८ वैशाख २०८१ शनिबार
प्रवास

लन्डन मेयरको कार्यालयमा हेल्प नेपालको बीसौं वार्षिकोत्सव

बेलायत- लन्डन मेयरको कार्यालय सिटी हलमा मंगलबार एक भव्य समारोहका बीच हेल्प नेपाल नेटवर्कको २० औं वार्षिकोत्सव मनाईएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपालका राजदूत डा दुर्गा बहादुर सुवेदीले गएको २० वर्षमा शिक्षा, स्वास्थ्य तथा विपद सहायताका क्षेत्रमा हेल्प नेपाल नेटवर्कले पुराएको सेवा प्रशंसनीय भएको बताए। उनले राम्रो कामलाई सघाउन ब्रिटेनमा बसोबास गर्ने नेपालीहरु सधैं अग्रसर रहेको पनि बताए। उनले धन सहितको मन मात्रै हैन, मन सहितको धन पनि चाहिन्छ भन्दै यस्ता कल्याणकारी कामहरुलाई सघाउन सबैलाई आग्रह पनि गरे।

कार्यक्रममा लन्डनका उपमेयर राजीव अग्रवाल, लन्डन एसेम्ब्लीमा लेबर पार्टी का नेता लेन डुभाल, गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्य, एनआरएन युकेका अध्यक्ष योगकुमार फगामी लगायतका वक्ताले हेल्प नेपाल नेटवर्कले गर्दै आएको कल्याणकारी कामको प्रशंसा गर्दै आगामी दिनमा पनि तिनको निरन्तरताका लागि शुभकामना दिएका थिए।

हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले बेलायतस्थित सबै सहयोगीहरुलाई धन्यवाद दिन आफु नेपालबाट आएको बताउंदै दाताहरुको सबै रकम पारदर्शी तरिकाले नेपालमा खर्च गरिने गरिएको र एक रुपियाँ पनि दुरुपयोग नभएको विश्वास दिलाए। उनी आफ्नै खर्चमा लन्डन आएका हुन्।

हेल्प नेपाल नेटवर्कका गतिविधिहरुका बारेमा प्रस्तुति दिदै नेटवर्कका मिडिया संयोजक भगीरथ योगीले नेटवर्कले सन् २०१५ मा गएको भूकम्पबाट क्षति पुगेको दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको पुनर्निर्माणका लागि संसार भरिबाट सहयोग संकलन गरिरहेको बताए। उनले सो अभियानमा सघाउन सबैलाई आग्रह गरे। उनले गत वर्ष हेल्प नेपाल नेटवर्क र म्युजिक नेपाल प्रालि बीच भएको समझदारी अनुसार म्युजिक नेपालले सुरु गरेको ‘नेपाल अन डिमान्ड’ एप का ग्राहकहरुले हरेक महिना तिर्ने शुल्कको ७.५ प्रतिशत रकम हेल्प नेपाललाई प्राप्त हुने पनि बताए।

‘नेपाल अन डिमान्ड’ एप मार्फत प्रत्यक्ष भिडिओ स्ट्रिमिङ गरिने टेलिभिजन च्यानलहरुमा नेपाल टेलिभिजनका तीनवटा च्यानलहरु, कान्तिपुर टिभी, हिमालय टिभी, एपिवान टिभी, न्युज २४ र बिटिभी बिजनेस छन्। हाल बेलायतमा उपलब्ध सो एपमा कम्तीमा १०० वटा नेपाली चलचित्रहरु कुनै पनि बेला हेर्नसकिने गरी उपलब्ध रहेको म्युजिक नेपालले जनाएको छ।

कार्यक्रममा हेल्प नेपाल नेटवर्क युकेका कोषाध्यक्ष सचिन श्रेष्ठले हेल्प नेपाल नेटवर्क युके शाखाको गतिविधिको बारेमा प्रस्तुति गर्दै भूकम्प पछि सिन्धुपाल्चोक स्थित ठोकर्पा माध्यमिक विद्यालयको पुनर्निर्माणमा सघाउने लिभरपुल युनाइट्स फर नेपाल लगायतका संस्थाहरुलाई धन्यवाद दिए।

सो समारोहमा नाम्लो ब्याण्डका गंगा थापाले सुमधुर गीतहरु सुनाएका थिए। कार्यक्रमको शुरुमा नेटवर्कका अध्यक्ष डा. प्रणव ज्ञवालीले सबै उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए भने नेटवर्कका सदस्य यादव भण्डारीले धन्यवाद दिएका थिए। कार्यक्रमको संचालनमा ससाना भाई बहिनीहरुले पनि सघाएका थिए।

प्रकाशित: २८ चैत्र २०७५ ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App