७ वैशाख २०८१ शुक्रबार
अन्य

बिस्केट जात्राको खान्की

नेवार समुदायको धेरै चाडपर्वमध्ये विशेष लामो चाड हो, बिस्का जात्रा (बिस्केट जात्रा)। चैतको अन्तिम साता अर्थात् नयाँ वर्षको चार दिन अगाडिदेखि यो जात्रा मनाइने परम्परा छ। यस वर्ष चैत २७ गतेबाट जात्रा सुरु भएको छ। नेवार समुदायमा विभिन्न जात्रामा थरीथरीका नेवारी परिकार खाएर मनाउने गरिन्छ। जसमध्ये जात्राको खान्कीको महत्व भने विशेष छ।

यही कारण जात्रा नेवारी समुदायमा मात्र नभएर अन्य समुदायका लागि पनि विशेष हुने गरेको छ। सामान्यतयाः नेवार समुदायमा प्रत्येक महिनामा कुनै न कुनै भोज परिरहेको हुन्छ। महिनाको एकचोटि थरीथरीका खान्की खाएर जात्रा मनाउने चलनै रहेको छ। भक्तपुरका कृष्ण प्रजापति (५०) व्यापारी हुन्। कृष्णले सानै उमेरदेखि बुबासँगै व्यापार गर्न थालेका हुन्। पुरानो दिन सम्झदै कृष्ण भन्छन्, ‘अहिले जात्रा मनाउने चलन परिवर्तन भएको छ।’ जात्रामा गक्ष अनुसार नजिकैको मन्दिरमा कुखुरा वा बोकाको बलि चढाउने परम्परा रहेको उनी बताउँछन्। आठ रात र ९ दिनसम्म मनाइने जात्रामा अहिलेको जस्तो उच्छृंखल हर्कत नहुने उनी बताउँछिन्। जात्रामा खाइने भोजनको मह्त्व अहिले निकै कम भएको उनी अनुभव सुनाउँछन्। उनी भन्छन्, ‘ऊबेला समबजि खानकै लागि बिस्केट जात्रामा घरमै बसिन्थ्यो। तर, अहिले समबजि जहाँ पनि किन्न पाइन्छ।’
बिस्केट जात्रामा पकाइने खान्की
बिस्केट जात्रा अवधिमा दुई दिन मात्रै भोज खाने परम्परा छ। चैतको अन्तिम लिंगो उठाउने बेला र वैशाख १ गते भोज खाने चलन छ। खासगरी नेवारको भोजमा खाइने थरीथरी खान्कीको महत्व नै फरक–फरक हुन्छ। प्रायः बेलुकाको समयमा मात्र भोज खाने चलन छ। तर, बिस्केट जात्राको भोज भने बिहानको समयमा खाइन्छ, जस्लाई समे भनिन्छ।
भक्तपुरकी अनिता कासिछ्या अहिले भोजको चाजोपाजो मिलाउन व्यस्त छिन्। बिहान मन्दिरमा विधिपूर्वक पूजापाठ गरी समे तयार गर्ने योजनामा रहेको उनी बताउँछिन्।
समबजि
समबजि अर्थात् धेरै थरीका खान्कीलाई मिलाएर एउटै भाडामा (टपरी) दिइन्छ। चिउरा, अन्डा, भटमास, लसुन, अदुवा, छोयला, गेडागुडी, अचार, काउली, आलु, सगुनको रूपमा रक्सी अथवा छ्याङलाई ठूलो टपरीमा मिलाएर राखिन्छ। बिस्केट जात्राको खान्कीमा यी परिकार अनिवार्य रहेको अनिता बताउँछिन्। उनी भन्छिन्, ‘समेमा यी परिकार अनिवार्य नै हुन्छ, बाँकी इच्छा अनुसार अन्य परिकार थप्न सकिन्छ।’ जात्रामा खासगरी बिहानको समयमा समे खाने गरिन्छ, समेमा झोल भएको कुनै पनि परिकार राख्ने चलन नभएको उनी बताउँछिन्। बिहानको समयमा समबजि खाएपछि बेलुका भने भोज खाने चलन छ। भोजमा बजी (चिउरा) हरियो साँधेको लसुन, गेडागुडी, झोल भएको राँगा तथा कुखुराको मासु, कुखुराको मासु, रक्सी, छ्याँग, आलु र भुटन खाने चलन रहको उनी बताउँछिन्। थरीथरीका परिकार खाएपछि अन्तिममा दही खाएर बिस्का भोजको समापन गर्ने चलन रहेको उनले बताइन्।

स्का भोजका अनिवार्य परिकार
चिउरा
नेवारी भोजमा अनिवार्य परिकार हो, चिउरा। चिउरालाई नेवारी समुदायको अनिवार्य खानाको परिकारको रूपमा मानिन्छ। भक्तपुरकी रामेश्वरी ख्यामली (७०) चिउरा जुनसुकै भोजमा अनिवार्य रहेको बताउँछिन्। चिउरालाई चोखो खाद्यान्नको रूपमा खाइने उनी बताउँछिन्। उनी भन्छिन्, ‘चिउरा जुठो हुँदैन। पूजामा प्रसादको रूपमा चिउरा चढाउने चलन छ, यो त स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।’ नेवार समुदायको भोजमा चिउराबिना कुनै पूजा वा भोज सुरु नहुने उनी बताउँछिन्। ‘भोजमा सबैभन्दा पहिला चढाउने नैै चिउरा हो,’ उनले हाँस्दै भनिन्।
मासुका परिकार
जात्रामा गरिने भोजमा मासुको भूमिका निकै रहेको छ। मासुको परिकार हरेक पर्वमा अनिवार्य नै हुन्छ। विशेष गरी छोयला, द्याकाला (झोल भएको मासु) र भुटन गरी तीन प्रकारको मासुको परिकार पकाइन्छ। जात्रामा इच्छा अनुसारको मासुका थरीथरीका परिकार बनाएर खाने गरिन्छ।  विशेष गरी घरमै पालेका लोकल कुखुराको मासु बनाइने उनी बताउँछिन्। चिउरासँग खाने भएकाले झोल हालेर बनाएको मासु निकै रुचाइने उनी  बताउँछिन्। ‘जात्रामा बिहान कुखुराको छोयला र राँगाको मासुको छोयला बनाएर समे खाइन्छ,’ उनी भन्छिन्, ‘बेलुका कुखुरा वा राँगाको मासुको ग्रेभी खाने चलन छ। कुखुराको टाउको, पुच्छर, दुई वटा खुट्टा (स्यू) भनेर घरको ठूलो मान्छेलाई दिने चलन रहेको उनी बताउँछिन्।
दही
नेवारहरुको भोजमा नभई नहुने अर्को परिकार हो, दही। दही नभई नेवारको भोज सम्पन्न हँुदैन। दही नेवारको भोजको अन्तिममा राखेर खाने चलन रहेको आशादेवी प्रजापति बताउँछिन्। उनी भन्छिन्, ‘हाम्रो भोजमा दहीको टीका लगाएर भोज सुरु गरिन्छ, दहीको टीका लगाइएन भने भोजजस्तो नै लाग्दैन।’ भोज नखाए पनि निधारमा दही लगाइएन भने भोज नखाएको सरह हुने जनविश्वास रहेको उनी सुनाउँछिन्। खासमा दहीलाई खानापछि डेजर्टको रूपमा खाने चलन छ।
रक्सी/छ्याङ
रक्सी/छ्याङ नेवारको हरेक भोजमा सगुनस्वरूप खाइन्छ। घरमै तयार पारिएको रक्सी÷छ्याङले स्वास्थलाई सकारात्मक फाइदा गर्ने विश्वास रहेको किरण पंच बताउँछन्। उनी भन्छन्, ‘नेवारको भोजमा रक्सी खानुको पनि छुट्टै अर्थ छ, यसले भोजमा खाइने थरीथरीका खाद्यान्नलाई पचाउन मद्धत गर्छ। ’
अचार
भोजमा अचार अनिवार्य नै हुन्छ। जात्रामा गाँजर, मुला, लप्सीको अचार बनाइन्छ। अचारमा गाँजर, मुला सानो केराउ, प्याज र धनियाँ राखेर बनाउँदा खानाको स्वादमा बढ्ने उनी किरण बताउँछन्। इच्छा र स्वाद अनुसार गोलभेडाको अचार बनाउने योजनामा रहेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘खास भोजमा गोलभेडाको अचार बनाउने चलन छैन। तर, इच्छा अनुसार बनाइन्छ, खासमा जात्राको भोजमा मुला र गाजरको अचार नै मुख्य हो।’
खइसलु
जात्रामा नयाँ परिकार भनेको खइसलु हो। खइसलु भनेको निकै तितो झोल भएकाले खइसलु नाम रहेको हो। यो अहिले धेरैलाई थाहा नभएको संस्कृतिविद् ओम धौभडेल भन्छन्। खइसुल कुनै एक प्रकारको पातलाई पिनेर झोल बनाएर खाने चलन रहेको उनले बताए। यो वैशाख १ गते खाने चलन रहेको धौभडेल सुनाउँछन्। खइसलु खाए वर्षभरी रोग नलाग्ने तथा शरीरमा रहेका किटाणु मार्ने जनविश्वास छ। जात्रामा हरेक घरमा भोज पाक्ने उनी बताउँछिन्। जात्रा हेर्न आएका आफन्त तथा इष्टमित्रलाई भोज खुलाउने चलन पनि रहेको उनले बताए। तर, पछिल्लो समय संस्कृति लोप हुने अवस्थामा रहेको उनी बताउँछन्।

प्रकाशित: २९ चैत्र २०७५ ०३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App