७ वैशाख २०८१ शुक्रबार
खेल

राजर्षि जनक कप : हिमालयनविरुद्ध एपिएफको कठिन जीत

सर्लाही– सर्लाहीको बागमतीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ। हिमालयन शेर्पा क्लब काठमाडौंलाई ० का विरुद्ध १ गोल गर्दै एपिएफ ले कठिन जीत निकालेको हो।

अत्यन्त प्रतिस्पर्धात्मक खेलको ७१औं मिनेटमा एपिएफका जर्सी नं. ८ का सन्तोष श्रेष्ठले निर्णायक १ मात्र गोल गर्दै टिमलाई जीत दिलाए। एपिएफका कप्तान टोप विष्टले गरेको प्रहार हिमालयनका रक्षकको खुट्टामा लागेर फर्किएको बल नियन्त्रणमा लिँदै सन्तोषले जाली चुमाएका हुन्। श्रेष्ठले डिबक्स भित्रबाट प्रहार गरेको बलले जाली चुम्दा हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीले भेउ नै पाएनन्। 

मध्यान्तर हुनु ५ मिनेट अगाडि हिमालयन शेर्पाका जर्सी नं. १९ का विजय श्रेष्ठले गरेको सशक्त प्रहार एपिएफको गोलपोष्टको क्रसबारमा लागेर फर्किएको थियो। त्यस्तै जर्सी नं. २१ का अफ्रिकन खेलाडी प्याट्रिक प्राइभेटले डिबक्स भित्रबाट सशक्त प्रहार गरेको बल पनि गोलपोष्ट भन्दा केही परबाट बाहिरिदा हिमालयन शेर्पाले अग्रता लिने मौका गुमायो। ऋाफ्ना खेलाडीले पटक–पटक गोलपोष्टमा सशक्त प्रहार गरे पनि गोलमा परिणत हुन नसक्दा हिमालयन शेर्पाले अन्ततः एपिएफलाई १–० को नतिजा सुम्पन बाध्य भयो। ३ जना अफ्रिकन खेलाडीसहित मैदानमा उत्रिएको हिमालयन शेर्पा पटक–पटक उसका खेलाडीले गरेको गोलपोष्ट आक्रमण असफल हुँदा अभागी सावित हुँदा प्रतियोगिताबाटै बाहिरिएको छ । 

एफिएफका खेलाडीले समेत पटक–पटक हिमालयन शेर्पाको गोलपोष्टमा गरेको आक्रमण सफल भएको थिएन। सन्तोषले गरेको एकमात्र गोलका कारण एफिएफले हिमालयन विरुद्ध कठिन जीत हात लगायो। मंगलबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै एपिएफएका सेन्टर डिफेन्स राजन गुरुङ्ग म्यान अफ दि म्याच घोषित भए। अण्डर नाइन्टिन समूहका राष्ट्रिय खेलाडी समेत रहेका गुरुङ्गले नगद १० हजार हात पारे। 

हिमालयन विरुद्ध कठिन जीत हात लागेको एफिएफका प्रशिक्षक सुदिप श्रेष्ठले स्वीकारे। ‘आज मौसमले गर्दा केटाहरुले मध्यान्तर अघि खेल्नै सकिरहेका थिएनन्’, श्रेष्ठले भने, ‘दोस्रो हापबाट भने केटाहरु केही लयमा फर्किए र कठिन रुपले जीत हाँसिल भयो।’ 

प्रथम पुरस्कार १० लाख नगद सहित राजर्षि जनक कप तथा दोश्रो पुरस्कार ५ लाख रुपैंया रहेको प्रतियोगिता अन्तर्गत बुधबार आयोजक बागमति युवा क्लब निलो र रुस्लान थ्रिस्टार क्लब काठमाडौंबीच खेल हुने आयोजक समितिका संयोजक दिपक लामाले जानकारी दिए। 

प्रकाशित: २६ चैत्र २०७५ १५:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App