coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कर्मचारी पदस्थापना तत्काल पूरा नहुने

काठमाडौं - कर्मचारी समायोजनपछि धेरै कर्मचारी संघमै जाने देखिएका कारण अर्काे व्यवस्था नभएसम्म स्थानीय तहमा कार्यरत कर्मचारी कार्यरत स्थानमै बस्नुपर्ने भएको छ। समायोजनमा अधिकांश कर्मचारी संघमै परेकाले समायोजन भएको ठाउँमा लगत्तै हाजिर गराउँदा स्थानीय तह रित्तिने देखिएपछि सरकारले यस्तो उपाय खाजिएको हो। कर्मचारी दबाबका कारण संघमा आवश्यकभन्दा दोब्बर दरबन्दी सिर्जना गरी अधिकांश कर्मचारी संघमै समायोजन गरिएको छ।

स्थानीय तहमा कर्मचारी पूर्तिको नयाँ व्यवस्था नभएसम्म सो तहमा कार्यरत कर्मचारीको तत्काल संघमा पदस्थापना नहुने भएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेशकुमार अधिकारीले कर्मचारी समायोजन भएको घोषणा भए पनि स्थानीय तहमा कार्यरत कर्मचारी समायोजन भएको पदमा तत्काल पदस्थापन नहुने बताए। ‘स्थानीय तहमा कार्यरत धेरै कर्मचारीको संघमा समायोजन भएको छ,’ सहसचिव अधिकारीले नागरिकसँग भने ‘ती कर्मचारी तत्काल संघमा पदस्थापना गर्दा स्थानीय तहको सेवा अबरुद्ध हुन जान्छ, त्यसकारण स्थानीय तहमा आवश्यक कर्मचारीको अर्काे व्यवस्था भएपछि मात्रै उनीहरूको संघमा पदस्थापना हुन्छ।’ स्थानीय तहमा कर्मचारी पूर्ति गर्न लोकसेवा आयोगले छिट्टै पदपूर्तिको प्रक्रिया अघि बढाउने भएको छ।

सहसचिव अधिकारीले समायोजन भई संघमै कार्यरत कर्मचारी पदस्थापन भइसकेको बताए। उनका अनुसार स्थानीय तहमा समायोजनमा परेका कर्मचारीको समायोजन पनि दुई साताभित्र टुंग्याइने छ। अधिकारीले प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको समायोजनको पत्र सम्बन्धित स्थानीय तह÷प्रदेशमै पुग्ने बताए।

सरकारले १० दिन पहिले संघ, प्रदेश र स्थानीय तह गरी तीनवटै तहमा कर्मचारी समायोजन पूरा भएको घोषणा गरेको थियो। निजामती सेवातर्फ कार्यरत १ लाख ३१ जना कर्मचारी संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरिएको थियो। तर समायोजन सकिएको घोषणा गरे पनि स्वास्थ्य सेवातर्फका कर्मचारीको विवरण भने अझै सार्वजनिक हुन सकेको छैन। साथै स्थानीय तहअन्तर्गत गरिएको समायोजनमा असहमति जनाउँदै सरकारी चिकित्सकहरू आन्दोलनमा छन्। चिकित्सकहरूको आन्दोलनका कारण मुलुकभरका स्वास्थ्य संस्थाको काम ठप्प छन्।

प्रकाशित: २७ चैत्र २०७५ ०३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App