coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सुडानमा विरोध प्रदर्शन हिंसात्मक हुँदै

खार्तुम– सुडानमा मंगलबार बिहान सबेरै सेनाको प्रमुख कार्यलय बाहिर सरकार विरोधी आन्दोलन चर्किएपछि सरकारी सुरक्षा बलले अश्रुग्यास प्रयोग गरेको छ।सुडानमा केही महिनादेखि सरकारी विरोधी प्रदर्शन जारी छ। गत शनिबारदेखि नै हजारौं प्रर्दशनकारीले खार्तुम कम्प्लेसको अगाडि भेला भएर राष्ट्रपति ओमार अल बसिरको राजीनामाको माग गरिरहेका छन्। राष्ट्रपति ओमार अल बसिरलाई हटाएर अन्तरिम सरकार बनाउनुपर्ने प्रदर्शनकारीको माग छ। गत डिसेम्बरमा सरकारले पाउरोटी र इन्धनको मूल्य बढाएपछि सुडानमा देशव्यापी प्रदर्शन सुरु भएको थियो।
बसिर ३० वर्षदेखि सुडानको शासनसत्तामा छन्। मंगलबार बिहान सबेरै राष्ट्रिय गुप्तचर विभागका सदस्य, सुरक्षा सेवाका सदस्य र दंगा प्रहरीको संयुक्त प्रयासमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको थियो।
सेनाले आफ्नो प्रवेशद्वार खोलेपछि प्रदर्शनकारीभित्र छिरेको र त्यसपछि भारी मात्रामा अश्रुग्यास प्रहार गरिएको प्रत्यक्षदर्शीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन्। केही समयपछि सेनाको एक समूहले हवाई फायर गरेको थियो। गत डिसेम्बरमा पाउरोटी र तेलको मूल्य बढेपछि सुरु भएको आन्दोलनका क्रममा हालसम्म ३८ जनाको मृत्यु भइसकेको अधिकारीले जानकारी दिएका छन्। गत शनिबारदेखि जारी पछिल्लो प्रदर्शनमा सात प्रदर्शनकारीको मृत्यु हुनका साथै अन्य १५ जना घाइते भएको गृहमन्त्री बसहारा जुमाले बताए। उनका अनुसार यस प्रदर्शनका क्रममा ४२ सुरक्षाकर्मी घाइते भएका र दुई हजार चार सय ९६ सर्वसाधारण पक्राउ परेका छन्। प्रदर्शनकारीले सेनालाई शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न आग्रह गर्दै मुलुकको विषम परिस्थितिलाई थप अस्थिर हुन नदिन सेनाको सहयोग आवश्यक रहेको बताएका छन्। उनीहरुले सेनालाई सुडानमा अन्तरिम सरकार गठनमा सहयोग गर्न पनि आह्वान गरेका छन्।

 

प्रकाशित: २७ चैत्र २०७५ ०४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App