coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जुगल हिमालमा पहिलो मानव पाइला

पहिलो पटक आरोहण गरिएको जुगल हिमशृंखलाको ग्याल्चेन पिक। तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक– राजधानी काठमाडौँबाट सबैभन्दा नजिक रहेको जुगल हिमशृंखलाको चुचुरोमा पहिलो मानव पाइला परेको छ। हिमशृंखलाको ६ हजार १ सय ५१ मिटर उचाइको ग्याल्चेन पिक (चुचुरो) को पहिलो पटक सफल आरोहण भएको हो। 

सगरमाथा आरोही सिन्धु चेली माया गुरुङ नेतृत्वमा तीन जनाले मंगलबार साँझ ग्याल्जेन हिमालको सफल आरोहण गरेका हुन्। गुरुङसहित जिल्लाकै मिलन लामा र सर्मिला थापाले ग्याल्जेन आरोहण गरेका छन्। ‘साँझ ५ः२० बजे हामी तीन जनाले ग्याल्जेन पिकको चुचुरो चुम्यौँ,’ सफल आरोहण गरेर आधार शिविर फर्कनुअघि आरोही गुरुङले सेटलाइट फोनबाट कुरा गर्दै भनिन्। 

उनले आरोहीबाहेक मुख्य पथप्रदर्शक तुलसी गुरुङसहित चार सहयोगीले समेत ग्याजेनको सफल आरोहण गरेको बताइन्। गुरुङ नेतृत्वको चार सदस्यीय आरोहण दलका प्रेम गुरुङले मात्र आरोहण पूरा गर्न सकेनन्। उनी चार हजार सात सय २४ मिटर उचाइमा रहेको उच्च शिविरबाट अघि बढ्न सकेनन्। 

गत चैत १५ गते पहिलो आरोही दल जुगलतर्फ अघि बढेको थियो। उनीहरुलाई तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजधानीबाट बिदाइ गरेका थिए। आरोहीले जुगलको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा र हिमाल रहेको जुगल गाउँपालिकाको ब्यानर चुचुरोमा फहराएका छन्। 

आरोही दल सोमबार राति उच्च शिबिरबाट चुचुरोतर्फ अघि बढेको थियो। चार दिनअघि नै उनीहरु उच्च शिविर पुगे पनि लगातारको बर्षा, हिमपात, हावाहुरी र खाद्यन्न अभावका कारण उच्च शिविरमै रोकिएको थियो। सोमबार बिहान हेलिकप्टरबाट खाद्यन्न पु-याएसँगै मौसममा समेत सुधार आएपछि आरोही टोली अघि बढेको थियो। 

जुगल गाउँपालिका र तीन नम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा पहिलो पटक जुगल आरोहण भएको हो। पहिलो पटक भएकाले पर्यटन प्रवर्द्धनमा सघाउन आरोहणका लागि गाउँपालिकाले १० र प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए। आरोहण गरिएको ग्याल्चेन पिक जुगल गाउँपालिका–३ गुम्बामा पर्छ। आरोहणपछि आधार शिविरतर्फ फर्किरहेका आरोही बुधबार साँझसम्म हिमालतिरबाट पहिलो बस्ती दीपुगाउँ आइपुग्ने बताइएको छ। 

जुगल हिमशृंखलामा विभिन्न २६ हिमाल रहेकोमा ११ पिक (चुचुरा) को आरोहण अनुमति दिइएको छ। ग्याल्चेन आरोहणका लागि सबैभन्दा सजिलो मानिन्छ। साथै यो सबैभन्दा होचो समेत हो। आरोही गुरुङकै नेतृत्वमा गतवर्ष आधारशिविरसम्म पुगेर ग्याल्चेन पिकको अध्ययन र बाटो खोजी गरिएको थियो।  

प्रकाशित: २६ चैत्र २०७५ १४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App