बदलिँदै मधेसी समाज

बिहिबार, २८ चैत २०७५, १३ : ३५ मिथिलेश यादव

453


मधेसका बुहारीहरुको दैनिकी भनेको खाना पकाउने, घाँस काट्ने, चुलोचौको गर्ने र बालबच्चा रेखदेख गर्ने थियो। कुनै बेला यति काममा मात्रै मधेसका अधिकांश बुहारी सीमित थिए।

अचेलका बुहारी भने घरको कामसँगै पढाइलाई पनि निरन्तरता दिइरहेका छन्। बिहे भएको घरका बाबु–आमाले नै बुहारीको पढाइलाई अगाडि बढाइरहेका छन्।

गोलबजार–४ की पूजा महरा ११ कक्षा पढ्दै गर्दा बिहे भयो। गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ क्याम्पसमा अध्ययनरत उनको ११ कक्षाको परीक्षाफल प्रकाशित हुँदा उनी सफल हुन सकिनन्। त्यो बेला उनको बिहे सप्तरी सुरुङ्गा नगरपालिका–४ का मुकेश महरासँग छिनिसकेको थियो। परीक्षाफल आश गरेअनुरुप नआउँदा निराश बनेकी पूजालाई स्नातक अध्ययनरत मुकेशले ढाडस दिए, ‘अझ मिहिनेत गर्नु अवश्य सफल हुन्छाै।’ ०७४ सालमा पूजा र मुकेश वैवाहिक बन्धनमा बाँधिए। मुकेश लहानकै सलहेश क्याम्पसमा स्नातक (कमर्स) अध्ययनरत छन्। पूजा लहान एभरेष्ट कलेजमा प्लस टु पढ्दै छिन्।

पूजालाई ससुरा बलिराम मोची (चमार) ले पढाइका लागि हौसला बढाउँछन्। राजमिस्त्री बलिरामलाई बुहारी उच्च शिक्षा पढेर जागिरे भएको देख्ने लालसा छ। पूजा भन्छिन्, ‘उच्च शिक्षा पढ्न बुबाले रोक्नु भयो तर ससुरा र श्रीमान्ले हौस्याउनु भयो।’ ०७२ सालमा एसइइ परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण पूजालाई बुबाले उच्च शिक्षा पढाउन आनाकानी गरेका थिए। अब पढाइ भयो बिहे गरेर आफ्नो घर जाउभन्दा पूजाले प्रतिवाद गरिन्। घरमा झगडा गरेर उनी प्लस टु शिक्षा संकायमा नामांकन गराएकी थिइन्। स्नातक उत्तीर्ण नगरी बिहे नगर्ने मेरो अडान घरपरिवारको कारण कायम रहन सकेन उनी भन्छिन्, ‘हुनेवाला श्रीमान्ले पढाइलाई निरन्तरता दिलाउने वचन दिएपछि बिहेका लागि राजी भएँ।’

सप्तरी सुरुङ्गा नगरपालिका–२ भेडियाकी सुस्मिता यादव एसइइ परीक्षा दिएलगत्तै बिहे भयो। कर्मघर लहान नगरपालिका –२ भगवानपुरमा गएको महिना दिनपछि श्रीमान् रोजगारीका लागि कुबेत फर्के। ‘सासूआमा र ससुराबुबाले मलाई लहान एभरेष्ट कलेजमा भर्ना गरिदिएपछि पढाइ रोकिएन,’ उनले भनिन्, ‘पढ्न पाएँ, खुसी छु।’ उनको श्रीमान् नन्दकिशोर पाँच वर्षदेखि रोजगारीको क्रममा कुबेतमा छन्।

ससुराबुबा किसान भए पनि मेरो पढाइप्रति अत्यन्त चिन्तित हुनुहुन्छ सुस्मिता भन्छिन्, ‘राम्रो पढ्नु, समाजमा प्रतिष्ठा बढाउनु भन्नुहुन्छ।’ सासूआमा कमलादेवी गृहिणी हुन्। तर, बुहारी आफूजस्तै चुलोचोकोमै सीमित नहोऊन भनेर बुहारीलाई राम्रो पढ्न हौस्याउँछिन्। बुहारीलाई उच्च शिक्षा पढाउने कमलादेवी र घुरन यादवलाई समाजले खिस्सी उडाउँछन्–बुहारीलाई पढाएर ‘डाक्टर’ बनाउलास्। बुहारीको पढाइमा लाग्ने खर्च बरु व्यापारमा लगाए फाइदा हुन्छ भन्दै समाजका केही व्यक्ति उनको सासू ससुरालाई भड्काउँछन्। तर, उनीहरुको बुहारी पढाउने संकल्प अडिग छ।

एक दशकअघि सुस्मिताकी दिदी ममता एसएलसी दिँदै गर्दा बिहे भयो। बैवाहिक बन्धनमा बाँधिएकी उनले पढाइलाई निरन्तरता दिन सकिनन्। उनी गृहिणीकै रुपमा सीमित छिन्।

सिरहा लक्ष्मीपुर पत्तारी गाउँपालिका –५ पिप्राकी  पिंकी मण्डल कक्षा १० मा पढ्दै गर्दा ०७३ असार १९ गते लहान–४ रघुनाथपुरमा बिहे भयो। कर्मघर गएको महिना दिनपछि श्रीमान् काशिलाल मण्डल रोजगारीका लागि मलेसिया फर्के। एसइई उत्तीर्ण भएपछि उनी लहानमै ६ महिनाको कम्प्युटर कोर्स गरिन्। त्यसपछि सासूआमा कपुरदेवी मण्डल र ससुराबुबा झमेली मण्डलले उनलाई लहान एभरेष्ट कलेजमा भर्ना गरिदिए। प्लस टु (कमर्स) अध्ययनरत पिंकी भन्छिन्, ‘ससुरा र सासूका कारण मेरो पढाइ रोकिएन।’ उनले भनिन्, ‘पढन पाएकोमा खुसी छु।’

पिंकीलाई कलेजसम्म छोड्न कहिले ससुरा त कहिले सासू आउँछन् कलेजका प्रिन्सिपल चक्रपाणी दाहाल भन्छन्, ‘यो नौलो र उदाहरणीय दृश्यले जोकोहीलाई गम्भीर बनाउँछ।’

लहान नगरपालिका २४ की प्रियंका महतो कक्षा ११ को परीक्षा दिएपछि बिहे भयो। कर्मघर लहान २० आएपछि पनि उनको पढाइ निरन्तर रह्यो। यसको श्रेय उनी ससुरालीलाई दिन्छिन्। प्रियंका भन्छिन्, ‘सासूआमा, ससुराबुबा र विशेषगरी श्रीमान् सन्तोषको साथका कारण पढाइलाई निरन्तरता दिन सकेकी छु।’ उनी लहान एभरेष्ट कलेजमा प्लस टु फाइनल परीक्षा दिएर परीक्षाफल पर्खेर बसेकी छिन्। लहानकै एक निजी स्कुलमा पढाउँछिन् पनि। श्रीमान् सन्तोष लहानमै बिबिए पढ्दै छन्। सँगै व्यापार पनि गरिरहेका छन्। भन्छिन्, ‘ससुराली पक्षको साथविना बिहेपछि पढाइलाई निरन्तरता दिन कठिन थियो।’ बुहारीलाई घरधन्दामा सीमित गर्नुभन्दा पढाइलेखाइ जागिरे बनाउने सासूससुराको सोचलाई पछ्याउँदै प्रियंका अघि बढ्दै छिन्।

पछिल्लो समय मधेसी समाजमा बुहारीले पढाइलाई निरन्तरता दिन थालेका यी उदाहरण पात्रहरु मात्र हुन्। ‘हाम्रो जमानामा पढ्ने चलन थिएन,’ पिंकीकी सासूआमा कपुरले भनिन्, ‘बुहारी पनि छोरीसरह हुन्छिन्। पढेपछि जागिर खानुपर्छ भन्ने छैन, घरपरिवार शिक्षित बनाउन बुहारीले पढ्नैपर्छ।’ घरको काम मैले र बुहारीले मिलेर गर्छौं, पढेपछि जीवन चलाउन धेरै सजिलो होस् भनेर पढ्न पठाएको उनले बताइन्। ‘अहिले पनि कतिपयले बुहारीलाई टाढाकै सम्झन्छन्, मैले पढ्न पठाएकी छु,’ उनले भनिन्।

‘छोरीबुहारी पढ्न आउने धेरै छन्,’ लहान एभरेष्ट कलेजका धरनीधर अधिकारीले भने, ‘भर्ना भएका ४ सय ५० विद्यार्थीमध्ये  करिब ७० प्रतिशत अर्थात् ३ सय १५ जना छोरीबुहारी छन्।’

‘विदेशमा रहेका श्रीमान् मेरो पढाइप्रति धेरै खुसी हुनुहुन्छ,’ सुस्मिता भन्छिन्, ‘परिवार र समाजलाई शिक्षित बनाउन पुरुषले भन्दा महिलाले अनिवार्य पढ्नुपर्दो रहेछ।’ छोरीबुहारीलाई घरबाहिर राखेर पढाउन अझै पनि अभिभावकले अप्ठ्यारो मान्ने हुँदा घरको कामधन्दाका बाबजुद पनि यस समाजका अधिकांशले छोरीबुहारीले क्याम्पस पढाउन थालेको उनी बताउँछिन्।

एभरेष्ट कलेजका प्रिन्सिपल दहालका अनुसार एसइइपछि अधिकांश राम्रा विद्यार्थीहरु गृह जिल्ला बाहिर पढ्न जान्छन्। उच्च शिक्षा पढ्न नचाहने युवा पैसा कमाउन विदेशिन्छन्। जसकारण यहाँका कलेजहरुमा पछिल्लो समय उच्च शिक्षा अध्ययन गर्ने छोरीबुहारीको संख्या उल्लेख्य रुपमा बढेको पाइन्छ।

बालविवाहलाई चुनौती दिँदै पढाइ
सिरहाको सुखिपुर नगरपालिका–५ लरकन्हाकी अमृता यादवलाई १२ कक्षा पढ्दै गर्दा बिहेका लागि कुराकानी सुरु भयो। आमाबुबाले सामाजिक कारणले उनको बिहेका लागि हत्तारिए। तर अमृता बिहेका लागि तयार थिइनन्। बिहेप्रतिको अनिक्षा उनले खुलेर आमाबुबासँग बताउन पनि सकिनन्। अनिक्षित बिहे न स्वीकार गर्न सकिने र अस्वीकार। उनी अलमलमा परे। लहान एभरेष्ट कलेजमा अध्ययनरत उनको अनुहारमा देखिने अस्वीकारोक्ति अध्यापकहरुले सजिलै पढे। पढाइमा जस्तै उनको उज्यालो अनुहार मलिन देखेर अध्यापकले सोधे–तिम्रो अनुहार किन मलिन हँ? उनले तत्कालै जवाफ दिइन् म हजुरसँग यो कुरा साझा गर्छु तर पछि। कक्षा सकिएपछि उनले कलेजका प्रिन्सिपल धरनीधर अधिकारीसँग आफू अहिले बिहेकोलाई तयार नभएको बताउँदै अभिभावकलाई कन्भिन्स गरिदिन आग्रह गरिन्। अधिकारीले अभिभावक बोलाएर सम्झाए र उनको तत्काल बिहे ट-यो। प्लस टु प्रथम श्रेणीमा उत्तीर्ण यादव पढाइमा अब्बल छिन्।

प्लस टु पढ्दै गर्दा छिनिएको बिहे त प्रिन्सिपल लगाएर उनले थामथुम पार्न सफल भइन्। तर स्नातक पढ्दै गर्दा छिनिएको बिहे अस्वीकार गर्न सकिनन्। कारण उमेरले उनी २० वर्ष पुगिसकेकी थिइन्। अर्कोतर्फ ससुराली पक्ष पढाइ निरन्तर गराउनका लागि राजी थिए। उनी यो बिहे सहश्र स्वीकार गरिन्। ०७५ वैशाख २४ गते बैवाहिक बन्धनमा बाँधिए। इन्जिनियर श्रीमान्ले उनलाई पढाइका लागि निरन्तर हौस्याउँछन्। अमृता लहानमा डेरा लिएर पढाइलाई निरन्तर अघि बढाउँदै छिन्। उनी बिबिएस दोस्रो वर्षमा अध्ययनरत छिन्।

लहान एभरेष्ट कलेजका अध्यक्ष संजयराज शर्माका अनुसार दुई दशकअघि कलेज सुरुवात हुँदा ४८ जना विद्यार्थी थिए। जसमा १० जना छात्रा विद्यार्थी थिए। त्यो बेला कलेज पढ्न आउने बुहारी थिएनन्। पछिल्लो पाँच वर्षयता कलेज पढ्ने बुहारीहरुको संख्या उल्लेख्य रुपमा वृद्धि भएको पाइन्छ। वर्षैपिच्छे कलेजमा बुहारीको संख्या बढ्दै गएको उनले बताए।

अहिले यस कलेजमा ४५० विद्यार्थी अध्ययनरत छन्। जसमा ३१५ केटी विद्यार्थी छन्। जसमध्ये करिब १५ प्रतिशत बुहारीहरु छन्।

उच्च शिक्षा पढ्दै मुस्लिम बुहारी
लहानकी साहनाज प्रवीण लहानस्थित जेएस मुरारका क्याम्पसबाट एमएड उत्तीर्ण गरिन्। मुस्लिम समुदायका बुहारी उनको नामांकनदेखि कलेज शूल्कसम्मको बन्दोबस्त ससुराले नै गरे। अस्ती भर्खर थेसिसका लागि के कति शुल्क तिर्नुपर्छ भन्दै प्रवीणका ससुरा कलेज आउनुभएको थियो क्याम्पस प्रमुख तुलसी पोखरेलले भने, ‘मुस्लिम समुदायका बुहारी यस कलेजबाट स्नातकोत्तर पढेको उनी पहिलो हुन्।’ हुन त यस कलेजमा पढ्ने मुस्लिम समुदायकी उनी नै एक्ली बुहारी होइनन्। उरु पाचजना जती मुस्लिम समुदायका बुहारीहरु विभिन्न तह र संकायमा यस कलेजमा अध्यनरत् रहेको प्रमुख पोखरेलले बताए।

मुस्लिम समुदायमा बुहारीहरु अझै पर्दामा बस्ने परम्परा छ। त्यो समुदायकी बुहारीहरु कलेज पढ्न आउनु नौलो र प्रेरणादायी हो। त्यसमा पनि ससुराले नै बुहारीको नामांकन गराउन आउनुले केबल शिक्षाप्रतिको चेतनालाई मात्र दर्शाउँदैन सामाजिक बदलाबलाई समेत दर्शाउँछ पोखरेलले भने। पुराना पुस्ताका ससुराहरु बुहारीको नामांकन गराउन आएको देख्दा पोखरेललाई कौतुहलता जागेछ। उनले एकजना ससुरासँग जिज्ञासा राखेछन्–बुहारीलाई पढाउनेतर्फ कसरी इच्छा जागृत भयो? उनले जवाफ फर्काएछन्–बुहारीले इच्छा जाहेर गरेपछि मैले पूरा मात्र गरिदिएको हुँ। जागिर खान मात्र नभई पढाइले सामाजिक प्रतिष्ठामा पनि फरक पार्दोरहेछ भनेर बुहारीलाई उच्च शिक्षा पढाएको उनको भनाइ थियो।

देश संघीय संरचनामा गएपछि रोजगारीको अवसरहरु सृजना हुने देखेर पनि होला छोरीबुहारीको उच्च शिक्षा भर्ना हुने क्रम बढ्दो छ पोखरेलले भने। जुन सकारात्मक पनि हो।

‘गाउँको माविमा प्लस टुमा छोरीबुहारी पढ्ने लहर नै आएको छ,’ शिक्षा समन्वय इकाइ प्रमुख डोलराज पाण्डेले भने, ‘घरपायक भएकाले पढ्न पाएका हुन्, गाउँमा अहिले बुहारीहरु शिक्षित बनाउने लहर चलेको छ।’ जिल्लाका ३३ उमावि र ६ क्याम्पसमा १ हजार ४ सय १ जना विद्यार्थी रहेकोमा ७० प्रतिशत छात्रा छन्। इकाइको अभिलेखमा जिल्लामा सामुदायिक माध्यमिक विद्यालयको संख्या ७७ छ भने निजी (संस्थागत) माध्यमिक विद्यालय ५६ छन्। जसमा ४ हजार ५ सय १९ विद्यार्थी अध्ययनरत रहेको इकाइको अभिलेखमा उल्लेख छ। जसमा २३ सय ६६ केटी विद्यार्थी छन् भने २ हजार ५३ केटा विद्यार्थी अध्ययनरत छन्। जसमा ११ र १२ कक्षा मात्र सञ्चालन भएका निजी विद्यालयको अभिलेख संलग्न छैन।

राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय लहानका अनुसार कक्षा ११ र १२ अध्ययन हुने सिरहामा ६६ माध्यमिक विद्यालय छन्। जसमा कक्षा ११ मा अध्ययनरत ४ हजार ९ सय २७ विद्यार्थी र कक्षा १२ मा ४ हजार ७ सय ७५ विद्यार्थी छन्।

डोम सुमदायबाट डाक्टर र वकिल
सप्तरीको छिन्मस्ता गाउँपालिका –९ रम्पुराका कथित महादलित ‘डोम’ जातिका युक्ति मरिक वकिल (अधिवक्ता) बन्ने क्रममा छन्। उनी महेन्द्र विन्देश्वरी क्याम्पस राजविराजबाट वकिल बन्ने सपना पूरा गर्दै छन्। युक्ति मरिक आफू मात्र वकिल बन्ने सपना पछ्याएनन् छोरालाई पनि डाक्टर बनाउने सपना देखे। उनी छोरालाई डाक्टर बनाउने सपना साझा गर्दा समाजमा उनको खिस्सी उडाइन्थ्यो। तर उनी त्यो सपनालाई साकार बनाउन दृढ संकल्पित थिए। कडा मिहिनेत र लगनका कारण मरिकका छोरा दिनेश डोम समुदायमै डाक्टर पढ्ने पहिलो व्यक्तिका रुपमा नाम दर्ज गराउँदै छन्।

गाउँ नजिकैको माध्यमिक विद्यालय खुदीब खारीबाट एसएलसी उत्तीर्ण दिनेश राजविराजस्थित ह्याप्पील्यान्ड माध्यमिक विद्यालयबाट प्लस टु साइन्स उत्तीर्ण गरे। उनले प्लस टु ७१ प्रतिशत अंक ल्याई उत्तीर्ण भएका छन्।

काठमाडौंमा बसेर एमबीबीएस प्रवेश परीक्षाको तयारी गरे। र, अहिले वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा एमबीबीएस पढ्दै छन्। युक्ति मरिकको आफू वकिल र छोरालाई डाक्टर बनाउने सपना लगभग साकार भएको छ।

युक्तिले आफ्नो छोरालाई डाक्टर बनाई छाड्ने सपना पूरा भएकोमा खुसी छन्। उनी मात्र नभई सिंगो डोम समुदाय उत्साहित छ, दलित अभियन्ता भोला पासवान भन्छन्, ‘समय, समाज र संघर्षमा आएको बदलावका पात्र यी बाबु–छोरा समाजका उदाहरणीय उत्साह हुन्।'

नेपालको जनगणना २०६८ अनुसार नेपालमा डोम जनसंख्या १३ हजार २ सय ६८ छ। जबकि लगभग दस हजार (९,६२१) त प्रदेश दुईमा मात्रै छ। उनीहरूको आवादी सबैभन्दा बढी सप्तरी (१,८७५), दोस्रो सिरहा (१,५२६) र तेस्रो धनुषा (१,२२४) मा देखिन्छ।

युक्ति मरिक महेन्द्र विन्देश्वरी क्याम्पस, राजविराजबाट आईए र राजनीति शास्त्रमा बीए पास छन्। आफ्नो समुदायका मानिसलाई कानुनी सहयोग गर्ने उद्देश्यले हाल उनी यसै क्याम्पसमा एलएलबी पढदै छन्। एलएलबी पास गरे पछि उनी डोम जातिमा पहिलो वकिल हुनेछन्।

मधेसी समाजमा पछिल्लो समय आइरहेको बदलाव यत्तिमै सीमित छैन। यस समाजमा कथित दलितको परिचय पाएका समुदायमा युवाहरु परम्परागत पेशालाई निरन्तरता दिनुभन्दा पढाइमा भविष्य खोज्दै छन्। जसको पछिल्लो उदाहरण हुन् सर्लाही ईश्वरपुर नगरपालिका–१ का रुकेश र प्रमोद राम दाजुभाइ। उनीहरु वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत छन्। राम दाजुभाइ छात्रवृत्तिमा एमबीबीएस पढ्दै छन्।

अन्धविश्वास, कुरीति, सामाजिक–सांस्कृतिक कारण र आर्थिक दूरावस्थाले पढ्ने–पढाउने वातावरण नमिल्नु, सबै स्थानमा शिक्षाको समुचित व्यवस्था नहुनु तथा छोराछोरीमा हुने भेदभावले गर्दा मधेसका महिला शैक्षिक दृष्टिले पछाडि परेका थिए, छन्। मधेसी समाजका कतिपय अभिभावकमा छोरीलाई पढाउनु हुन्न भन्ने रुढीवादी दृष्टिकोण थियो र अझै कतिपयमा कायमै रहेको अवस्था छ भने कतिमा छोरालाई चाहेजति पढाउने र छोरीलाई आधारभूत तहसम्मको शिक्षा काफी हुन्छ भन्ने सोचाइ छ। छोरीहरु विवाह गरी अरुको घरमा जाने भएकोले उनीहरुलाई पढाएर फाइदा नहुने भन्ने मधेसी समाजको परम्परागत धारणा अझै पनि कतिपयमा छ। पढाइहाले पनि छोरालाई महँगा निजी विद्यालय र छोरीलाई सरकारी विद्यालयमा पढाउने सामाजिक प्रचलनले पनि महिला गुणस्तरीय शिक्षामा पुरुषको तुलनामा पछि परेको देखिन्छ।

सन् २००१ मा भएको राष्ट्रिय जनगणनामा महिलाको साक्षरता दर ४२.८ प्रतिशत देखिएको थियो। त्यसको एक दशकपछि अर्थात सन् २०११ को राष्ट्रिय जनगणनाले महिला साक्षरता दर ६५.९ प्रतिशत र पुरुषको साक्षरता प्रतिशत ७१.१ प्रतिशत देखाएको छ। १० वर्षको अन्तरालमा प्रतिवर्ष २.३१ प्रतिशतका दरले महिला साक्षरता वृद्धि हुँदै कुल २३.१ प्रतिशत बढेको देखिन्छ। देशको जनसंख्यामा पुरुषको तुलनामा महिलाको संख्या बढी देखिएको सन्दर्भमा, यस तथ्यांकलाई हेर्दा महिलाको साक्षरता दर भने पुरुषकोभन्दा ५.२ प्रतिशतले अझै कम देखिन्छ। यो तथ्यांक आफैँमा धेरै निराशाजनक नभए पनि संविधानले अंगीकार गरेको समानताको हकको सिद्धान्तअनुरुप यसमा बढोत्तरी हुनु आवश्यक रहेको देखिन्छ।

शिक्षा विकासको पूर्वाधार पनि हो। एउटा समुन्नत राष्ट्र निर्माणका लागि त्यस देशका नागरिक शिक्षित हुनु जरुरी छ। महिला र पुरुष मिलेर समाज बन्छ। समाजलाई विकसित बनाउन र समाजमा सन्तुलन कायम राख्न, दुवैको सही विचार, सहयोग र सहकार्यको आवश्यकता पर्छ। जबसम्म दुवैले समान शिक्षा र अवसर पाउँदैनन् समाजको सुदृढीकरण हुन नसक्ने प्राध्यापक चक्रपाणी दहालको तर्क छ। यस्तो समाज जहाँ महिलाको जनसंख्या पुरुषको भन्दा धेरै र सामाजिक संरचना पुरुषप्रधान छ, महिला बोक्सी, दाइजोजस्ता कुप्रथाबाट प्रताडित छन, त्यहाँ विकास र समृद्धिका लागि बहुसंख्यक महिला शिक्षित हुनु आवश्यक छ। किनकि शिक्षाले सही–गलत छुट्याउन सक्ने चेतना दिन्छ। स्वावलम्बन बन्न प्रेरित गर्छ तर शिक्षाको उद्देश्य आदर्शमुखी मात्र नभई, एक्काइसौँ शताब्दीको प्राविधिक चुनौतीको सामना गर्न सक्ने सीपमूलक, सक्षम र स्वावलम्बी नागरिक उत्पादन गर्ने खालको समेत हनुुपर्छ। तसर्थ, महिला शिक्षालाई निःशुल्क, अनिवार्य र सर्वसुलभ बनाउनेतर्फ सरकारी पहल हुनु जरुरी छ।







यसमा तपाईको मत


अन्य समाचार

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

यो हो अहिलेको सबैभन्दा राम्रो क्यामरा भएको स्मार्टफोन

यो हो अहिलेको सबैभन्दा राम्रो क्यामरा भएको स्मार्टफोन

DxOMark अनुसार अहिलेको सबैभन्दा अब्बल क्यामरा स्मार्टफोन ! ...

फेसबुकबाट तपाईंको सम्पूर्ण जानकारी कसरी डाउनलोड गर्ने ?

फेसबुकबाट तपाईंको सम्पूर्ण जानकारी कसरी डाउनलोड गर्ने ?

तपाईंको फेसबुकसँग भएको सम्पूर्ण जानकारी पूर्ण डाउनलोड गर्नका लागि यस्तो गर्नुहोस् : ...

Ncell Footer Ad