coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पिएचडी प्रस्तुतिमा चुक्दा समकक्षता रोकियो

काठमाडौं - त्रिभुवन विश्वविद्यालयका ६ शिक्षकले भारतका विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरे। तर त्रिविले उनीहरुले हासिल गरेको विद्यावारिधि उपाधिको समकक्षता निर्धारण प्रमाणपत्र दिएन। ती शिक्षकमध्ये केहीले समकक्षताका लागि आफैंले गरेको अनुसन्धानको प्रस्तुति चित्तबुझ्दो नदिएको र केही प्रस्तुति दिन नआएकाले समकक्षता निर्धारण प्रमाणपत्र प्रदान नगरिएको त्रिविले जनाएको छ।

आफूहरुले हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको स्तर निर्धारण गरी समकक्षता दिनुपर्ने माग गर्दै ती शिक्षकले विश्वविद्यालयका रेक्टर सुधा त्रिपाठी, विज्ञान संकायका डिन रामप्रसाद खतिवडा र पाठ्यक्रम विकास केन्द्रका प्रमुख पारसनाथ यादवको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

गणित विषय समिति सदस्य एवं गणित केन्द्रीय विभागका निमित्तप्रमुख तुलसीप्रसाद नेपालले विषय समितिले त्रिविबाहेकका अन्य विश्वविद्यालयबाट हासिल गरेको शैक्षिक योग्ताको प्रमाणपत्रको स्तर निर्धारण गर्न बनाएको मापदण्डअनुसार तीनजना प्रस्तुतिमा फेल भएको र तीनजना प्रस्तुतिमा अनुस्थित भएको बताए। उनका अनुसार ती शिक्षकले भारतको पटना विश्वविद्यालय, ललितनारायण मिथिला विश्वविद्यालय दरभंगा, तिलकमा मावि विश्वविद्यालय भागलपुर र मेरठको एक विश्वविद्यालयबाट हासिल गरेको विद्यावारिधिको उपाधि पाएका छन्। तर आफैंले गरेको अनुसन्धानबारे प्रस्तुति गर्न नसक्दा समकक्षता प्रदान गर्न नसकिएको नेपालले बताए। ‘म आफैं विषय समितिको सदस्य हुँ। अहिले आफूले उपाधिका लागि गरेको अनुसन्धानमा १५ मिनेट प्रस्तुति दिनुपर्ने व्यवस्था छ,’ निमित्त प्रमुख नेपालले नागरिकसँग भने, ‘प्रस्तुति दिन आएकालाई आपूmले कुन विषयमा अनुसन्धान गरेको रु कसरी गरेको रु किन गरेको रु नै थाहा रहेनछ। केही त प्रस्तुति दिनै आएनन्। अरुलाई अनुसन्धान लेखाएर उपाधि हासिल गरेको छर्लंग भएको छ।’

आफैंले गरेको अनुसन्धानबारे चित्तबुझ्दो प्रस्तुति नदिएका तीन र प्रस्तुतिका लागि पटकपटक बोलाउँदा पनि अनुपस्थित हुने तीनजना शिक्षक समकक्षता निर्धारण प्रमाणपत्र लिनबाट वञ्चित

१५ मिनेट प्रस्तुति लिन नसक्नेले कक्षामा गणित विषयमा विद्यार्थीलाई कसरी पठनपाठन गराउँछन् रु उनको प्रश्न छ। विश्वविद्यालयको गुणस्तर कायन गर्न र आफूले गरेको अनुसन्धानबारे प्रस्तुति दिन नसक्ने शिक्षकलाई विषय समितिले समकक्षता दिन नसक्ने उनको भनाइ छ। त्रिवि कार्यकारी परिषद्को नयाँ व्यवस्थाअनुसार त्रिविबाहेक अन्य विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरेको उपाधिको समकक्षताका लागि विद्यार्थीले पाठ्यक्रम विकास केन्द्रमा पेस गरेको आवश्यक कागजात पाठ्यक्रमले सम्बन्धित विषयको डिन कार्यालयमा पठाउँछ। डिन कार्यालयले विषय समितिमा छलफलका लागि पठाउँछ। त्यसपछि डिन कार्यालयले सकारात्मक निर्णय गरी पुनः पाठ्यक्रम विकास केन्द्रमा पठाएको रायमाथि पाठ्यक्रम बोर्ड बैठकले छलफल गरेर मात्र समकक्षता दिन्छ।

विश्वविद्यालय विज्ञान संकायअन्तर्गतका गणित विषयका शिक्षक तिलकराम सरदार, नरेन्द्रनारायण झा, रञ्जनकुमार सिंह, त्रिभुवन शर्मा, सुरेशकुमार सहनी र दिलीपकुमार भगतले आपूmले हासिल गरेको उपाधिको समकक्षता दिनुपर्ने मागसहितको विज्ञप्ति टाँसेर तालबन्दी गरेका हुन्। विषय समिति सदस्य नेपालका अनुसार तिलक, नरेन्द्र र त्रिभुवनलाई पटकपटक विषय समितिले प्रस्तुतिका लागि बोलाउँदा पनि उनीहरु गएनन्। रञ्जन, सुरेश र दिलीपलाई आपूmले गरेको अनुसन्धानको विषयबस्तुबारे जानकारी समेत नभएको पाइयो।

हाल विश्वविद्यालय सेवा आयोगले आन्तरिक प्रतिस्पर्धाबाट प्राध्यापक र सहप्राध्यापकमा बढुवा आवेदन मागेको छ। जसका लागि अन्तरवार्ता सुरु भएको छ। प्राध्यापक तथा सहप्राध्यापकमा बढुवा हुनका लागि विद्यावारिधिको ८ अंक जोडिने त्रिविको व्यवस्था छ। तालाबन्दीबारे त्रिवि प्रध्यापक संघका सदस्य गंगा डिसीले गलत माग राखेर विश्वविद्यालयलाई अहित हुनेगरी शिक्षकहरुबाटै तालाबन्दी हुनु आपत्तिजनक कार्य भएको टिप्पणी गरे। उनले विद्यावारिधिको प्रमाणपत्र व्यापक किनबेच गरेको गुनासो त्रिविमा पहिलेदेखि नै आइरहेकाले गणित विभागको विषय समितिले समकक्षताका लागि विषय समितिसमक्ष अनुन्धानको प्रस्तुति दिनुपर्ने व्यवस्था गरेको बताए। ‘जसले तालाबन्दी गरिरहनुभएको छ, उहाँहरु प्रस्तुतिमा फेल हनुभएको हो,’ गणित विषयका शिक्षक डिसी भन्छन्, ‘विषय समितिको रायअनुसार ती शिक्षकमध्ये केही पटकपटक बोलाउँदा पनि प्रस्तुतिमा नआउनुभएको हो।’ उनले थपे, ‘विश्वविद्यालयलाई बर्वाद पार्ने काम नगरौं।’

पटना विश्वविद्यालय, पटना बिहारबाट गणित विषयमा विद्यावारिधि उपाधि हासिल गरेका सिंहले आफूले गरेको अनुसन्धानको प्रस्तुति विषय समितिमा प्रस्तुत गरेको तर बद्नियत राखेर डिन कार्यालयमा राय पठाएको दाबी गरे। ‘मैले आफनो विद्यावारिधि उपाधिको सबै प्रमाणसहित पाठ्यक्रम विकास केन्द्रमा पेस गरेको छु,’ सिंहले नागरिकसँग भने, ‘विषय समितिमा पनि राम्रै प्रस्तुति गरेको थिएँ। प्राध्यापकका लागि चैत २७ गते मेरो अन्तर्वार्ता छ। त्रिविका पदाधिकारीले आफ्ना मान्छेलाई बढुवा गराउन हाम्रो विद्यावारिधिको समकक्षता रोकेका हुन्।’ उता विषय समिति सदस्य एवं विभागका निमित्तप्रमुख नेपालले आफूले पटकपटक प्रस्तुतिका लागि बोलाए पनि नआएको भनी दाबी गरिरहेका अर्का शिक्षक शर्माले भने विषय समितिले आफूलाई कहिल्यै सम्पर्क नगरेको बताए। विगतमा कागजात पेस गरेकै आधारमा समकक्षता दिँदै आएको त्रिविले आफूहरुकै पालामा किन कडाइ गरेको भन्ने प्रश्न उनले गरे। ‘तीन महिनाअघि मैले आवश्यक सबै कागजातसहित पाठ्यक्रम विकास केन्द्रमा समकक्षताका लागि आवेदन दिइसकेको छु,’ त्रिभुवनले भने, ‘मलाई विषय समितिले बोलाएकै छैन। अन्य विश्वविद्यालयले अवार्ड गरेपछि त्रिविले विषय, शीर्षक र विश्वविद्यालय योग्य छ कि छैन मात्र हेर्ने हो।’ उनले थपे, ‘प्रस्तुति आवश्यक छ कि छैन रु छ भने किन नबोलाएको ?’

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक पारसनाथ यादवले ती ६ जनाले नै भारतका विभिन्न विश्वविद्यालयबाट हासिल गरेको विद्यावारिधिको योग्यताको प्रमाणपत्र समकक्षताका लागि केन्द्रमा पेस गरेको र केन्द्रले डिन कार्यालयमा पठाइसकेको बताए। ‘डिन कार्यालयको सकारात्मक राय आएपछि मात्र पाठ्यक्रमको बोर्ड बैठकबाट समकक्षता पास गर्ने हो,’ कार्यकारी निर्देशक यादवले भने, ‘६ जनाको आजसम्म कुनै सकारात्मक राय प्राप्त भएको छैन। त्यसैले पाठ्यक्रम विकास केन्द्रले समकक्षता नदिएको हो।’

प्रकाशित: २७ चैत्र २०७५ ०५:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App