८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

नेतान्याहूको अग्निपरीक्षा

जेरुसेलम –  इजरायलमा मंगलबार एक सय २० सदस्यीय संसद् नेसेटका लागि चुनाव सम्पन्न भएको छ। चार पटक प्रधानमन्त्री भइसकेको प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पनि यसपटक चुनावी मैदानमा छन्। भ्रष्टाचारको आरोपका कारण विवादमा तानिएका प्रधानमन्त्री नेतान्याहूलाई पूर्वसैनिक प्रमुख बेन्नी गान्जले यस पटकको चुनावमा कडा चुनौती दिने अनुमान गरिएको छ। तर राजनीतिमा त्यति अनुभव नभएका पूर्व सैनिक प्रमुखलाई बेन्जामिन नेतान्याहूलाई परास्त गर्न निकै कठिन हुने प्रक्षेपण गरिएको छ। मतदान निकै प्रतिस्पर्धी हुने भएकाले एकलौटी सरकार गठन गर्न कठिन हुने जनमत सर्वेक्षणले देखाएका छन् तर प्रधानमन्त्री नेतान्याहूले नै गठबन्धन सरकार बनाउनसक्ने सम्भावना रहेको देखाएका छन्।

पूर्वसैनिक प्रमुख गान्जले प्रधानमन्त्री नेतान्याहूले मुलुकमा विभाजनकारी राजनीति गरेको आरोप लगाउँदै प्रधानमन्त्री नेतान्याहूको सुरक्षा सेवाप्रतिको धारणा नै गलत रहेको बताउँदै आएका छन्। यो चुनाव ६९ वर्षीय नेता नेतान्याहूका निम्ति धेरै कोणबाट जनमतसंग्रह सरह रहेको छ। नेतान्याहूले इजरायलको सुरक्षा र आर्थिक वृद्धिका निम्ति विशिष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान दिने गरिएको छ। तर नेतान्याहूको बढ्दो प्रचारबाजी र भ्रष्टाचारको आरोपका कारण कतिपय जनता परिवर्तनको पक्षमा उभिएका छन्। यसपटकको चुनावी अभियानका क्रममा प्रधानमन्त्री नेतान्याहूले विपक्षीमाथि कटुतापूर्ण चुनावी नारा प्रयोग गरेका छन्। चुनावी अभियानलाई नजिकबाट नियालिरहेको टिप्पणीकारले अरब इजरायली र अरुमाथि प्रधानमन्त्री नेतान्याहूले चरम दुश्मनका रुपमा व्यवहार गरेकामा पनि आलोचना गरेका छन्।
नेतान्याहूले चुनाव हुनु तीन दिनअघि मात्र एउटा विवादास्पद प्रतिज्ञा गरेका थिए। उनले आफू विजयी भएमा पश्चिमी किनारामा रहेका इजरायली बस्तीलाई इजरायलमै गाभ्ने घोषणा गरेका छन्। इजरायलको सीमालाई पश्चिमी किनारामा विस्तार गर्ने प्रधानमन्त्री नेतान्याहूको विवादास्पद भनाइले प्यालेस्टिनीसँग यसअघि भएको दुई–देशबीचको समस्या समाधानको आशालाई समाप्त गर्ने स्पष्ट छ। दुई–देशको मान्यता दिने, इजरायल, राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको यसअघिको प्रतिबद्धतालाई यो घोषणाले अबमूल्यन गरेको छ। इजरायलका अति दक्षिणपन्थीले लामो समयदेखि यस्तै होस् भन्ने चाहेका छन्।
परिवर्तनको आवश्यकता
नेतान्याहूले आफूलाई इजरायलको अत्यावश्यकीय राजनेताका रुपमा चित्रण गर्ने प्रयत्न गरेका छन्। चुनावी दौड अन्तिम चरणमा पुगेकै अवस्थामा पनि उनले आफ्ना निकटतम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोसँग भेटवार्ता गरेका छन्। चुनावी प्रचारका क्रममा उनले अमेरिकी राष्ट्रपति ट्रम्पबाट जेरुसेलमलाई इजरायलको राजधानी र गोलान हाइट्सको सार्वभौमसत्ता इजरायलकै भएको मान्यता दिलाउन सफल भएको बताएका थिए। उनले पश्चिमी किनाराका इजरायली बस्तीलाई इजरायली सार्वभौमसत्ताभित्र समायोजन गर्ने योजना बारेमा अमेरिकी नेतृत्वलाई जानकारी गराइसकेको पनि बताए।
‘कसले यो कार्य गर्न सक्छ ? साँच्चिकै भन्नुपर्छ, अरु कसैले यो कार्य गर्न सक्दैन,’ नेतान्याहूले आइतबार स्थानीय समाचार संस्थालाई दिएको अन्तर्वार्तामा बताए, ‘विश्वका अघिल्तिर को उभिन सक्छ ? अमेरिकी कंग्रेसलाई कसले सामना गर्न सक्छ ? कसले जनताको विचारलाई त्यसतर्फ लैजान सक्छ ?’
यसैबीच, उनले भ्रष्टाचारको अनुसन्धान आफूलाई कमजोर देखाउन मात्र गरिएको बताउँदै त्यसमा कुनै सत्यता नभएको बताए। पूर्वसैनिक ५९ वर्षीय गान्जले पनि पार्टी गठन गरी नेतान्याहूलाई चुनौती दिन कम्मर कसेर लागेका छन्। उनले प्रधानमन्त्री नेतान्याहू भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै अब आमजनताले नेतान्याहूलाई बिदा गर्ने समय आइसकेको बताए। उनले पश्चिम किनारालाई इजरायलमा गाभ्ने नेतान्याहूको योजना दक्षिणपन्थी मतदातालाई आफूतिर आकर्षित गर्ने ‘गैरजिम्मेवार’ प्रयास मात्र रहेको आरोप लगाए। गान्जले विश्वव्यापीरुपमा स्वीकार्य शान्ति सम्झौतालाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छ। पश्चिम किनाराका बस्ती र त्यहाँको सुरक्षा जिम्मा इजरायलले गर्नुपर्ने धारणा उनको छ। उनले कुनै पनि किसिमको एकपक्षीय कदम नचाल्ने स्पष्ट गरेका छन्। ‘अहिले परिवर्तनको आवश्यकता छ र परिवर्तनको अवसर पनि प्राप्त भएको छ,’ गान्जले इजरायली सेनाको रेडियोमा बोल्दै भने, ‘इजरायलले एकता, सम्बन्ध र आशा जगाउनुपर्ने आवश्यकता छ, पराकाष्ठाको राजनीति अहिलेको आवश्यकता होइन।’ गान्जले दुई जना पूर्वसैनिक प्रमुखहरु र पूर्वअर्थमन्त्री याइर लापिडलाई पनि साथमा लिएका छन्। उनीहरु राज्य सञ्चालन र प्रशासनमा निकै अनुभवी मानिन्छन्।

जनमत सर्वेक्षणले नेतान्याहूको लिकुड पार्टी र गान्जको ब्लू एन्ड ह्वाइट पार्टीले बराबर स्थान प्राप्त गर्नसक्ने देखाएका छन्। सर्वेक्षणमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न नसक्ने देखिएको छ। दुवैले ३०–३० स्थान प्राप्त गर्नसक्ने सम्भावना रहेकाले दुवै पार्टीले सरकार गठनका निम्ति अरु साना दल र स्वतन्त्र उम्मेदवारको सहयोग लिनु पर्नेछ। साना दक्षिणपन्थी पार्टीले नेतान्याहूलाई समर्थन गर्ने सम्भावना रहेकाले पनि अबको प्रधानमन्त्री पनि उनी नै हुने सम्भावना छ। तर विगतमा भएका जनमत सर्वेक्षणका नतिजा नमिलेकाले अहिल्यै चुनावी अडकल गर्न कठिन छ। चुनावका दिनसम्म पनि निर्णयमा नपुगेका मतदाताको संख्या ठूलो रहेका छन्। नेतान्याहूले विजय हासिल गरेमा इजरायलका संस्थापक डेभिड बेन–गुरिअनकै समकक्षमा उनले इजरायलको सबैभन्दा बढी समय नेतृत्व गर्ने अवसर प्राप्त गर्नेछन्। नेतान्याहू १३ वर्ष प्रधानमन्त्री रहिसकेका छन्। चुनावमा विजयी भए पनि उनमाथि भ्रष्टाचारको आरोपमा अदालतमा मुद्दा पर्ने सम्भावना छ। महान्यायाधीवक्ताले नेतान्याहूमाथि ठगी, धोखाधडी र विश्वासघातको नाममा अदालतमा मुद्दा दायर गर्ने बताइसकेका छन्। अदालतमा मुद्दा दायर भए पनि उनले राजीनामा गर्नु पर्ने भने छैन। संविधानअनुसार अदालतबाट दोषी प्रमाणित भएमा मात्र प्रधानमन्त्रीको पद रिक्त हुन सक्दछ।
 

प्रकाशित: २७ चैत्र २०७५ ०४:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App