coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ललितपुरमा ३५ करोड कर वक्यौता

ललितपुर-ठूला करदाताले सम्पत्ति र घर बहाल कर नतिर्दा ललितपुर उपमहानगरपालिकाले ३५ करोड रुपैयाँभन्दा बढी सम्पत्ति तथा घर बहाल कर उठाउन सकेको छैन। कर नबुझाउनेमा सरकारी र निजी कम्पनी दुवै छन्।

यसरी सरकारी र ठूला करदाताले कर नतिर्दा ३५ करोडभन्दा बढी कर उठाउन नसकेको उपमहानगरपालिकाका प्रवक्ता रुद्र गौतमले जानकारी दिए । उनले भने, ‘ठूला करदातासँग करसम्बन्धी छलफल गरे पनि उनीहरूले कर तिर्न आनाकानी गरिरहेका छन् ।’

उपमहानगरपालिकाले बारम्बार कर बुझाउन ताकेता गरे पनि सरकारी र निजी संस्थाले कर तिर्न अटेर गरिरहेको उपमहानगपालिकाले जनाएको छ । यसरी सम्पत्ति र घर बहाल कर नतिर्नेमा कर्मचारी सञ्चय कोष, पाटन अस्पताल, राष्ट्रिय सहकारी विकास बोर्ड, लबिम मल, लिटिल एन्जेल्स स्कुल, जेम्स स्कुल, सेल्सबेरी, गुण सिनेमा हल, होटल हिमालयन, नारायणी होटल र पाटन उमाविलगायत छन् ।

कोषले ललितपुरको लगनखेल र हरिहर भवनस्थित ४ वटा भवनको सम्पत्ति र घर बहाल कर वापत् तिर्नु पर्ने करिब ४ करोड रकम नबुझाएको उपमहानगरपालिकाले जानकारी दियो ।

पाटन अस्पतालले १ करोड ५० लाख, सहकारी विकास बोर्डले २ करोड, लबिम मलले २ करोड, लिटिल एन्जेल्सले १ करोड, जेम्स स्कुलले १ करोड ५० लाख र पाटन उमाविले ५० हजार कर नतिरेको उपमहानगरपालिकाको राजस्व महाशाखा प्रमुख डिल्लीराज शाक्यले बताए । सातदोबाटोस्थित सेल्सबेरीले १ करोड, गुण सिनेमाले २ करोड, होटल हिमालयन र नारायणी होटलले १ करोड ५० लाख कर रकम नतिरेको पनि उनले जानकारी दिए ।

‘साना करदाता समयमै सम्पत्ति र घर बहाल कर तिर्छन् । तर ठूला करदातालाई करको दायरामा ल्याउन निकै कठिन छ,’ नागरिकसँग महाशाखा प्रमुख शाक्यले भने, ‘उपमहानगरपालिकाले कर बुझाउन ठूला करदातासँग बारम्बार गरेको आग्रह उनीहरूले अटेर गर्दै आएका छन् ।’

अहिले कर नतिर्ने ठूला करदाताको संख्या बढ्दो छ । ठूला करदातालाई करको दायरामा ल्याउने कडा प्रावधान नभएकाले कारबाही गर्न समस्या भएको उपमनपाका कार्यकारी अधिकृत भरतमणि पाण्डेले जानकारी दिए । उनले भने, ‘ठूला करदातालाई करको दायरामा ल्याउन बारम्बार पत्र पठायौं, तर उनीहरूले त्यसको कुनै वास्ता गरेनन् । अब कर संकलन प्रभावकारी बनाउन ठूला र साना करदाताको बेग्लाबेग्लै विवरण बनाएर अघि बढ्ने योजना बनाएका छौं ।’ साना करदाताले समयमै कर तिरे पनि ठूला करदातामा भने कर छल्ने प्रवृत्ति बढेपछि कर संकलनसम्बन्धी नयाँ मापदण्ड बनाउने तयारी उपमहानगरपालिकाले गरेको छ । कार्यकारी अधिकृत पाण्डेले भने, ‘दसैं तिहारपछि साना र ठूला करदाताको वर्गीकरण गरी कर संकलन गर्ने योजना छ ।’

प्रकाशित: ३ कार्तिक २०७३ ०२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App