coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कब्जामुक्त जमिनमा सामुदायिक भवन

वीरगन्ज - पर्साको पोखरिया नगरपालिकास्थित सेमरबारी चोकमा वर्षौंदेखि अनधिकृत भोगचलनमा रहेको जग्गा कब्जामुक्त भएपछि सामुदायिक भवन बनाउन थालिएको छ। नगर कार्यपालिका कार्यालय मातहतमा आएको सो जग्गामा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बुधबार एक कार्यक्रमबिच सामुदायिक भवनको शिलान्यास गरेका छन्।

केही सीमित परिवारले प्रयोग गर्दै आएको सो जग्गा अब सामुदायिक हुने भएको छ। एक वर्षभित्र त्यहाँ सुविधासम्पन्न सभाहल बन्न लागेको कार्यपालिकाले बताएको छ। सभाहलसँगै दुईवटा कोठा र शौचालय बनाइने भएको छ। पोखरिया नगरपालिका प्रमुख दीपनारायण रौनियार, वडाध्यक्ष रामबाबु चौहानलगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा मन्त्री सोनलले भौतिक पूर्वाधार विकासमा जनताको सकारात्मक सहयोगको अपेक्षा रहेको बताए। उनले सडक, विद्युत्लगायत पूर्वाधार विकासमा जनताले सहर्ष आफ्नो जग्गासमेत दिन तयार हुनुपर्ने बताए।

तराई–मधेस समृद्धि कार्यक्रमको ६० लाख रुपैयाँ र स्थानीयको साढे आठ लाख रुपैयाँबराबर श्रमदान गरी ६८ लाख ५० हजार रुपैयाँको लागतमा सामुदायिक भवन बन्न लागेको हो।

नगरप्रमुख रौनियारका अनुसार आफूहरूले विकासलाई गति दिन स्थानीय आवश्यकता अनुसारका योजनालाई प्राथमिकतामा राखेको छ। बन्न लागेको सामुदायिक भवनले स्थानीयको बिहेवारी र अन्य सामाजिक कार्यक्रम आयोजन गर्न सहज हुने स्थानीय बताउँछन्। त्यस्ता भवन नहुँदा स्थानीयलाई विभिन्न कार्यक्रम आयोजना गर्न समस्या मात्र हुने गरेको थिएन, विद्यालयको मैदान प्रयोग गरिँदा पठनपाठनलाई समेत असर पुग्ने गरेको थियो।

नगर कार्यपालिका निमित्त प्रमुख सञ्जय पाण्डेयले तराई–मधेस समृद्धि कार्यक्रमको ६० लाख रुपैयाँ र स्थानीयको साढे आठ लाख रुपैयाँ बराबर श्रमदान गरी ६८ लाख ५० हजार रुपैयाँको लागतमा भवन बन्न लागेको बताए। नगर उपप्रमुख सलमा खातुनले अहिलेको योजनामा पर्खाल बाँकी रहेकाले नगरपालिकाको बजेटबाट बनाइने बताइन्। करिब तीन कट्ठा क्षेत्रफल रहेको जग्गा स्थानीय तह गठन भइसकेपछि कब्जामुक्त गरिएको थियो। उक्त जग्गाको सदुपयोग भएकोमा स्थानीयले खुसी व्यक्त गरेका छन्।

 

प्रकाशित: २८ चैत्र २०७५ ०६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App