coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पहिलो दिनको मतदान सम्पन्न

आमनिर्वाचनको पहिलो चरणअन्तर्गत पश्चिम बंगालको अलिपुरद्वार जिल्लामा रहेको मतदान केन्द्र बाहिर मतदानका लागि लामबद्ध मतदाता। तस्बिरसः एजेन्सी

नयाँ दिल्ली– भारतमा विभिन्न सात चरणमा हुने लोकसभा निर्वाचनअन्तर्गत बिहीबार पहिलो दिनको मतदान सम्पन्न भएको छ। बिहीबार १८ राज्य र दुई केन्द्र शासित प्रदेशमा मतदान सम्पन्न भएको छ। लोकसभामा रहेको पाँच सय ४५ सिटमध्ये ९१ सिटका लागि बिहीबार मतदान सम्पन्न भएको हो। नेपालसँग सीमा जोडिएका भारतका ठूला प्रदेशहरु उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायतका विभिन्न निर्वाचन क्षेत्रमा पहिलो चरणअन्तर्गत बिहीबार मतदान सम्पन्न भएको हो।

सरकारी विवरणअनुसार साँझ पाँच बजेसम्म बिहारमा ५०.२६ प्रतिशत, पश्चिम बंगालमा ८० प्रतिशत, उत्तर प्रदेशमा ५९.७७ प्रतिशत, उत्तराखण्डमा ४६.५९ प्रतिशत, उडिसा राज्यमा ६६ प्रतिशत, तेलंगानामा ६०.५७ प्रतिशत, जम्मु कस्मिरमा ४६ प्रतिशत, सिक्किममा ५५ प्रतिशत, मणिपुरमा ७८.२० प्रतिशत, मिजोरममा ५५.२० प्रतिशत, नागाल्यान्डमा ७३ प्रतिशत, आसाममा ६८ प्रतिशत र मेघालयमा ६२ प्रतिशत मत खसेको थियो। विभिन्न सात चरणमा सम्पन्न हुने विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र रहेको भारतमा देशको तल्लो सदनका लागि मे १९ सम्म मतदान हुनेछ। मे २३ बाट मात्रै सबै सातै चरणमा सम्पन्न भएको मतदानको मत गणना हुने भारतीय निर्वाचन आयोगको जानकारी उद्धृत गर्दै बिबिसीले जनाएको छ। झण्डै डेढ महिनासम्म हुने चुनावका लागि देशैभर ९० करोड मतदाता मतदानका लागि योग्य रहेका छन्। यो संख्या विश्वले अहिलेसम्म देखेको मध्ये सबैभन्दा ठूलो मतदाता संख्या हो। भारतको कूल जनसंख्याको आधाभन्दा बढी २५ वर्षभन्दा कम उमेर समूहका रहेका छन्।

दशकौंपछि यस निर्वाचन भारतीय इतिहासमै महत्वपूर्ण रहेको केही पर्यवेक्षकहरुले बताएका छन् भने केहीले भने यो निर्वाचनमा पार्टीहरुले सञ्चालन गरेको अभियान इतिहासकै सबैभन्दा तिक्ततापूर्ण रहेको बताएका छन्। यसअघि सन् २०१४ मा सम्पन्न आमनिर्वाचनमा वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले ऐतिहासिक जित निकालेको थियो। मोदीले देशको तस्बिर अत्यन्तै खराब भएको अवस्थामा आफूले नेतृत्व सम्हालेर देशलाई गति दिएकाले भाजपाको तर्फबाट जनताले सबैभन्दा बढी मत आफैंलाई दिने दाबी गर्दै आएका छन्।

यद्यपि गत निर्वाचनमा मोदीले प्रतिबद्धता व्यक्त गरेबमोजिम आर्थिक वृद्धि हासिल हुन नसकेको र जनताले अपेक्षा गरेबमोजिम रोजगारी सिर्जना गर्न नसकेको भन्दै कतिपय आलोचकले भने उनको खुलेरै विरोध गर्ने गरेका छन्। मोदीमाथि देशलाई अनावश्यक रूपमा धार्मिक विभाजनतर्फ धकेलेको जस्ता आरोप पनि आलोचकहरुले लगाउँदै आएका छन्। यस पटकको आम निर्वाचनमा पनि यसअघि झैं भाजपा र कंग्रेसबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यद्यपि मोदीको दल भाजपाले राहुल गान्धी नेतृत्वको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईबाहेक केही बलिया क्षेत्रीय पार्टीसँग पनि प्रतिस्पर्धा गर्नु पर्ने छ।

प्रतिपक्षी कंग्रेस अध्यक्ष राहुल गान्धीका पिता, हजुरआमा र जिजुबुवा सबै भारतका प्रधानमन्त्री थिए। उनकी बहिनी प्रियंका गान्धीले पनि गत जनवरी महिनाबाट औपचारिक रूपमा आफ्नो राजनीतिक करिअर सुरुवात गरेकी छन्।
भारतको तल्लो सदन लोकसभामा कूल ५४५ सिट रहेका छन्, जसमा ५४३ सिटका लागि प्रत्यक्ष निर्वाचनबाट निर्वाचित सदस्यको प्रतिनिधित्व हुन्छ भने दुई सिटमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ। भारतीय संविधानअनुसार सरकार बनाउनका लागि कुनै पनि दलले न्युनतम २७२ सिट जित्नुपर्ने वा गठबन्धन बनाएर यो सिट पु¥याउनु पर्ने व्यवस्था रहेको छ।

प्रकाशित: २९ चैत्र २०७५ ००:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App