ललितपुर-ललितपुर उपमहानगरपालिकाले जावलाखेलमा सार्वजनिक जमिन मिचेर बनाइएका टहरा हटाउन सूचना जारी गरेको छ। उपमहानगरपालिकालेसडक र सार्वजनिक जमिनमा बनाइएका टहरा हटाउन ३५ दिने सूचना जारी गरेको हो।
करिब १० वर्षयता व्यापारिक प्रयोजनका लागि भन्दै जावलाखेल युथ क्लबले त्यस क्षेत्रमा टहरा निर्माण गर्दै आएको थियो। अहिले जावलाखेलमा यसरी निर्मित ३२ वटा टहरा छन् । ती टहराको व्यापारिक उपयोग भैरहेको छ।
सार्वजनिक जग्गा मिचेर निर्मित टहरा हटाउन ललितपुर जिल्ला प्रशासन कार्यालयले उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले जानकारी दिए । उनले भने, ‘अवैध रुपमा निर्मित टहरा हटाउन जिल्ला प्रशासनमा स्थानीयको उजुरी आएपछि हामीले उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका हौं ।’
पत्राचार गरेको ३५ दिनभित्र टहरा नहटाए उपमहानगरपालिकाले नै हटाउने उपमहानगरपालिकाका प्रवक्ता रुद्र गौतमले जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा टहरा भत्काउन मौखिक निर्देशन दिएका थियौं, त्यसको बेवास्ता गरेकाले ३५ दिने पत्र काटेका हौं । यसको पनि अटेर गरे उपमहानगरपालिकाले नै टहरा भत्काउँछ ।’
उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डेले जावलाखेल युथ क्लबको नेतृत्वमा लामो समययता यसरीसार्वजनिक जग्गामा अवैध टहरा निर्माण भएको जानकारी दिए । उनले भने, ‘उपमहानगरपालिकासँग कुनै सम्झौता र स्वीकृतिबिना टहरा निर्माण भएका छन् । दिइएको म्यादभित्र टहरा नहटाए उपमहानगरपालिकाले भत्काउँछ । यसरी अवैध टहरा बनाउँदा हुने सार्वजनिक जमिनको अतिक्रमणबाट जोगाउन पनि टहरा हटाउन आवश्यक छ ।’
तर सूचना जारी भएको १५ दिन नाघिसक्दा पनि टहरा भत्काउन थालिएको छैन । सार्वजनिक जग्गामा टहरा बनाएर व्यापार गरिरहेका अमर थापा भन्छन्, ‘हामीले युथ क्लबसँग स्वीकृति लिएर टहरा निर्माण गरेका हौं । यसवापत् हामीले क्लबलाई मासिक ६ हजार रुपैयाँ बुझाउँछौं ।’
यसबारे जावलाखेल युथ क्लबका अध्यक्ष मानव सेवकले सबै टहरा सार्वजनिक जग्गामा निर्माण नभएको जानकारी दिए । उनले १० वर्षयता उपमहानगरपालिकासँगै स्वीकृति लिएर क्लबले टहरा निर्माण गरेको दाबी पनि गरे ।
प्रकाशित: ३ कार्तिक २०७३ ०२:२८ बुधबार