coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पाँच खेल बुधबारबाट

नेपालगन्ज– औपचारिक उद्घाटन वैशाख ५ गते हुने आठौं राष्ट्रिय खेलकुदका ३५ खेलमध्ये पाँच खेल बुधबारबाट प्रदेश पाँचबाहेकका सहरमा पनि सुरु हुँदै छन्। पाँचमध्ये स्क्वास प्रदेश ३  स्थित ललितपुरको स्क्वास एकेडेमी सातदोबाटोमा हुँदै छ भने अन्य खेल प्रदेश ५ कै विभिन्न स्थानमा हुँदै छन्। टेबल टेनिस दाङस्थित घोराही कभर्डहलमा, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगन्जको मंगलप्रसाद उमाविमा पुरुष हक्की र बुटवलमा लन टेनिस हुनेछन्। महिला हक्की भने नेपालगन्जको खजुरास्थित शुक्र माविमा चैत ३० गतेदेखि मात्र सुरु हुनेछ। उद्घाटनअघि यी पाँच खेलसहित विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्नेछ। 

बुधबार हुने खेलबाहेक बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराते, साइक्लिङ, फेन्सिङ र गल्फ उद्घाटनपूर्व सकिनेछ। आठौं राष्ट्रिय खेलकुदमा विभिन्न ३५ खेल समावेश छन्। बृहत् राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलो पटक सहभागी हुँदै छ। आठौं राष्ट्रिय खेलकुदमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुनेछन्। ३ सय ७२ स्वर्ण, त्यत्ति नै रजत र ५ सय ६३ कांस्यका लागि भिडन्त हुनेछ।

स्क्वासमा दुई प्रदेशले नखेल्ने 

ललितपुरमा सञ्चालन हुने स्क्वासमा सात प्रदेशमध्ये दुई प्रदेशले सहभागिता जनाउने छैनन् भने विभागीय टोलीबाट त्रिभुवन आर्मीको सहभागिता रहने छैन। प्रदेश १, २, ३, ४, ५, नेपाल प्रहरी र एपिएफ क्लबबाट २४ पुरुष र ५ महिला गरी २९ खेलाडीले सहभागिता जनाउँदै छन्। पुरुष÷महिला एकल तथा पुरुष टिम इभेन्ट गरी ३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। स्क्वास वैशाख २ गते सम्पन्न हुनेछ।

हक्की मा ९ टिमको सहभागिता

हक्कीको पुरुषमा सातै प्रदेश, साबिकको विजेता त्रिभुवन आर्मी र नेपाल पुलिससहित ९ टोलीले सहभागिता जनाउनेछन् भने एपिएफले सहभागिता जनाएको छैन। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ। फाइनल वैशाख ४ गते हुनेछ। महिला हक्की भने चैत ३० गतेदेखि नेपालगन्जको खजुरास्थित शुक्र माविमा हुनेछ। सहभागी ६ टोलीले दुई समूहमा रहेर लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीमा प्रदेश १, २, ३, ४ र ७ तथा आर्मी छन्। सातौं राष्ट्रिय खेलकुदमा प्रदेश– ७ च्याम्पियन बनेको थियो। फाइनल वैशाख ५ गते हुनेछ।

लन टेनिसमा एनआरएनको पनि सहभागिता

बुटवलमा हुने लन टेनिसमा प्रदेश ३, ४, ५, आर्मी, एपिएफ र एनआरएनको पनि प्रतिनिधित्व हुँदै छ। पुरुष÷महिला एकल, युगल र टिम तथा मिक्स युगल गरी ७ स्पर्धामा भिडन्त हुनेछ। चैत २ गतेसम्म चल्ने प्रतियोगतामा २८ पुरुष र १५ महिला खेलाडीले सहभागिता रहनेछ। त्यसमा एनआरएनएबाट ३ पुरुष खेलाडी संरक्षकभूषण वज्राचार्य र अमृत पौडेल (दुवै अस्ट्रेलिया) तथा दावा शेर्पा (थाइल्यान्ड) ले प्रतिस्पर्धा गर्नेछन्।

कुस्तीमा ९ टिम

कुस्तीमा पुरुष÷महिलातर्फ समान १०–१० गरी २० स्पर्धामा खेल हुनेछ। सातै प्रदेश र दुई विभागीय (आमी÷प्रहरी) गरी ९ टिमले भाग लिनेछन्।

टेबल टेनिस 

टेबल टेनिसमा सात प्रदेश, तीन विभागीय टोलीबाट १ सय २० खेलाडीले प्रतिस्पर्धा  गर्नेछन्। पुरुष÷महिला एकल, युगल र टिम तथा मिक्स युगल गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। 

प्रकाशित: २७ चैत्र २०७५ ०३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App