coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

धामी–झाँक्रीले उपचार गर्न सक्छन् ?

डा. कपिल देव उपाध्याय
वरिष्ठ मनोचिकित्सक

हाम्रो देशमा बिरामी पर्दा भूत, प्रेत, मसान, वनझाँक्री, नागदेवता लागे कि भनेर धामी–झाँक्रीलाई देखाउने, झारफुक गर्ने र चिना देखाएर ग्रह दशा ठीक छन् छैनन् भनेर हेर्ने चलन छ। ग्रहदशा बिग्रेको देखिएमा पूजाआजा गर्ने चलन छ। नेपालमा अहिले पनि अन्दाजी पाँच लाख बढी धामीझाँक्री रहेको अनुमान छ। त्यसैले पनि प्रत्येक गाउँमा कोही न कोही झारफुक गर्न जान्ने व्यक्ति भेटिन्छन्। आफ्नो घर नजिकै वा केही टाढा भए पनि एक पटक झाँक्रीलाई देखाउने र उपचार गराउने चलन प्रशस्त छ। नेपालमा सयौं वर्षदेखि चल्दै आएको यो चलन र यसका फाइदा बेफाइदाबारे यस लेखमा चर्चा गरिएको छ।

म एक मनोचिकित्सक, लामो समयदेखि विभिन्न मानसिक स्वास्थ्य समस्याहरु भएका बिरामीहरुलाई हेर्दै र उपचार गर्दै आएको छु। बिरामीका परिवारले धामीझाँक्रीलाई पहिले देखाउने र उपचार हुन नसके मात्र डाक्टरलाई देखाउने चलन छ र मैले हेर्ने बिरामीहरुमध्ये नब्बे प्रतिशत भन्दा बढीले जान्नेलाई देखाएकै हुन्छन्। तीमध्ये कतिपयले पहिले बिरामी हुँदा धामीले निको पारेकै थिए, यसपटक निको भएन र ल्याएको पनि भन्नुहुन्छ। मानसिक स्वास्थ्य समस्या हो भने पहिलो पटक कसरी निको भयो र यसपालि किन निको भएन भन्ने प्रश्न मनमा उठ्यो र केही धामीझाँक्रीहरुलाई नै भेटेर तिनको अन्तरवार्ता लिएँ र मैले केही समय अनुसन्धान गरेँ।

धामी, झाँक्री, जान्ने लामा, झारफुक, गुरु बा, गुभाजु, माता आदि विभिन्न नामले चिनिनेमध्ये धेरैको सेवा निःशुल्क हुने वा आफूखुसी दिए केही लिने चलन रहेछ। कसै कसैले बिरामी निको पार्छु भन्ने ग्यारेन्टी लिने र ठूलै राशि हात पार्नेहरुको पनि कमी रहेछन्। ढ्याङ्ग्रो ठटाएर देउता बोलाउने र बिरामीलाई बकाउने गर्नेहरुले पूजाको सामान, बली, खानपिन आदि गरेर विशेष दिन राति हल्लिने र बकाउने गरेको पाइन्छ। नामी झाक्री कहाँ वा माताकहाँ सधैँजस्तो उपचार गर्न आउनेहरु धेरै हुने रहेछन्।

जहाँ विश्वास छ, जसले निको पार्छ भन्ने लाग्छ, त्यहीँ नै बिरामी जाने हुनाले धामी–झाँक्रीकहाँ जाने धेरै बिरामीहरुलाई फाइदा हुनेरहेछ भन्न सकिन्छ। अन्यथा किन धामीझाँक्री कहाँ जाने त? आखिर यस्तो   मनोविज्ञान के हो भन्ने खोज मैले केही समय जारी राखेँ।

मेडिकल साइन्समा विभिन्न औषधिहरुले रोग निको पार्न सक्छन् कि सक्दैनन् भनेर अनुसन्धान गर्दा बिरामी भएका व्यक्तिहरुको दुई वटा समूह बनाई, एउटा समूहलाई परीक्षण गरिने औषधि र अर्को समूहलाई हेर्दा औषधिजस्तै देखिने तर बिना औषधिको चक्की शरीरलाई नोक्सान नगर्ने र फाइदा पनि नगर्ने तत्व दिइन्छ। दुवै समूहलाई अरु परीक्षण गर्ने, कुरा गर्ने, रोग घटबढ के भएको छ सोध्ने आदि सबै उस्तै गरिन्छ। र, अनुसन्धानको अवधि सकिएपछि रिजल्ट हेरिन्छ। यस्ता धेरै अनुसन्धानहरुमा दुवै समूहका बिरामीको रोग कम भएको वा निको भएको कम्तीमा ३० प्रतिशत भेटिएको हुन्छ। वास्तविक औषधि खानेहरुमा यो प्रतिशत ४० वा ५० पनि पुग्न सक्छ तर औषधिजस्तै देखिने चक्की वा क्याप्सुल खानेहरुमा पनि ३० प्रतिशत रोग कम भएको वा निको भएको भेटिन्छ। अनुसन्धानकर्ताहरुले औषधिजस्तै देखिने चक्की (प्लासिबो) खानेहहरुलाई राम्रो भएको कारण प्लासिबो इफेक्ट हो भन्ने निष्कर्ष निकाले। प्लासिबो इफेक्ट भनेकोः

  • बिरामीलाई गरिने परीक्षण, उनीहरुलाई गर्ने व्यवहार आदि दुवै समूहमा उस्तै भएकाले त्यसको सकारात्मक असर प¥यो ।
  • औषधिले निको पार्छ भन्ने सकारात्मक विचारले रोग कम गर्न वा निको पार्न सहयोग ग¥यो ।
  • रोग आफैँ निको भएको र उपचारको जस पाएको

यस्तै नेसिबो इफेक्ट भन्ने पनि छ, जुन प्लासिबो इफेक्टको ठीक उल्टो हो। अर्थात्, दुवै समूहका बिरामीलाई रोग निको हुँदैन भन्ने सोचाइ भएमा उपयुक्त उपचारका बाबजुद पनि दुवै समूहका केही प्रतिशतलाई कुनै फाइदा हुँदैन। उनीहरुको स्वास्थ्य अझ बिग्रन सक्छ।

प्लासिबो इफेक्ट र नोसिबो इफेक्टकै कारण चिकित्सक कहाँ जँचाउन आउने बिरामीमध्ये कतिलाई २/३ दिनमै फाइदा भएको देखिने हुन्छ भने कतिलाई फाइदा हुँदैन। मेडिकल साइन्समा देखिने यो प्लासिबो इफेक्ट धामी–झाँक्रीले गर्ने उपचारमा पनि लागू हुने रहेछ। उपचार गराउन जाने कम्तीमा ३० प्रतिशत बिरामीहरुलाई त रोग कम हुने वा निको हुने रहेछ। यसको अर्को पक्ष पनि छ। जति बढी नाम चलेको चिकित्सक होस्, उति बिरामीको बढी विश्वास हुन्छ र त्यति निको हुने सम्भावना बढ्छ। नाम चलेका झाँक्री वा माताहरुको हकमा पनि यही कुरा लागू हुन्छ।

हामीहरु प्रायः सकारात्मक र नकारात्मक विचारहरुको कुरा गर्छौं। बिरामीलाई निको हुन्छ भन्ने विश्वास गर्नुस्, भरोसा गर्नुस् भन्ने चलन छ। वास्तवमा आस्था र विश्वासले कतिपय रोग निको पार्न निकै सहायक हुन्छन्।

  • मैले उपचार गरेका केही पेनिक अट्याकका बिरामीहरुले मलाई भन्नु हुन्छ, ‘मलाई मन आत्तिएलाजस्तो लाग्यो भने तपाईंलाई भेट्न अस्पतालमा आउँछु। यहाँ आएपछि मन आत्तिन आफैँ ठीक हुन्छ र एकछिन यहाँ बसेर घर फर्कन्छु।”
  • अस्पतालको इमरजेन्सीमा कतिबेला पुगुँजस्तो लाग्छ अनि त्यहाँ पुग्नेबित्तिकै आत्तिने समस्या आफैँ हराउँछ।
  • मध्य रातमा निन्द्रा खुल्यो भने यस्तो बेलामा केही भयो भने कसरी अस्पताल जाने होला भन्ने डर लाग्छ तर दिनमा मन ढुक्क हुन्छ।

यहाँ बिरामी भएमा सहायता पाउँछु भन्ने मनोविज्ञानले काम गरेको छ। हाम्रो चित्त (माइन्ड)लाई मनोविज्ञानमा पूरै होस भएको चित्त वा चेतन मन (कन्सस माइन्ड) र अवचेतन मन तथा अचेतन मन (सबकन्सस माइन्ड) वा (अनकन्सस माइन्ड) मा विभाजन गरिएको छ। भनिन्छ, हाम्रो जीवनमा १० प्रतिशत होस भएको चित्तले काम गरेको हुन्छ। उदाहरणका लागि साइकल, मोटर साइकल वा गाडीलाई राम्रोसँग सिकेर चलाउन जानेपछि मैले चलाइराखेको छु वा ब्रेक लगाए वा घुमाएँ भन्ने याद नगरीकनै सबै आफैँ वा अटोमेटिक काम भइराखेका हुन्छ। यो सबै अवचेतन मनबाट भइराखेको हुन्छ। हामीले खाना खाँदा, हिँड्दा, नुहाउँदा, ब्रस गर्दा, कपडा फेर्दा सबै आफैँ भैराखेको हुन्छ। कसैलाई त खाना खाइसकियो तर खाना कस्तो थियो याद हुँदैन, यादै भए पनि थोरै मात्र हुन्छ।

अवचेतन मनबारे ज्यादै महत्वपूर्ण कुरा के हो भने यो चित्त चेतन मन भन्दा लाखौं गुणा शक्तिशाली हुन्छ। हामीभित्र हुने रिस, लोभ, डर, घृणा आदि यहीँ हुन्छन्। यहाँ रहेका रिस, डर आदिलाई त्यति सजिलै चिन्न र थाहा पाउन सकिन्न र तिनीहरुले हाम्रो बोली, बानी व्यवहार, इच्छा आकांक्षामा प्रभाव पारिरहेका हुन्छन्। त्यसैले कतिपय कुराहरु गर्छौं र त्यो भइसकेपछि पछुताउँछौँ अर्थात् धेरै कुराहरु अटोमेटिक हिसाबले गाडी मोटरसाइकल चलाएजस्तै गरेर भइराखेका हुन्छन्। मनोवैज्ञानिक उपचार विधि विभिन्न किसिमका साइकोथेरापीमा यिनै अवचेतन चित्तमा दबिएका विचार, भावनाहरुलाई चेतन मनमा वा होसमा ल्याउने काम गरिन्छ।

हिजोआज केही ध्यान विधिहरु खास गरेर स्मृति ध्यान (माइन्डफुलनेस मेडिटेसन)बाट पनि अवचेतन मनका कुरा र समस्यालाई चिन्न सकिन्छ।
सम्मोहन (हिप्नोसिस) विधिमा पनि व्यक्तिलाई सम्मोहन गरी उसको अवचेतन मनमा रहेका समस्या पहिचान गरिन्छ र ती व्यक्तिलाई विभिन्न सुझावहरु दिइन्छ। अवचेतनमनले सुझावअनुसार काम ग-यो भने समस्याको समाधान पनि हुन्छ।

धामी–झाँक्रीले गर्ने उपचार विधि, बिरामीले पूरै विश्वास गरे भने उसको अवचेतन मनले उनलाई निको पार्छ जस्तो लाग्छ। अन्यथा विभूति लगाउँदा, मन्त्रेर दिएको पानी पिउँदा या यस्तै अन्य विधिहरु अपनाउँदा रोग त निको नहुनु पर्ने हो।

अति नै महत्वपूर्ण लागेको एउटा प्रसङ्ग म यहाँ उल्लेख गर्न चाहन्छु। स्वामी शिवानन्द कहाँ कुनै व्यक्ति आएर आफ्नो समस्या वा बिरामीका बारेमा भने वा पत्र लेखेर नै आफ्नो कुरा राखे भने, आफ्ना शिष्यहरुसँग बसेर त्यो व्यक्तिलाई सम्झेर मन्त्रहरु जप्थे रे! पाठक वर्गले भन्नु होला, सन्त र स्वामीहरुले त यस्तो गर्छन नै। तर स्वामी शिवानन्द आध्यात्ममा लाग्नुअघि भारतका नागरिक, एक चिकित्सक र मलेसियामा १० वर्ष काम गरेका थिए। उनको भारतको ऋषिकेशमा ठूलो आश्रम छ र उनले नै डिभाइन लाइफ सोसाइटी सुरु गरेका थिए। उनका २०० भन्दा बढी योग र वेदान्तबारे लेखिएका किताबहरु छन्। यो सन्दर्भ उनका शिष्य स्वामी सत्यानन्दले आफ्नो पुस्तक गुरु (पेज ३९) मा उल्लेख गरेका छन्।

मनोविज्ञानको कुरा गर्दा डाक्टरको छोराछोरी प्रायः डाक्टर बन्ने, राजनीतिज्ञका छोराछोरी राजनीतिमा नै लाग्ने, व्यापारीका छोराछोरीले व्यापारमा चाख राख्ने र कलाकारका छोराछोरीहरु त्यतैतिर लाग्ने गरेको देखिन्छ। यस्तो आखिर किन र कसरी हुन्छ त?

मस्तिष्कलाई ठूलो कम्प्युटर मानिएको छ। केटाकेटी अवस्थादेखि नै बालबालिकामा घरको वातावरण, कुराकानी, जीवनशैली आदि बाबुआमाबाट कम्प्युटरमा प्रोग्रामिङ हुने गर्छ या भनौँ प्रोग्राम डाउनलोड हुने गर्छ। कम्प्युटरमै प्रोग्रामिङ भएका कारण बहुसंख्यकहरुको आकर्षण त्यसतर्फ हुने गर्छ।

घरमा बाबु वा आमालाई कुनै रोग लागे त्यसको मनोवैज्ञानिक असर छोराछोरीमा पनि पर्दोरहेछ। पहिले कतिपय परिवारमा भएका रोगहरु जस्तै रक्तचाप, मधुमेह, हृदयघात आदि जिनसँग सम्बन्धित हुन्छन् भन्ने थियो र अहिले पनि छ। तर यस्ता रोगहरु हुनसक्ने कारणमा वातावरणको असर र अवचेतन मनमा रहेको डर पनि एउटा कारण हो। वास्तवमा यो रोग लाग्छ कि? भन्ने अवचेन मन भित्रको डर हो भने मूर्त रुप लिन पनि सक्छ किनकि त्यो डर, त्यो विचार निकै शक्तिशाली हुन्छ।

पहिलेको विश्वासअनुसार मानिस जन्मिदै उसको भविष्य निर्धारित हुन्छ, कर्मअनुसार हुन्छ, जिनअनुसार हुन्छ र केही पनि बदल्न सकिन्न भन्ने धारणाहरु सही होइनन्। वातावरणीय प्रभाव, पिउने पानी, हावा, खानपान, जीवनशैली, मानसिक तनाव, सबैले स्वास्थ्यमा महत्वपूर्ण प्रभाव पारेका हुन्छन्।

मानसिक तनावकै कुरा गरौं, लगातारको मानसिक तनावका कारण धेरै किसिमका स्वास्थ्य समस्याहरु उत्पन्न हुन्छन् भन्ने छ र तनावको व्यवस्थापन गर्ने स्वस्थ्य जीवनको महत्वपूर्ण अंग भैसकेको छ।

धामी झाँक्रीको उपचार/फुकफाकमा विश्वास भएमा केही सामान्य खालका मानसिक स्वास्थ्य समस्या निको हुने वा कम हुन सक्छन्। तर कडा खालका स्वास्थ्य समस्याहरु चाहे शारीरिक हुन् वा मानसिक हुन्, विश्वास गर्दैमा झारफुकले निको हुने वा कम हुने हुँदैन।

धामी–झाँक्रीको कुरा गर्दा एउटा डरलाग्दो वास्तविक घटना मलार्ई याद आउँछ। २०/२२ वर्ष अघिको कुरा हो, एक जना १९/२० वर्षकी महिला बेहोस भएको अवस्थामा अस्पतालको इमरजेन्सी कक्षमा ल्याइयो र हिस्टेरिया हो कि भन्ने शंका गरेर मलाई हेर्न/जाँच गर्न बोलाइयो। ती महिला दुई दिनदेखि बेहोस थिइन्। धामीले लुछ्ने, डाम्ने गरेकाले पोलिएका डामहरु शरीरका विभिन्न भागमा थिए। त्यति गर्दा पनि महिला होसमा नआएपछि अस्पताल ल्याइएको थियो। उनको परीक्षण गर्दा मेनिनजाइटिसका लक्षणहरु थिए। तुरुन्तै फिजिसियनलाई बोलाएर सल्लाह गरेर अस्पतालमा भर्ना गरियो। थप परीक्षण गर्दा मेनिगोंकोकल मेनिनजाइटिस भएको निश्चित भयो। त्यसको उपचार गर्दा दुई हप्तामा नै निको भएर उनी घर गइन्। ढिलो भएको भए र राम्रो उपचार नपाएको भए उनको ज्यान जान्थ्यो। कडा खालको रोग रहेछ भने धामी झाँक्रीलाई देखाउदा के हुन्छ भन्ने यो एउटा सर्वोत्तम उदाहरण हो।

त्यसैले हामीले ध्यान दिनुपर्ने कुरा के छ भने हजारौँ वर्षदेखि हामीमा गढेको विश्वासमाथि हामीले थोरबहुत विश्वास गर्नु ठीक हुन सक्ला तर पूरै अन्धविश्वासको तहमा जानु हुँदैन। यसले मानिसको ज्यानै लिन सक्छ र लिइरहेको पनि छ। यसमा हामीले हेलचेक्र्याइँ गर्नु हुँदैन।

सल्लाहकार (सि.एम.सी. – नेपाल)

प्रकाशित: २८ चैत्र २०७५ ०५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App