८ वैशाख २०८१ शनिबार
अर्थ

‘नेपाल भ्रमण वर्ष २०२०’ पोखराबाट

पोखरा- २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक शुभारम्भ शनिबार पोखराबाट गरिँदैछ। सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’का रुपमा मनाउँदै विदेशी पर्यटक आगमन अहिलेको भन्दा झण्डै दोब्बर बनाउने लक्ष्य राखेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार विदेशी पर्यटक भित्रिएको तथ्यांक छ। यो संख्यालाई दोब्बर पार्ने लक्ष्यसहित सरकारले पर्यटन वर्ष मनाउन थालेको नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यसम्पादन समिति सदस्य विप्लव पौडेलले बताए।

‘औपचारिक रुपमा नेपाल भ्रमण वर्ष शनिबार पोखराबाट सुरु हुँदैछ। अहिलेसम्म मौखिक र कागजी रुपमा केही काम भए पनि औपचारिक शुभारम्भ अब हुँदैछ,’ पौडेलले भने, ‘त्यसको तयारीमा सिंगो टिम र सरकार नै लागेको छ।’ पर्यटनबाटै मुलुकको आर्थिक समृद्धि हुने भन्दै सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन थालेको उनले बताए। ‘अहिलेको आगमनलाई दोब्बर बनाउन सकियो भने त्यसले मुलुकको आर्थिक अवस्था नै उकास्छ। त्यही उद्देश्य पूरा गर्न सरकारले भ्रमण वर्ष घोषणा गरेको हो,’ उनले भने, ‘यसले मुलुककै पर्यटन क्षेत्रलाई चलायमान बनाउने र नेपालमा आउने विदेशी पर्यटकको संख्या बढाउने मात्र नभई भविष्यका लागि पनि नेपाललाई गन्तव्य बनाउने गरी प्रवद्र्धन गर्नेछ।’ पोखराबाट सुरु हुने यो अभियान देशका विभिन्न सहरमा सञ्चालन गरिने उनले बताए। नेपाल घुम्न जान उपयुक्त छ भन्ने सन्देश यो अभियानमार्फत अन्तर्राष्ट्रिय बजारसम्म फैलाउँदै आगमन बढाउने उनले बताए।

पौडेलका अनुसार नेपाल भ्रमण वर्षलाई सफल बनाउन चालु आर्थिक वर्षको बाँकी तीन महिना (वैशाख–असार)का लागि अहिले खर्च गर्न मिल्ने गरी १० करोड रुपैयाँ पनि सरकारले दिएको छ। यो रकमले तीन महिना अवधिमा प्रवद्र्धनका कामदेखि केही पूर्वाधार बनाउन सुरु हुनेछ। ‘१० करोड रुपैयाँले सिंगो अभियानलाई पुग्ने होइन। तर, अहिलेका लागि यो रकम सरकारले दिएको हो। बाँकी रकम आगामी आर्थिक वर्षमा विनियोजन हुनेछ,’ उनले भने, ‘प्रारम्भिक काम यो रकमबाट सुरु हुनेछ।’

पौडेलका अनुसार यो रकमले तत्कालका लागि प्रवद्र्धनमा खर्च हुनेछ। पर्यटनमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपाल भित्र्याउनका लागि सम्मेलन गर्ने तयारी पनि गरिएको छ। त्यस्तै भारतका विभिन्न सहरमा माइस (मिटिङ, इन्सेन्टिभ, कन्फेरेन्स र एक्जिबिसन) टुरिजमका लागि प्रवद्र्धनका कार्यक्रम पनि गर्ने तयारी भइरहेको छ। त्यसबाहेक नेपाल पर्यटन बोर्डले पनि प्रवद्र्धनको अभियान चलाएको र त्यसमा सहकार्य गर्ने योजना रहेको उनले बताए। पौडेलका अनुसार नेपाल भित्रिने पर्यटकलाई आवश्यक जानकारी दिन नेपाल र भारतका सिमा नाकासहित सातवटा ठाउँमा ‘नमस्ते सेन्टर’ बनाउने तयारी छ। पोखरासहित काकरभिट्टा, जनकपुर, बिराटनगर, भैरहवालगायत ठाउँमा पर्यटकलाई स्वागत सत्कार गर्न मिल्ने गरी नमस्ते सेन्टर बन्नेछन्। एउटा सेन्टर बनाउन कम्तीमा ५० लाख रुपैयाँ खर्च लाग्नेछ। ती सेन्टरको व्यवस्थापन स्थानीय सरकारमार्फत गरिने उनले बताए।

‘नेपाल भित्रिने पर्यटकको पहिलो पाइला पर्ने ती ठाउँमा नेपाल र नेपालका पर्यटकीय गन्तव्यबारे जानकारी दिनेगरी पूर्वाधार तयार पारिनेछ,’ उनले भने, ‘त्यसले नेपाल आउने पर्यटकमा सकारात्मक सन्देश दिलाउनेछ।’ त्यसबाहेक विभिन्न पर्यटकीय गन्तव्यमा सरसफाइ, राजमार्गका विभिन्न ठाउँमा शौचालय बनाउने योजना पनि सरकारले बनाएको पौडेलले बताए। ‘२०२० सुरु हुने बेलासम्म हामी पर्यटकको स्वागत सत्कारको तयारीमा हुनेछौं। त्यसको प्रभावले सन् २०२१ मा मुलुकले समृद्धिको अनुभव गर्नेछ,’ उनले भने, ‘सचेतनामूलक कार्यक्रम गर्नेदेखि विभिन्न मुलुकमा प्रवद्र्धनका कार्यक्रम पनि लैजाने सरकारी तयारी छ।’ अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन पनि सँगसँगै गर्ने भएकाले त्यसको प्रभावले आगामी वर्ष नेपालमा विदेशी पर्यटकको आगमन बढ्ने उनले बताए। पर्यटन बोर्डका म्यानेजर सूर्य थपलियाले नेपाल भ्रमण वर्षको तयारी भइरहेको बताए। उनका अनुसार अहिले नै सरकार र बोर्डमार्फत भ्रमण वर्षको प्रवद्र्धन भइरहेको छ। उनले भ्रमण वर्ष सम्बन्धमा आवश्यक तयारी गरिएको पनि बताए। ‘आन्तरिक र बाह्य बजारमा नेपालको प्रचार सुरु भएको छ। हामीले उत्पादन गर्ने प्रचार सामग्रीमार्फत यो अभियानबारे हल्ला गरेका छौं,’ थपलियाले भने, ‘अन्तर्राष्ट्रिय बजारसँग सम्बाद सुरु भइसकेकाले सरकारी लक्ष्य पूरा गर्न उत्ति अप्ठेरो छैन।’

यो अभियानको योजना अन्तर्राष्ट्रिय बजारमा पु¥याइसकिएको उनले बताए। ‘सरकार र पर्यटन बोर्ड २०२० को नेपाल भ्रमण वर्षका अभियानलाई फोकस गरिसकेका छन्,’ थपलियाले भने, ‘यसले आगामी वर्ष पक्कै पनि सकारात्मक प्रभाव पार्नेछ।’ सन् २०२० लाई पर्यटन सम्पदाको विविधीकरण गर्ने र पर्यटक केन्द्रित लगानी भिœयाउने गरी पहल थालिएको पनि उनले बताए। ‘पर्यटन वर्षको तयारीस्वरुप केही पूर्वाधार बनाउने काम पनि सुरु भएका छन्। एकैपटक नदेखिएकाले पनि तत्काल नदेखिएको हो,’ उनले भने, ‘पर्यटक भित्र्याउन प्रवद्र्धन जरुरी हो। त्यसका लागि सरकार र बोर्ड निरन्तर लागिरहेका छन्।’

प्रकाशित: २९ चैत्र २०७५ ०१:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App