८ वैशाख २०८१ शनिबार
राजनीति

डाक्टरहरू सहरमा केन्द्रित हुँदा समस्या

दिक्तेलमा आयोजित अन्तक्रियामा बोल्दै उपप्रधान एव स्वास्थ्यमन्त्री उपेन्द्र यादव। तस्बिर : दमन राई/नागरिक

खोटाङ - उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अधिकांश सरकारी डाक्टर सहरमा मात्र बस्न खोज्दा सबै क्षेत्रमा समान किसिमको स्वास्थ्य सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार खोटाङको दिक्तेलमा आयोजना गरेको ग्रामीण समुदायमा आधारभूत स्वास्थ्य सेवा सुधारसम्बन्धी अन्तक्र्रियात्मक कार्यक्रममा उनले अबका दिनमा बिरामी जहाँ छन् त्यही डाक्टर जाने परिस्थिति सिर्जना गर्न राज्य कडा ढंगले लाग्ने स्पष्ट पारे। ‘८० प्रतिशत जनता गाउँमा बस्छन् तर ८० प्रतिशत डाक्टर सहरमा बस्छन्,’ उनले भने, ‘गाउँमा डाक्टर नबसेपछि ८० प्रतिशत जनता स्वास्थ्य सेवा लिन सहर दौडन बाध्य छन्। अब जहाँ बिरामी छन्, त्यहाँ डाक्टर जानुपर्छ। राज्य यसमा कडा ढंगले लाग्छ।’

मन्त्री यादवले प्रत्येक नागरिकलाई आर्थिक अभावका कारण उपचारबाट वञ्चित नहुने वातावरण निर्माणमा सरकार लागेको बताएका छन्। उनले गरिबीको रेखामुनि रहेका २८ प्रतिशत सर्वसाधारणलाई समेत सुलभ स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन सरकारले नयाँ स्वास्थ्य नीति तयार पारिसकेको जानकारी दिए। ‘कुनै व्यक्ति आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुहुन्न,’ उनले भने, ‘त्यसका लागि सबैको पहुँच पुग्ने, सबैले तिर्न सक्ने र गुणस्तरीय स्वास्थ्य सेवाका लागि आधारभूत स्वास्थ्य सेवा विस्तारको काम अघि बढाइसकेका छौं।’

मन्त्री यादवले स्वास्थ्यमा सबैको समान पहुँच विस्तारका लागि स्वास्थ्य बिमाको कार्यक्रमसमेत अघि बढाइएको उल्लेख गरे। स्वास्थ्य बिमा गर्न नसक्ने नागरिकको सरकार आफैंले स्वास्थ्य बिमा गरिदिने उनले बताए। उनले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्थानीय सरकारदेखि केन्द्र सरकारबीचमा समन्वय आवश्यक रहेको औंल्याए। अन्तक्र्रियामा सहभागी हुनुअघि स्वास्थ्यमन्त्री यादवले फेमिली केयर एन्ड इन्टरनेसनल रिसर्च सेन्टर अस्पतालसँगको सहकार्यमा स्वास्थ्य मन्त्रालयले दिक्तेल इङ्लिस बोर्डिङ स्कुलमा आयोजना गरेको स्वास्थ्य शिविर उद्घाटन गरेका थिए।

‘स्वास्थ्य संस्थासँगै स्वास्थ्य चेतना आवश्यक’

खोटाङका स्थानीयले अस्पताल स्थापना र डाक्टर उत्पादनलाई जत्तिकै प्राथमिकतामा स्वास्थ्य सचेतना अभिवृद्धिलाई राख्नुपर्ने सुझाव दिएका छन्। जिल्ला समन्वय समितिको समीक्षालय हलमा आयोजित कार्यक्रमका सहभागीले रोग लागेपछि उपचार गर्नुभन्दा पनि रोग लाग्न नदिने सचेतना वृद्धिका काममा सरकारले ध्यान दिनुपर्ने धारणा राखेका हुन्।

सहभागी मबिन्द्र राईले ग्रामीण समुदायमा आधारभूत स्वास्थ्य सेवा सुधारका लागि स्वस्थ जीवनशैलीबारे नागरिकलाई शिक्षित बनाउनुपर्ने बताए। ‘आफ्नै कारणले मानव रोगको सिकार भइरहेका छन्, स्वास्थ्य सचेतना दिने हो भने नागरिक आफैं स्वस्थ बन्छन्,’ राईले भने, ‘त्यसकारण अस्पताल खोल्ने कि जनतालाई स्वास्थ्य चेतना दिने भन्नेमा गम्भीर भएर सोच्न आवश्यक छ।’
यस्तै शिक्षक धनीराम राईले अस्पताल र डाक्टरको उत्पादनसँगै स्वस्थ जीवनशैलीबारेमा जनचेतना आवश्यक रहेको औंल्याए। उनले गरिब र धनीले उपभोग गर्ने दुई किसिमको स्वास्थ्य सेवाको अन्त्य गर्न स्वास्थ्यमन्त्री यादवको ध्यानाकर्षण गराएका छन्। अन्तक्र्रियामा डब्लुएचओ, निकसाइमन, स्वास्थ्य मन्त्रालयलगायतका प्रमुख तथा प्रनिनिधिले ग्रामीण समुदायमा आधारभूत स्वास्थ्य सेवा सुधारका विषयमा आ–आफ्नो धारणा राखेका थिए।

प्रकाशित: २८ चैत्र २०७५ ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App