६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

नेपाली शान्ति सैनिक फिर्ता गर्न छलफल

काठमाडौं - नेपालले द्वन्द्वग्रस्त अफ्रिकी मुलुक लिबियामा तैनाथ नेपाली शान्ति सैनिक फिर्ता गराउने विषयमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा छलफल थालेको छ। लिबियाको विद्रोही फौज ‘लिबियन नेसनल आर्मी’बाट राजधानी त्रिपोलीमाथी हमला गर्ने जोखिम औंल्याउँदै नेपालले राष्ट्रसंघका अधिकारीसँग त्यहाँ तैनाथ नेपाली शान्ति सैनिक फिर्ताबारे परामर्श थालेको हो।

त्रिपोलीस्थित राष्ट्रसंघीय मिसन ‘युनाइटेड नेसन्स् सपोर्ट मिसन इन लिबिया’को मुख्यालय तथा त्यस मातहत रहेको सुरक्षामा नेपालबाट २ सय ३१ सैनिक फौज कार्यरत छन्। प्रमुख सेनानी समीरप्रतापजंग राणाको नेतृत्वमा २ सय ३० विशेष फैज ‘स्पेसल गार्ड युनिट’का रूपमा र १ जना अधिकृत ट्युनिसियास्थित शान्ति सैनिक कार्यालयमा सम्पर्क अधिकृतका रूपमा कार्यरत छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले त्रिपोलीबाट युएन स्टाफसँगै नेपाली शान्ति सैनिक पनि आवश्यक परेमा फिर्ता गर्नेबारे छलफल भइरहेको जानकारी दिए।

मंगलबार संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राईले राष्ट्रसंघका अधिकारीसँग नेपाली शान्ति सैनिक फिर्ताबारे छलफल गरेका हुन्। लिबियास्थित राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि घसान सलाम मिसन फिर्ता गर्ने पक्षमा नरहेपछि शान्ति सैनिक र कर्मचारीको सुरक्षा अवस्था थप जटिल बनेको बताइन्छ। ‘लिबियाको राजधानी त्रिपोलीस्थित राष्ट्रसंघका कर्मचारी र शान्ति सैनिकलाई आवश्यक परेमा उद्धार गरी फिर्ता ल्याउनेबारे राष्ट्रसंघ मुख्यालयमा छलफल भएको जानकारी पाएका छौं,’ सैनिक प्रवक्ता सहायक रथी ढकालले भने, ‘त्रिपोलीमा खतरा छ तर शान्ति सैनिकमाथि खतराको अनुपात न्यून छ।’ राजधानी त्रिपोलीलगायत अन्य भागमा विद्रोही सेनाले हमला जारी राखेपछि अमेरिकी र भारतीय शान्ति सैनिक लिबियाबाट फिर्ता भइसकेका छन्।

लिवियामा विद्रोही फौजले हमला जारी राखेपछि राष्ट्रसंघको आग्रहमा नेपालले गत वर्ष मात्रै प्रमुख सेनानीको कमाण्डमा त्रिपोलीस्थित मिसन मुख्यालय तथा कर्मचारीको सुरक्षामा विशेष तालिम प्राप्त फौज तैनाथ गराएको थियो। पछिल्लोपटक १ महिनाअघि मात्रै नेपाली सेनाको दोस्रो पल्टन त्रिपोली गएको हो।

प्रकाशित: २८ चैत्र २०७५ ०२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App