सम्झनामा चैत २६

‘२६ गते बहुदल आएको थिएन’

मङ्गलबार, २६ चैत २०७५, २१ : ०७ नागरिक

- राधाकृष्ण मैनाली 

२०४६ चैत २६ को साँझ हामी वार्ताका लागि राजदरवार पुगेका थियौं। राजा वीरेन्द्र्र बीचमा बसेका थिए। बहुदलको पक्षमा आन्दोलनमा लागेका दलका प्रतिनिधि हामीलाई एकातर्फ राखियो। अर्कोतर्फ प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र उनको मन्त्रिपरिषद् बस्यो। 

यो वार्ताबाट राजनीतिक दलमाथिको प्रतिबन्ध हटाउने निर्णय गरियो। यसका साथै संविधानमा निर्दल शब्द हटाउन राजा तयार भए। अहिले चर्चा गरिएजस्तो यही वार्ताबाट बहुदलीय व्यवस्थामा जाने घोषणा भने भएको होइन। वार्तामा कांग्रेसको तर्फबाट कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला सहभागी हुनुभएको थियो। संयुक्त वाम मोर्चाको तर्फबाट सहाना प्रधान र म सहभागी भएका थियौं। २०४६ सालको परीवर्तनका लागि वार्तामा सहभागी राजा वीरेन्द्र्रसहित भट्टराई, कोइराला र प्रधान बितिसक्नुभयो। म मात्र त्यो बेलाको ज्यूँदो साक्षीको रूपमा रहेको छु। सरकार पक्ष अर्थात् राजाका मन्त्रीका सदस्यहरू पञ्चायतकालका मन्त्रीहरू अहिले जिवित नै हुनुहुन्छ। 

राजाले अन्तिममा भने, ‘यी विषयमा छलफल गरौँला। अहिलेलाई संविधानबाट निर्दलीयता हटाउने समझदारी भएको होइन किसुनजी?’ राजाकोे यस्तो कुरा सुनेपछि किसुनजीले टाउको हल्लाए।

हामीले २०४६ साल फागुन ७ गतेबाट आन्दोलन थालेका थियौं। यो नेपाली कांग्रेस र संयुक्त वाममोर्चाले थालेको संयुक्त आन्दोलन थियो। आन्दोलन चैत २४ गतेसम्म आइपुग्दा देश तातेको थियो। वहुदलको पक्षमा जताततैवाट आवाज उठेको थियो। त्यहीबीचमा चैत २४ गते प्रधानमन्त्री मरिचमान सिंहले राजीनामा दिए।

राष्ट्रिय वाम मोर्चामा मनमोहनको नेतृत्वको माक्र्सवादी, झापाली नेतृत्वको माले, रोहित नेतृत्वको नेपाल मजदुर किसान पार्टी, तुल्सीलाल नेतृत्व नेकपा, विष्णुबहादुर मानन्धर नेतृत्वको  नेकपा, कृष्णराज बर्माको नेकपा र निर्मल लामाको चौथो महाधिवेशन सहभागी थिए। भक्तबहादुर नेतृत्वको मशाल वाम मोर्चामा सहभागिता थिएन।

सात संगठनको वाम मोर्चा र नेपाली कांग्रेससँग २२ माघमा कार्यरत एकता भयो। कार्यगत एकतापछि आन्दोलनको मिति तोकिएको थियो। त्यही समयमा भारतीय नेताहरू पनि नेपाल आएका थिए। चाक्सिबारीस्थित गणेशमानको घर बाहिर कांग्रेसको महाधिवेशन भएको थियो। हामी पनि त्यही भेला भएका थियौं। मोर्चा र कांग्रेसका बीचमा आन्दोलनलाई कसरी अगाडि लैजाने भन्ने विषयमा छलफल भएको थियो। 

मालेको तर्फबाट म र झलनाथ खनाल वार्तामा सहभागी भएका थियौं। झलनाथ खनाल त्यतिबेला भूमिगत थिए। हामी र कांग्रेसका गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद, वासु रिमाल, ओमकार श्रेष्ठ, योगप्रसाद उपाध्याय बैठकमा सहभागी हुनुभएको थियौं। झलनाथको त्यतिखेरको नाम नरेश शर्मा थियो।

पाटनमा रहेको रिसालको घरमा हामीले भूमिगत रूपमा बैठक बसेका थियौं। हामीले त्यहाँ आन्दोलनको बेला दरवारले वार्ताका लागि बोलाउन सक्ने विषयमा छलफल गरेका थियौं। जसलाई बोलाए पनि एक्लै दरवार नजाने भन्नेमा समझदारी भएको थियो। एक आपसमा खबर गरेर मात्र दरवार जाने सहमति भयो। गणेशमानजीले लौरो ठटाई–ठटाई कोही पनि एक्लै दरवार जाने छैन भनेर खबरदारी गर्नुभएको थियो।

हामीबीच निरंकुशताको विरोधमा लड्ने सहमति भएको थियो। हामी त्यतिबेला गणतन्त्रका लागि लडेका थिएनौं। राजाको निरंकुशता हटाएर संवैधानिक राजतन्त्रसहितको संसदीय व्यवस्था स्थापना गर्ने हाम्रो समझदारी भएको थियो। पञ्चायत राखेर वा राजतन्त्र हटाएर सम्झौता हुँदैन भन्ने विषयमा हामीले सहमति जनाएका थियौं। यो सम्झौतापछि कांग्रेसले अरू वामपन्थी पार्टीहरूसँग पनि वार्ता गर्यो। वाम मोर्चा गठनको क्रममा हामीले पनि यो सम्झौता सबै कम्युनिष्ट पार्टीलाई बताएका थियौं।

संवैधानिक राजतन्त्रको स्थापनालाई बटमलाइन बनाएर राष्ट्रिय जनआन्दोलन गर्ने सम्झौता लिखित रूपमा भएको भने होइन। तर गणेशमानले लौरो ठटाएर यसलाई वैधानिकता दिनुभएको थियो। उहाँले सबैलाई यी विषयमा सहमति जनाउनुहुन्छ भने मात्र सँगै अगाडि बढ्न सकिन्छ भन्नुभएको थियो।

कांग्रेसले जनआन्दोलन अगाडि बढाउन जगन्नाथ आचार्यको संयोजकत्वमा एक्सन कमिटि बनायो। त्यसमा शैलजा आचार्य, ओमकारप्रसाद श्रेष्ठ, बलबहादुर केसी र श्रीराम आचार्य सदस्य रहनुभएको थियो। २२ सदस्यीय वाममोर्चाको तर्फबाट सात सदस्य सचिवालय बनाइएको थियो। त्यसको नेतृत्व सहाना प्रधानले गर्नुभयो। उहाँ पक्राउ परेपछि म त्यसको कार्यवाहक भए। श्याम कोजु, भीमप्रसाद उपाध्याय, कृष्णराज बर्मा, निलाम्बर आचार्य र लिलामणि पोखरेल सचिवालका सदस्य हुनुहुन्थ्यो।     

फागुन एक गते सहानाजी पक्राउ पर्नुभयो। त्यसैदिन गणेशमान र कृष्णप्रसाद पनि घरमै नजरबन्द हुनुभयो। मनमोहन अधिकारी पनि पक्राउ पर्नुभयो। हामीले पहिल्यै ११ फागुनसम्मका लागि आन्दोलनका कार्यक्रम तोकेका थियौं। त्यसपछि हाम्रो सचिवालय र कांग्रेसको एक्सन कमिटिबीच वार्ता भयो। शैलजा आचार्यको घरमा हामी बैठक बसेका थियौं। उहाँ जहाँ पायो त्यहीँ जानु हुन्नथ्यो। बलबहादुरको डेरामा पनि हामीले बैठक बस्यौं।

महिला भएकाले उहाँ जहाँसुकै जान मान्नुहुन्नथ्यो। उहाले जहाँ आइज भन्यो त्यहीँ जानुपथ्र्यो। हामी राति १÷२ बजे उहाँले भनेको ठाउँमा पुग्थ्यौं। बैठक बसेर राति नै आफ्नो सुरक्षित स्थानमा फर्किन्थ्यौं। गणेशमानजीको घरमा त्यतिबेला पनि टेलिफोन र कर्डलेस थियो। तल प्रहरीले टेलिफोन रुँघेर बस्थ्यो। उहाँले कसरी–कसरी फोनलाई प्रहरीले थाहा नपाउने कर्डलेसमा जोड्नुभएको थियो। राति सुत्न गएपछि उहासँग मेरो संवाद हुन्थ्यो। म पनि त्यतिबेला फोन भएको घरमा बस्थेँ। उहाँको नम्बर अहिले पनि मलाई कन्ठै छ– २२३३६६।

नेपाली कांग्रेसका साथीहरूले उहाँलाई वास्तविकता बताउँदैनथे। कहिले सबै आन्दोलन कांग्रेसले हाँक्यो भन्थे। कहिले वाम मोर्चाले खायो भन्थे। मैले भने जे थाहा पाएको छु त्यहि खबर उहाँलाई गर्थेे। मेरो खबरले उहाँलाई आन्दोलनका कार्यक्रम बनाउन सजिलो बनायो। अगाडि के गर्ने भन्ने विषयमा निर्णय गर्न सघायो। 

आन्दोलन थाले पनि सहज रूपमा अगाडि बढेको थिएन। आन्दोलन विस्तारै शिथिलता आएको थियो। १० चैतमा आउँदा त काठमाडौंमा आन्दोलन निकै कमजोर देखियो। प्रदर्शन कमजोर देखेपछि पञ्चायतका पक्षधरहरूले खुसी मनाएका थिए। त्यो दिन काठमाडौंमा मुस्किलले १५/२० जनाको मात्र जुलुस निस्किएको थियो। 

आन्दोलन कमजोर हुँदै गएको देखेपछि हामी आत्तियौं। के गर्ने भन्ने विषयमा निर्णय गर्न कठिन भयो। हामीले त्यो बेला हरेक दिन कुन कार्यक्रममा को जाने भन्ने निर्णय गर्दथ्यो। हाम्रो बीचमा भएको सहमतिलाई पार्टी कार्यकर्तालाई पठाउथ्यौं। चैत १० गतेसम्म आउदा धेरै नेताहरू पक्राउ परिसकेका थिए। पञ्चायतले आन्दोलन वामपन्थीको भागमा गयो भनेर प्रचार गर्न थाले। उनीहरूले अब वामपन्थीले गणतन्त्र ल्याउँछन् भनेर हल्ला गरे। कांग्रेस सक्कियो भनेर हल्ला गर्न सरकारी मिडिया प्रयोग भए।
गणेशमानजीलाई हरेक दिन मैले प्रष्ट कुरा बताउँथेँ। उहाँ अडानमा बस्नुहुन्थ्यो। उहाँ नभएको भए सायद आन्दोलन नै हुन्नथ्यो। आन्दोलनकै बीचमा विराटनगरका १०/१५ वटा कुकुरको घाँटिमा राजा मुर्दावादा, गणतन्त्र जिन्दावाद लेखेका कार्ड झुन्डाएर छाडे। प्रहरीलाई ती कुकुर नियन्त्रणमा लिन हम्मे–हम्मे भयो। यो घटनाले एक्सन कमिटिमा बबाल भयो। 

शैलजाले यो सवै वामपन्थीले गरेको हो भन्नेभयो। ‘तपाईहरू गणतन्त्रमा जान खोज्नुभयो, हामी गणतन्त्रमा जाँदैनौं, आन्दोलन रोक्नुपर्छ’ भनेर उहाँ कड्किनुभयो। बलबहादुर केसी पनि कड्किनुभयो। अन्तिममा मैले जगन्नाथ जीलाई भनेँ– ‘आन्दोलन गणेशमान जीले सुरु गर्नुभएको हो। हामीले उहाँसँग हात मिलाएको हो। उहाँले आन्दोलन रोक्नु भनेपछि मात्र आन्दोलन रोकिन्छ।’

संयुक्त कमिटीले आन्दोलन गरेको हो। संयुक्त कमिटिको नेता गणेशमान हो। तपाईंहरूले आन्दोलनको आह्वान गरेको पनि होइन। रोक्ने अधिकार पनि छैन भनेर म कड्किए। अन्तिममा जगन्नाथजीले शैलजालाई गाली गर्नुभयो। 

उहाँले भन्नुभयो– ‘तिमीले भनेर आन्दोलन रोकिँदैन। कांग्रेसमा पनि गणतन्त्रवादी छन्। आन्दोलनमा गणतन्त्र खोज्ने पनि छन्। मैनालीजीले स्पष्टिकरण दिएपछि सबै कुरा सकियो। तिमीले बोलेको कुरा फिर्ता लेऊ।’

उहाँले त्यसो भनेपछि शैलजाले तपाईले भनेपछि भयो भनेर सानो स्वरमा बोलिन।

आन्दोलन ब्रेक हुनबाट बच्यो। गिरिजाप्रसाको नजिक रहेका मानिसहरू तिललाई पहाड बनाउन माहिर थिए। बेला–बेलामा बखेडा झिकेर आन्दोलन फिर्ता लिनुपर्छ भन्थे। १० गतेपछि मानिसहरू खुलेर बाहिर आउन सक्ने अवस्था भएन। आन्दोलन कमजोर भइसकेको देखेपछि हामी १३ गते फेरि बैठक बस्यौं। त्यसपछि आन्दोलनको कार्यक्रम फेरियो। सडक खाली गरियो। ब्ल्याकआउट गर्न थालियो। थाल ठटाउने कार्यक्रम ल्यायौं। दमनविरुद्ध सडकमा नगइकन आम जनतालाई आन्दोलनमा सहभागी बनाउने प्रयासमा लाग्यौं। आन्दोलनको यो तरिका दमनका बेला अफ्रिकातिर प्रयोग भएको थियो। 

बत्ति निभाउने कार्यक्रमले निकै प्रभावकारी रूपमा काम गर्यो। हामीले १६ चैतबाट बत्ति निभाउने कार्यक्रम थालेका थियौं। यस्तो कार्यक्रमले आन्दोलनमा आम जनताको सहभागिता बढायो। बत्ति निभाएर होहल्ला हुन थालेपछि प्रहरीले दमन बढायो। त्यसपछि तनावपूर्ण आन्दोलनको सुरुवात भयो। १८ चैतमा पाटन पूरै आन्दोलनकारीको नियन्त्रणमा आयो। पाटन दरवार छेउको प्रहरी चौकिबाट हामीले प्रहरीलाई बाहिर निकाल्नुपर्यो।

प्रहरीले गोली चलाएन। प्रदर्शनकारीले प्रहरीमाथि आक्रमणको प्रयास गरे। आन्दोलनलाई हिंसात्मक रूपमा लैजान हुँदैन भन्ने थियो। पाँच दिनसम्म पाटन आन्दोलनकारीको कब्जामा थियो। चैत २४ गते चौमले नेपाल बन्दको आयोजना गरेको थियो। बन्द सोचेभन्दा बढी सफल भयो। काठमाडौं र पाटनमा हजारौं मानिस सडकमा आए। यसपछि दरवारले नयाँ तरीकाले सोच्न बाध्य भयो।

मोहनविक्रम नेतृत्वको ‘चौंथो महाधिवेशन’ले चैत २४ गतेलाई पहिल्यैदेखि आन्दोलन दिवसको रूपमा मनाउँथ्यो। अखिल छैठौंले पनि यही दिनलाई आन्दोलनको दिन मनाएको थियो। माले र त्यसको भ्रातृ संगठन अखिल पाचौंले भने चैत १४ लाई आन्दोलन दिवसका रूपमा मनाउँदै आएको थियो।

यही बीचमा भारतले नयाँ प्रस्ताव ल्यायो। उनीहरूको चाहना सुरक्षा र विदेश नीतिमा भारतको प्रभुत्व स्थापित गर्नु थियो। यो प्रस्ताव हामीले पछिमात्रै थाहा पायौं। त्यस्तो प्रस्ताव आएपछि तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले राजालाई भनेछन्, ‘मैले प्रधानमन्त्री पद छोड्छु।  राजनीतिक दलहरू नेपाली नै हुन्। हामीले नेपालीसँगै कुरा गरौं। विदेशीलाई पस्न नदिउँ।’

दलहरूसँग वार्ता गरेर समस्या समाधान गर्नुपर्छ भन्ने मरिचमानको तर्कले राजालाई वार्ताको विषयमा सोच्न बाध्य बनायो।
दलहरूसँग वार्ता गर्ने दरवारको निर्णयपछि मरिचमानले राजीनामा दिए। त्यतिबेला दलहरूसँग कुरा मिलाउने काममा काँध थाप्ने व्यक्तिहरू कोही भएनन्। अरू कसैले नमानेपछि लोकेन्द्रबहादुर चन्दले यो कामको जिम्मा लिए। त्यसपछि चन्दको नेतृत्वमा चार सदस्यीय मन्त्रिमण्डल बन्यो। २५ गते मन्त्रिमण्डलले शपथ लियो। त्यससँगै जेलमा भएका सबै नेतालाई छाडियो। नजरबन्द पनि हटाइयो।

२४ गतेपछि देशमा कफ्र्यू लागेको थियो। हामीले बैठक राख्न सक्ने अवस्था पनि थिएन। पद्मरत्न पनि छुट्नुभयो। उहाँलाई सरकारले गाडी दियो। सेनालाई भनेर उहाँले वाम मोर्चाका सबै नेतालाई आफ्नो घरमा भेला गर्नुभयो। २६ गते ११ बजेतिर मात्र हामी भारतीय दूतावाससँग जोडिएको उहाँको घरमा भेला भयौं।

यहि बीचमा सहानाजीको भेट कृष्णप्रसाद भट्टराईसँग भएछ। भट्टराईले राजाले वार्ता गर्न चाहेको बताउनुभएछ। सहानालाई एउटा कागज पनि दिनुभएछ। त्यो कागजमा संविधानबाट निर्दलीयतालाई हटाइनेछ भन्ने शब्द लेखिएको थियो। अच्युतराजले कांग्रेससँग वार्ता गर्ने जिम्मा लिएका थिए। पशुपति शमसेरलाई हामीसँग वार्ताको जिम्मा दिइएको रहेछ।

त्यतिबेला मेरो डेरा पाटनमा थियो। म त्यहाँ बस्दिनथेँ। अर्कै कार्यकर्ताको घरमा बस्थेँ। त्यहाँ टेलिफोन थियो। सरकारका मानिसहरूले म कहाँ बस्छु भन्ने थाहा पाउने कुरै भएन। झापाकै केशवकुमार बुढाथोकीले भर्खरै सहायक मन्त्रीबाट राजीनामा दिएका थिए। केशवले मेरो डेरामा फोन गरेछन्। छोरी लिलाले मेरो नम्बर दिइछन्। केशवले मलाई पशुपतिसँग कुरा गराए। पशुपतिले भने, ‘मैनालीजी दरवारले तपाईहरूसँग कुरा गर्न खोजेको छ।  तयारी अवस्थामा बस्नुहोला।’

हामी सबैले पद्मरत्नको घरमा भेला हुनुभन्दा पहिला नै दरवारको वार्ता गर्ने चाहना थाहा पाएका थियौं। दरवारको आसय के हो भन्ने चाहिँ हामीले अनुमान पनि गरेका थिएनौं। सहानाले ल्याएको चिर्कटोले दरवारको चाहना– बहुदलीय पञ्चायत भएको प्रष्ट पार्यो। 

यो हाम्रो माग थिएन। कांग्रेस र दरवारबीच भने त्यही विषयमा समझदारी भइसकेको रहेछ।

हाम्रो माग बहुदलीय पञ्चायत थिएन। यो प्रस्ताव आन्दोलन थाल्नुभन्दा पहिलाको सम्झौताविपरीत थियो। हामीले गणेशमानसँग कुरा गर्ने निर्णय गर्यौँ। नजरबन्दबाट मुक्त भएपछि गणेशमान बिरामी भएको भन्दै वीर अस्पतालमा भर्ना हुनुभएको थियो। हामी उहाँलाई भेट्न अस्पतालमै गयौं।

वीर अस्पतालमा सरकारका मन्त्री अच्युतराज रेग्मी पनि रहेछन्। हामीले उहाँलाई चिनेनौं। गणेशमान बेडमा चुप लागेर धुम्धुम्ती बस्नुभएको थियो। उहाँ केही बोल्नुभएन। कृष्णप्रसादले भन्नुभयो, ‘मैले सहानालाई भनेको छु। त्यो अनुसार विस्तारै विस्तारै बहुदलमा जाने। अब आन्दोलन रोकेर सम्झौता गर्नुपर्छ।’

मैले कड्किएर भनेँ, ‘हामीले संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातन्त्र स्थापनाकालागि आन्दोलन गरेको हो। हाम्रो आन्दोलनको माग बहुदलीय पञ्चायत होइन।’ मेरो कुरा सुनेपछि कृष्णप्रसाद कड्किनुभयो ‘अब हामी आन्दोलन रोक्छौं। चित्त नबुझे तपाईंहरू आन्दोलनमा जानुहोस्।’

यस्तो सुनेपछि गणेशमानजी कड्किनुभयो– ‘मैनालीजीले भनेको ठीक हो। पहिला योगप्रसादको घरमा बस्दा हाम्रो सम्झौता के थियो? वार्तामा हामी सल्लाह गरेर जाँदै छौं। हाम्रो सम्झौता सम्पूर्ण रूपमा बहुदल हो। राजाकोमा गएर यो विषयमा स्पष्ट रूपमा माग उठाउनुपर्छ। हाम्रो तर्फबाट गिरिजा र भट्टराईजी जानुहुन्छ। तपाईंहरू पनि दुई जना सल्लाह गरेर जानुहोस्। जबसम्म बहुदलीय व्यवस्था स्थापना हुँदैन तबसम्म म दरवार जान्न। तपाईंहरूले सम्झौता गरेर आउनु भयो भने राजालाई भेटौंला।’

हामी त्यहाँबाट फर्कियौं। दरवारमा को जाने भन्ने विषयमा हाम्रो बीचमा विवाद भयो। अध्यक्ष भएकाले सहानाजी जाने कुरा पक्का भयो। कार्यवाहक भएर आन्दोलन परिचालन गरेकाले मैले जान पाउनुपर्छ भनेँ। कृष्णराज बर्माले म जान्छु भन्नुभयो। त्यसमा चर्काचर्की भयो। भोटिङ जस्तै भयो। वार्तामा जान सहानाजी र म छानियौं।

वार्ताका लागि दरवार जान पाइने त भयो। दौरा सुरुवाल नलगाई दरवार जान नपाइने। हामीसँग दौरासुरुवाल थिएन। मसँग पाटनको डेरामा पुरानो दौरा सुरुवाल र बुच्चे कोट थियो। फेरि सेनालाई भनेर पाटन जाने व्यवस्था गर्न लगायौं। त्यतिबेला बाहिर कफ्र्यू लागेकै थियो। दौरा सुरुवाल लगाएर फर्किंदा सहाना, गिरिजा र भट्टराई वीर अस्पतालबाट निस्किन लाग्नुभएको रहेछ। म पनि उहाँहरूसंगै मिसिएँ। हामीलाई त्यहाँबाट प्रधानमन्त्री निवास बालुवाटार लगियो। त्यहाँ पुग्दा मात्र अच्युतराज रेग्मी पनि त्यहीँ रहेको थाहा भयो। उनले हामी बीचको सबै कुरा सुनेका थिए।

प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले हामी पुग्नासाथ ‘बहुदल स्थापनाको माग बिहानको सम्झौता अनुसार भएन किसुनजी’ भन्नुभयो। 

भट्टराईजीले उनलाई सहज बनाउँदै भन्नुभयो, ‘यो हाम्रो सैद्धान्तिक कुरा हो। तपाईं यसमा धेरै चिन्ता नगर्नुहोस्।’

मैले सहानालाई यसो तानेर भनेँ– ‘अब भट्टराईजीले पनि बहुदलको विषयमा कुरा छाडेजस्तो छ। गणेशमानले भने जसरी उहाँले त्यहाँ कुरा उठाउनु हुँदैन। हामीले त्यहाँ जोडदार रूपमा कुरा उठाउनुपर्छ।’

बालुवाटारबाट हामीलाई सेनाको फरक–फरक गाडीमा दरवार लगियो। हामीलाई मंगल सदनको बाहिर राखियो। राजा आए। चारजना मन्त्री पनि आ–आफ्नो सिटमा बसेँ। त्यसपछि मात्र हामीलाई बोलाइयो। 

वार्तामा राजा वीरेन्द्र बीचमा बसेका थिए। हामी एकातर्फ बसेका थियौं। अर्कोतर्फ प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द थिए।  पहिला कृष्णप्रसाद भट्टराईले कुरा थाल्नुभयो। उहाँले भन्नुभयो, ‘निर्दलले देशको हित गरेन। अब सरकारले निर्दलीय व्यवस्थालाई राख्न खोज्नुभयो भने हामीले जनतालाई सम्झाउन सक्दैनौं।’ 

उहाँले कुटनीतिक तरिकाले बहुदलीय प्रजातन्त्रको विषयमा राजालाई जानकारी गराउनुभयो। गिरिजाले भट्टराई बोलेकाले आफू नबोल्ने बताउनुभयो। सहानाले कडा रूपमा बहुदलीय व्यवस्था आउनुपर्छ भन्नुभयो। मैले पनि कडै रूपमा बोलेँ।

हामीले भन्यौँ, ‘दुई सय जति मानिस मरेका छन्। तिनीहरूको क्षतिपुर्ति दिनु पर्यो। उनीहरूलाई कसले मारेको हो तिनीहरूलाई कारवाही हुनुपर्यो। सम्पूर्ण राजबन्दी रिहाई हुनुपर्यो। बहुदलीय सरकार गठन हुनुपर्यो। अनि मात्र हामी आन्दोलन फिर्ता लिनसक्छौं।’

त्यसपछि राजा वीरेन्द्रले ‘अब पञ्च, कांग्रेस र वामपन्थीको त्रिपक्षीय सरकार गठन हुन्छ’ भने। हामीले बहुदलीय सरकार दिनुपर्छ भन्यौं। 

उनले भने त्रिपक्षीय संविधान सुधार आयोग बनाऔं भने। त्यो पनि त्रिपक्षीय हुन्छ। हामीले त्यो पनि मानेनौं। 

राजाले अन्तिममा भने– ‘यी विषयमा छलफल गरौँला। अहिलेलाई संविधानवाट निर्दलीयता हटाउने समझदारी भएको होइन किसुनजी?’ राजाकोे यस्तो कुरा सुनेपछि किसुनजीले टाउको हल्लाए।

१० बजे राती हामी दरवार पुगेका थियौं। संविधानबाट निर्दलीय शब्द हटाउने विषयमा सहमति गरिसक्दा सवा ११ बजेको थियो। एकछिन हामी मंगल सदनमा बस्यौं। त्यतिबेला ११ बजेपछि नेपाल टेलिभिजनको सबै कार्यक्रम बन्द हुन्थ्यो। हामीसँग पत्रकार विजयकुमार पाण्डे अन्तरवार्ता लिन मंगल सदनमै पुगे।

हामी चारै जनाको अन्तरवार्ता लिए। हामीले भन्यौँ, ‘एक चरणको आन्दोलनको सकियो। अब पञ्चायतका सबै अंग सकेर बहुदलमा जाने अर्को आन्दोलन सुरु हुन्छ।’ गिरीजाले यो जित सबैको हो भन्नुभयो। 

पहिला राजाले सन्देश दिने कार्यक्रम थियो। अन्तिममा विज्ञप्ति मात्र दिने कुरा भयो। यसरी राति १२ बजे नेपाल टेलिभिजनले दलमाथि प्रतिबन्ध फुकुवा गरेको घोषणासहितको विज्ञप्ति प्रसारण ग-यो।

भोलिपल्ट टुँडिखेलमा आमसभा भयो। राति नै काठमाडौंमा एक÷डेढ लाख झण्डासहित मानिस सडकमा निस्किए। कांग्रेसका ठूला झन्डा थिए। हाम्रा साना झन्डा थिए। तर हाम्रा झन्डा धेरै थिए। म पाटनमा बस्थेँ। पाटनबाट टुँडिखेलसम्म आउँदा मलाई भूँमा टेक्नै दिएनन्। बोकेरै ल्याए। आमसभामा सम्बोधन गर्ने क्रममा गिरिजाले यो जित पञ्चको पनि हो भन्नुभयो। उहाँमाथि हुटिङ भयो। मालेले २६ गतेको वार्ता धोका हो भनेर पर्चा बनाएका थिए। जनताको भीड देखेर त्यो पनि छर्न सकेनन्। 

सरकारसँग वहुदलवादी नेताहरूको वार्ता भइरहेको थियो। जनताको दबाब निरन्तर रूपमा बढी रहेको थियो। पञ्चायतका सबै अवशेषको अन्त्य हुनुपर्छ भन्ने थियो। यो विषयमा छलफल चल्दै थियो। बैशाख २ गते प्रधानमन्त्री लोकेन्दबहादुर चन्दसहित वार्ता बसेको ठाउँमा आन्दोलनकारीले घेरे। चार जना मन्त्रीहरू बाहिर आउन सक्ने अवस्था भएन। त्यहाँबाट निस्केर दरवार गएर उहाँले राजीनामा दिनुभयो।

दरवारले गणेशमानलाई प्रधानमन्त्री हुन आग्रह गर्यो। गणेशमानले प्रधानमन्त्री बन्न मान्नुभएन। हामी उहाँलाई मनाउन गयौं। उहाँले हामीलाई कन्भिन्स गरेर पठाउनु भयो। त्यसपछि गणेशमानले किसुनजीलाई दरवारमा लगेर चिनाउनुभयो। भन्नुभयो– ‘उहाँ अबको प्रधानमन्त्री।’ 

श्रीधर खनालसँगको कुराकानीमा आधारित ।







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad