८ वैशाख २०८१ शनिबार
अर्थ

थाल ठटाएर प्रदर्शन गर्दै चिया श्रमिक

आन्दोलनमा उत्रिएका इलामको कन्याम चिया बगानका श्रमिक। तस्बिर: भीम/नागरिक

इलाम–  पहिलो चरणको आन्दोलनप्रति सरकार र चिया उद्योगी उदासीन रहेपछि आन्दोलनरत पूर्वका चिया श्रमिकले संघर्षका थप कार्यक्रम तय गरेका छन्। सोमबार झापाको बिर्तामोडमा सम्पन्न नेपाल चिया बगान श्रमिक संघ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघको संयुक्त बैठकले -याली, कोणसभा, प्रदर्शनलगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो।

तीनै संगठनको अगुवाईमा बिहीबार झापा बनियानीमा विरोधसभा, आउँदो वैशाख ३ गते बिर्तामोडमा मजदुर साङ्लोसहित विरोधका विरोध कार्यक्रम गरिने श्रमिक नेताहरूले जानकारी दिए। ‘सोमबारसम्म भइरहेका आन्दोलनका कार्यक्रम जारी रहनेछन्,’ नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ अध्यक्ष दीपक तामाङले भने, ‘झापा बिर्तामोडमा मजदुर साङ्लो प्रदर्शन गरिने छ।’ उनले न्यूनतम् ज्याला नपाएका कारण श्रमिकले खान नपाएको संकेतस्वरूप थाल ठटाएर विरोध प्रदर्शन गर्ने तय भएको पनि बताए। ‘थाल ठटाएर भोकभोकै हुने अवस्था आउनु दैनिक रोजीरोटी गरेर खाने श्रमिकको वास्तविकता नै हो,’ उनले भने, ‘सरकारले तोकै ज्याला नपाउनुजत्तिको पीडा हामीलाई अरू के हुनसक्छ र!’

बैठकमा अध्यक्ष तामाङ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका उपाध्यक्ष सहीकुमार राई र अखिल नेपाल चिया मजदुर संघकी उपाध्यक्ष सीता सापकोटालगायत सहभागी थिए। ‘हामीले सरकारले तोकै ज्याला कार्यान्वयन होस् भन्ने माग गरेका हौं,’ श्रमिक नेता नर्वदा निरौलाले भनिन्, ‘सरकारको निर्णय र देशको कानुन उद्योगीले नमान्दाको पीर हामी श्रमिकले खेप्नुपरेको छ, कानुन कसलाई लाग्ने, कसलाई नलाग्ने भन्ने पनि कहीं हुन्छ?’

सरकारले श्रमिकको दैनिक न्यूनतम् ज्याला ३ सय ८५ रूपैयाँ तोकेको छ। तर, साउन १ देखि नै लागू हुनुपर्ने यो ज्यालादर अहिलेसम्म लागू नभएपछि पूर्वका चिया श्रमिक आन्दोलनमा छन्। श्रमिकले अहिले दैनिक ज्याला २ सय ६५ रुपैयाँ मात्र पाइरहेका छन्। श्रम ऐन र सामाजिक सुरक्षा ऐन जारी भइसकेपनि उद्योगहरूले कार्यान्वयन गरेका छैनन्।

श्रमिकले गत १७ गतेयता आफूले काम गरिरहेका चिया प्रतिष्ठान बन्द गराएका छन्। उनीहरू दिनहुँ धर्ना, -याली, कोणसभा र विरोध प्रदर्शन गरिरहेका छन्। यहीक्रममा जिल्लाको सूर्याेदय नगरपालिकाको पहलमा श्रमिक–उद्योगीबीच दुई चरणका वार्ता भइसकेपनि निष्कर्ष निस्कन सकेको छैन। ‘न्यूनतम् ज्यालाका लागि निकैपटक लडियो तर अब हरेस खाइँदैन,’ श्रमिक नेता विष्णु भट्टराई भन्छन्, ‘यो पटकको आन्दोलन जति नै लामो समय बिताउनुपरे पनि निर्णायक हुन्छ।’

प्रकाशित: २६ चैत्र २०७५ ०६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App