८ वैशाख २०८१ शनिबार
कला

खेतमा धर्मेन्द्र, चुनावमा हेमा

मुम्बई (एजेन्सी)– बलिउडकी ‘ड्रिम गर्ल’का रूपमा परिचित हेमा मालिनी यतिबेला चुनावी प्रचारमा व्यस्त छिन्। हेमाले जनतामाझ पुगेर भोट मागेसँगै उनीहरूसँग घुलमिल हुनकै लागि केही समय अघि खेतमा पुगेर धान नै काटिन्। जुन तस्बिर सामाजिक सञ्जालमा भाइरल नै भयो। हेमा चुनावी अभियानमा व्यस्त भइरहँदा उनका अभिनेता पति धर्मेन्द्र चाहिँ के गरिरहेका छन् भन्ने जनचासो सर्वत्र छ। राजनीति र फिल्मको व्यस्त जीवनबाट अलग्गिएका धर्मेन्द्र अहिले सादा जीवन बिताइरहेका छन्। सादा जीवन बिताइरहे पनि समयसमयमा उनी सामाजिक सञ्जालमा आफूले गरिरहेको कामको भिडियो तथा तस्बिर राखेर शुभचिन्तकलाई आफ्ना गतिविधिबारे जानकारी दिइरहन्छन्। उनको भिडियो र तस्बिर हेर्ने शुभचिन्तकको संख्या पनि उच्च छ। हालै मात्र धर्मेन्द्रले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेका छन्। जहाँ उनले आफ्नो खेतमा कान्छा छोरा बबी देवलले लगाएको एभोकार्डो नामको विदेशी जातको फलबारे जानकारी दिइरहेको देखिन्छन्।

फल देखाउँदै भिडियो अगाडि बोलिरहँदा उनी निकै खुशी देखिन्छन्। भिडियोमा धर्मेन्द्र खेतमा बसिरहेको देखाइएको छ। धर्मेन्द्र हालका दिनमा गाउँमा किसानसँग खेतीपाती गरिरहेका छन्। भिडियोमा धर्मेन्द्रले किसानलाई केही कुरा सिकाइरहेको देखाइएको छ। जहाँ किसानहरू ताजा बैगुन र रातो टमाटर टिपिरहेको प्रष्ट देख्न सकिन्छ। उनको भिडियो हेरेका शुभचिन्तकले सामाजिक सञ्जालमा ‘रियल हिरो’ र ‘आफ्नो खुट्टामा उभिएका एउटा सशक्त व्यक्ति’ भनेर प्रतिक्रिया दिइरहेका छन्। धर्मेन्द्र पछिल्लोपटक फिल्म ‘यमला पगला दीवानाः फिर से’मा देखिएका थिए। यो फिल्ममा उनीसँगै दुई छोरा सनी र बबीको पनि अभिनय थियो। धर्मेन्द्र र हेमा चाँडै नै पुनः एकपटक हजुरबुवा हजुरआमा बन्दैछन्। उनीहरूको ठुली छोरी तथा अभिनेत्री इशा देवल दोस्रो सन्तानको आमा बन्दैछिन्। 

धर्मेन्द्रले आफ्नो फिल्मी करियरमा एकसे एक हिट फिल्म दिएका छन्। उनी कहिलेकाँही मात्र फिल्मसँग सम्बन्धित सार्वजनिक कार्यक्रममा उपस्थित हुने गर्दछन्। तर हालका दिनमा सादगी जीवन बिताउँदै प्रकृतिमा रमाइरहेका छन्। धर्मेन्द्र सन् २००४ देखि २००९ सम्म भारतीय जनता पार्टीको लोकसभा सांसद थिए।  धर्मेन्द्रको जन्म पञ्जाबको लुधियानाको नसराली गाउँमा सन् १९३५ मा भएको हो। बलिउडको ‘ही मेन’का रूपमा चिनिने उनको वास्तविक नाम धरमसिंह देवल हो। उनले सन् १९६० मा अर्जुन हिंगोरानीको फिल्म ‘दिल भी तेरा हम भी तेरे’बाट बलिउडमा ‘डेब्यू’ गरेका थिए। उनले सन् १९७० को दशकको मध्यमा विश्वकै सबैभन्दा आकर्षक पुरुषको उपमा पाएका थिए। उनी ‘वल्र्ड आयरन मेन अवार्ड’बाट पनि सम्मानित भइसकेका छन्। उनको लोकप्रिय फिल्ममा ‘सत्यकाम’, ‘खामोशी’, ‘शोले’, ‘क्रोधी’ र ‘यादों की बारात’लगायत पर्दछन्।

 

प्रकाशित: २७ चैत्र २०७५ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App