७ वैशाख २०८१ शुक्रबार
अर्थ

अब १० कित्ता सेयर भर्न पाइने

काठमाडौं– नेपाल धितोपत्र बोर्डले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ। यसअघिको कम्तीमा ५० कित्ता सेयर खरिद गर्नुपर्ने व्यवस्थामा परिवर्तन गर्दै बोर्डले यस्तो व्यवस्था गरेको छ। सबै वर्गका लगानीकर्ताको सहभागिता बढाउन उपलब्ध भएसम्म सबै आवेदकहरुले १० कित्ता सेयर पाउने समावेशी वितरण प्रणाली र आस्वा व्यवस्था २०७३ साल देखि लागू भएपछि काठमाडौंबाहिर सहित देशैभर साना तथा आम लगानीकर्ताको सहभागिता बढ्दै गएको छ। तथापि यसलाई अझ व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको बोर्डको भनाइ छ।

यसै परिप्रेक्ष्यमा सार्वजनिक निष्कासनमा हालको कम्तीमा ५० कित्ताका लागि आवेदन गर्ने व्यवस्थामा परिवर्तन गरी विद्यार्थी, गृहिणी तथा स–साना पुँजी भएका वर्गको पुँजीबजारमा पहँुच बढाउने र यसलाई समावेशी बनाई यो वर्षको एक नेपाली एक डिम्याट खाता अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले बोर्डले सार्वजनिक निष्कासनमा न्यूनतम १० कित्ता पनि आवेदन गर्न पाउने व्यवस्था गरेको जनाएको छ। यो व्यवस्था तत्काल कार्यान्वयन गर्न सम्बन्धित सबै निष्कासन तथा बिक्री प्रबन्धक मर्चेन्ट बैंकरहरुलाई परिपत्र समेत गरिएको बोर्डको भनाइ छ। यस्तो समावेशी व्यवस्थाले पुँजी बजारमा विद्यार्थी, गृहिणी सहित स–साना पुँजी भएको वर्ग समेतको सहभागिता बढ्ने र यो वर्षको एक नेपाली एक डिम्याट खाता अभियानमा समेत व्यापक सहभागिता बढी पुँजी बजारको विकास तथा विस्तारमा थप टेवा पुग्ने बोर्डको अपेक्षा रहेको छ।

 

प्रकाशित: २८ चैत्र २०७५ ००:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App