coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हावाहुरीले करोडौंको केरा नष्ट

बेलुवास्थित केरा किसान टेकेन्द्र धामीको केराबारी। तस्बिर: योगेश/नागरिक

टीकापुर–शनिबार साँझ आएको हावाहुरीले कैलालीमा करोडौंको केराखेती नष्ट भएको छ। हावाहुरीका कारण किसानका लाखौं केराका बोट ढलेका छन्।

कैलाली केरा उत्पादक तथा व्यवशायी संघका उपाध्यक्ष टेकेन्द्र धामीले आफ्नो बारीमा ३० प्रतिशत केराका बोट ढलेको र २० प्रतिशत बोट हावाले हल्लिएर काम नलाग्ने अवस्थामा पुगेको बताए। उनका अनुसार रानीजमरा कुलरीया सिँचाइ आयोजनाको कमान्ड क्षेत्रभित्रको पाँच सय हेक्टरमध्ये एक सय ५० हेक्टर केराबाली नष्ट भएको छ।

केरा किसान धामीको टीकापुर नगरपालिका–६, बेलुवास्थित शुभम एग्रो फार्ममा रहेका थुप्रै केराका बोट ढलेका छन्। उनले १२ बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका छन्। उनकै टीकापुर नगरपालिका–४, बाघमारास्थित केराको बेर्ना भण्डारण गृहसमेत हावाहुरीले भत्काएको छ। बेर्ना भण्डारण गृह भत्किएपछि किसानलाई केराको बेर्ना राख्न समस्या भएको छ।

‘केराको बेर्ना ल्याउने समयमा भण्डारण गृह भत्किएपछि ठूलो नोक्सानी बेहोर्नु परेको छ,’ उनले भने, ‘बेर्ना ल्याएर कहाँ राख्ने भन्ने समस्या भएको छ।’ धामीले भारतबाट केराको बेर्ना ल्याएर केही समय भण्डारण गरेपछि किसानलाई बेच्दै आएका छन्।

केरा किसान दीपेन्द्र चौधरी लामो समयदेखि राजनीतिमा सकृय छन्। उनी कैलाली केरा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष हुन्। उनी केराको बजार प्रवर्द्धनका लागि केरा किसानले थालेको आन्दोलनका क्रममा तीन वर्षअघि बर्दियाको बाँसगढीमा मोटरसाइकलमा दुर्घटनामा परे। उनको दुर्घटनामा ज्यान त जोगियो तर शारीरिक अवस्था अपांग बनेको छ। तैपनि उनले केराखेतीलाई निरन्तरता दिइरहेका छन्। उनले २२ बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका छन्।

उनले आफ्नो ३५ प्रतिशत केराखेतीमा हावाहुरीले क्षति पु-याएको बताए। ‘यो त देखिने गरी क्षति भएको मात्रै हो,’ उनले भने, ‘केराको बोट हल्लिएपछि त्यसले घाडी थाम्न सक्दैन र हल्लिएको बोटसमेत नोक्सान नै हो।’

यस क्षेत्रमा करिब एक सय केरा किसान छन्। उनीहरुमध्ये धेरैजसो युवा केराखेतीमा सकृय छन्। सिँचाइ आयोजनाले केराखेतीमा अनुदान दिन थालेपछि युवाको आकर्षण बढ्दै गएको देखिन्छ। युवाको सकृयतापछि यस क्षेत्रमा केराखेतीको सम्भावना बढ्दै गएको छ। टीकापुरलाई देशभर ‘बनाना हब’का नामले चिनिन थालेको छ।

केराखेतीलाई भने विभिन्न समस्याले माथि उठ्न दिएको छैन। कहिले बजार नपाउने समस्या त कहिले हावाहुरी लगायत विपत्तिले केराखेती फस्टाउन सकेको छैन। पछिल्लो पटकको हावाहुरीले केराखेतीतर्फ आकर्षित भएका युवा निकै निरास देखिएका छन्। उनीहरु प्रायः सबैको केराबारीमा हावाहुरीले क्षति पु-याएको छ। प्रायः सबैका बारीमा केराका बोट लखतरान सुतेका छन्। टीकापुर नगरपालिका–३ घीयाका दमन चौधरीले हावाहुरीका कारण आफ्नो दुई बिघा केराखेती पूर्णरुपमा नष्ट भएको बताए। ‘कुनै एउटा बोट काम नलाग्ने गरी केराबारी बारी नष्ट भएको छ,’ उनले भने, ‘सानो मात्रामा केराखेती गर्ने किसान झन ठूलो समस्यामा परेका छन्।’

अधिकांश किसानले केराबारीको बिमा पनि गरेका छैनन्। कैलाली केरा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष चौधरीले बिमा प्रकृया निकै झन्झटिलो भएका कारण धेरै किसानले बिमा नगरेको बताए। केरा किसान बैंकको ब्याज कसरी तिर्ने भन्ने समस्याले चिन्तित छन्। उनीहरुमध्ये सबैले वित्तीय संस्थाबाट ऋण लिएर केराखेती गर्दै आएका छन्। अधिकांशले केराखेतीका लागि जग्गासमेत भाडामा लिएका छन्। उनीहरुलाई जग्गाको भाडा तिर्नसमेत समस्या हुने देखिन्छ।

हावाहुरीले केराखेतीमा नोक्सान पु-याएपछि केरा उत्पादनमा ह्रास आउने केरा किसान बताउँछन्। ‘अघिल्ला वर्षको तुलनामा केराको उत्पादन निक्कै घट्ने देखिन्छ,’ अध्यक्ष चौधरीले भने, ‘हावाहुरीले निकै ठूलो समस्या उत्पन्न गरिदिएको छ।’

केराखेतीको विस्तारसँगै कतिपय व्यक्तिले रोजगारीसमेत प्राप्त गरेका छन्। उनीहरुले गाउँघरमै बसेर आयआर्जन गर्दै आएका छन्। केरा व्यवसायीले भोग्दै आएका विभिन्न समस्याले केराखेतीबाट रोजगारी प्राप्त गर्दै आएका व्यक्तिसमेत समस्यामा परेका छन्।

प्रकाशित: २६ चैत्र २०७५ ०६:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App