८ वैशाख २०८१ शनिबार
समाज

सांसद लिंङदेनलाई ज्यान मार्ने धम्की

काठमाडौं - झापाबाट निर्वाचित संघीय सांसद राजेन्द्र लिंङदेनलाई मार्न भन्दै ५० लाखको सुपारी दिएको म्यासेज पठाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्यानपावर एजेन्ट बनेर काम गर्दै आएका झापाका तिलकदास पराजुली र हुम्लाका प्रदीप रोकायलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। झापाको क्षेत्र नं ३ बाट प्रतिनीधि सभामा निर्वाचित भएका लिङदेनले सोमबार राती आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई मार्न कोही कसैले ५० लाख खर्च गरिसकेको आशय व्यक्त गरेपछि उनलाई म्यासेज पठाउने व्यक्ति पक्राउ परिसकेको खुलेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता एसपी उमाप्रसाद चर्तुर्वेदी अनुसन्धानको क्रममा दुई जनालाई पक्राउ गरेको पुष्टि गरे। उनले सांसद लिङदेन सहित अन्य ५ जनालाई धम्काएर पैसा असुल्न खोजेको विषयमा सूचना आएको र सोही विषयमा अनुसन्धान गर्न दुई जना पक्राउ गरेको बताए। उनका अनुसार टर्की, मंगोलिया र मलेसिया पठाउने भन्दै ६ जनाबाट १६ लाख उठाएपछि भाग्दै हिँडेका पराजुलीले भारतमा पुगेर ह्वाट्सएप मार्फत सो म्यासेज गरेका थिए। सांसद लिङदेनका अनुसार केही दिन अघि सांसद मोबाइलमा फोन आयो। अनि म्यासेज पनि। म्यासेजमा ५० लाख रुपैयाँ दिइसकिएको र जुनसुकै बेला मार्नुपर्ने बाध्यता रहेको भन्दै ज्यान मार्ने धम्की दिइएको थियो।

अनुसन्धानको लागि दुई जना पक्राउ

सांसद लिङ्देनलाई फिरौती रकम नदिए घर बाहिरबाट निस्कने बित्तिकै मार्नेसम्मको धम्की दिइएको थियो। उनले आफूमाथिको धम्कीबारे ट्विटसमेत गरेका थिए। ‘एक हप्ताजति लगातार म्यासेज र फोन आयो त्यसपछि मैले प्रहरीमा सो अनुसन्धान गर्न आग्रह गरे’, उनले नागरिकसँग भने। उनका अनुसार प्रहरीले म्यासेज पठाउने मानिसलाई पक्राउ गरेपछि मात्रै सो बारे सार्वजनिक गरेका थिए। सिआइवीका अनुसार पक्राउ पर्ने डरले भाग्दै हिँडेका पराजुलीले ा हुम्लाका प्रदीप रोकायलाई भेटेर उनको समेत सीम प्रयोग गरेका थिए। उनले प्रदीपबाट सिमकार्ड लिएको प्रहरीले जनाएको छ। त्यही सीम प्रयोग गरेर सांसद लिङदेनलाई धम्क्याएको प्रहरीले जनाएको छ। त्यही आधारमा प्रदीपलाई पनि पक्राउ गरेर प्रहरीले अनुसन्धान शुरु गरेको हो। ब्युरोले सांसदलाई धम्क्याएको सूचना पाएलगत्तै हृवाट्स एप चलाउन प्रयोग भएको नम्बर संकलन गरेको थियो। त्यसैका आधारमा रोकाय पक्राउ परेका थिए।

प्रहरीका अनुसार पराजुलीले सांसद लिङदेनका अलावा अन्य दुई महिलालाई निजी सम्बन्धका तस्बिर र भिडियो सार्वजनिक गर्ने भन्दै पैसा मागेका थिइ। त्यस्तै पराजुलीले अन्य दुईलाई पनि धम्काएर पैसा असुल्न खोजेको प्रहरीले जनाएको छ। मंगोलिया, टर्की, र मलेसिया मानिस पठाउने भन्दै धेरैजनासँग पैसा उठाएको र सो पैसा डुवेपछि केही समय उनी भारत पलायन समेत भएका थिए। सोमबार राती सांसद लिङदेनले के कसैले पचास लाखको लोभमा म माथि गोली चलाउन सक्ला ? के मलाई गोली हनाउन पचास लाख खर्च गर्ने कोही होलान त ? के कसैले गोली ठोक्लाकी भनेर राजेन्द्र लिङदेन बाटो छोडेर हिंडछ भनेर कसैले सोचेको होला ? के निर्धारित मिति भन्दा एकैक्षण पर बाँच्ने ताकत कसैसंग होला ? भन्ने प्रश्न गर्दे ट्वीट गरेका थिए। त्यसपछि उनलाई कसले के प्रयोजनका लागि मार्ने उदेश्य राखेको हो भन्दै सोधखोज शुरु भएको थियो।

प्रकाशित: २७ चैत्र २०७५ ०१:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App