक किमि पुराना इँटा समायोजन गरेर बनाइएका पाइप पनि छन्। तर, यिनको ऐतिहासिक पक्ष भट्टाको तुवाँलोले भत्काएको उनको भनाई छ। ‘पाँचखाल नगरपालिकाका वडा नम्बर ७, ८, ९ र १२ मा इँटाभट्टा सञ्चालित छन्। जय भिमसेन इँटाभट्टा, पलाञ्चचोक भगवती इँटाभट्टा, उपकार इँटाभट्टा, नवदुर्गा इँटाभट्टा, सुवर्णेश्वरीलगायत भट्टा नगरपालिकामा दर्तै नभई चलेका छन्,’ त्यसैले यस्तो ठाउँलाई नबिगारौं भन्ने हाम्रो माग हो,’ उनले सुनाए।
पाँचखाल नगरपालिकाका मेयर महेश खरेरल यसबारे चासो दिएर स्थानीयको समस्या हल गर्न लागेको दाबी गरे। उनले मानव समुदायलाई असर पार्ने गरी स्कुल, स्वास्थ्य केन्द्र, जंगल, नदी र ऐतिहासिक रानीपोखरीजस्ता स्थानमा मानव सभ्यतालाई नै नाश गर्ने गरी इँटाभट्टा सञ्चालन गर्न नपाइने बताए।

प्रकाशित: २९ चैत्र २०७५ ०३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App