coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अब अस्पताल छिर्दा नाक थुन्नु पर्दैन...

नारायण ढुङ्गाना

चितवन-मध्ये क्षेत्रकै सुविधासम्पन्न सरकारी अस्पतालका रुपमा परिचित चितवनको भरतपुर अस्पतालमा प्रवेश गर्दा बेलाबेलामा मास्क लगाएर हिँड्नुपथ्र्यो । मास्क नहुनेले केही समय सास रोकेरै दुई हातले नाक च्यापेर हिँड्थे । बिरामी, बिरामीका आफन्त, सवारी चालक या कुनै आगन्तुक यस्तै समस्याले भरतपुर अस्पताल छिर्दा हैरानी खेप्थे । यसरी हैरानी खेप्नुको मुख्य कारण चाहिँ भरतपुर अस्पतालको मूलढोकामै अव्यवस्थित शवगृह रहनु हो । उचित व्यवस्थापन नहुँदा र लामो समय शव राख्नुपर्दा दुर्गन्ध फैलिएर वरपर हिँड्नै नसक्ने हुन्थ्यो ।

शवगृह भएको क्षेत्र मुख्य ढोकानेर रहेको र प्रसूतिगृह सामान्य नै रहेकाले पनि थप समस्या हुँदै आएको थियो । बिरामी ओसारपसार गर्ने चालक राजकुमार कोइराला भन्छन्, “गाडी चलाउँदा पनि अस्पताल छिर्न मास्क नलगाई हुन्थेन ।” तर अब ती समस्या हटेको छ । अघिल्लो महिनाबाट यो समस्या आगन्तुकले बेहोर्नुपरेको छैन । उनीहरुलाई आवतजावत सहज भएको छ । अस्पतालको पछाडिपट्टि नयाँ शवगृह निर्माण भएपछि यो समस्या हटेको हो ।

अब ढोकामै दुर्गन्ध र लास देख्नुपर्ने बाध्यता हटेको छ । ना१ज ३४०५ नंको गाडी यही बाटो भएर दैनिक अस्पताल आउजाउ गर्छ । चितवनमा शव वाहन नभएकाले यो गाडीले पनि शव ओसारपसार गर्छ । चालक कोइरालाले भने, “अब अस्पताल छिर्दा नाक थुन्नुपर्ने छैन । ढिलै भए पनि राम्रो काम भएको छ ।” भरतपुर अस्पतालको भाडा जग्गामा सञ्चालन भएको कलेज अफ मेडिकल साइन्सेज भरतपुरले अहिले अस्पतालको पछाडिपट्टि शवगृह निर्माण गरिदिएको हो ।

नयाँ भवन निर्माणसँगै अघिल्लो महिनाबाट शवगृह अस्पताल पछाडि सञ्चालन भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासैनीले जानकारी दिए। मेडिकल कलेजले निक्कै ढिला गरी शवगृह बनाई दिएकाले समस्या वर्षाैंसम्म रहन पुगेको हो । बीचमा अस्पताललाई बढी आर्थिक भार लगाउने मनसायले विभिन्न बहानामा निर्माण कार्यमा कलेजले आनाकानी गरेको अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विजय सुवेदीले बताए। पछि ताकेता गरेपछि भने निर्माण गरिदिएको उनको भनाइ छ ।

शवगृह हेर्ने देवआनन्द राई र पूर्णबहादुर विक छन्। पुरानो शवगृहमा रहेको फ्रिजमा ६ वटा शव राख्न मिल्ने क्षमता रहेको देवआनन्द राईले बताए । शव धेरै हुँदा एउटा अटाउने फ्रिजको बाकसमा दुईवटा शव राखिन्थ्यो । त्यसैले ६ वटा शव अट्ने ठाउँमा कोचेर १०÷१२ शव राखिन्थ्यो । उनका अनुसार बढी शव आउँदा त्यसै भुइँमा फ्याँक्नुपर्ने हुन्थ्यो । भरतपुर उपमहानगरको समन्वयमा व्यवस्थापन गर्ने गरिए पनि स्थान अभाव ठूलो समस्या हुँदै आएको छ । केही शव लामो समयसम्म बस्दा कुहिएर दुर्गन्ध फैलने गरेको राईले बताए । उनले अझै २० महिनादेखिको एउटा शव बाँकी रहेको बताए।

यहाँ मासिक १० देखि २० वटा बेवारिसे शव आउने गरेका छन् ।

नयाँ शवगृह निर्माण गरेर सञ्चालनमा ल्याइए पनि पुरानो शवगृहकै फ्रिज लगेर राखिएकाले नयाँ स्थानमा समेत शवगृहको क्षमता बढ्न सकेको छैन । उही ६ वटा शव राख्न मिल्ने फ्रिज मात्रै छ । यसरी क्षमता नबढाउँदा अस्पताल पछाडि शवगृह भए पनि समस्या उस्तै हुन सक्ने आशङ्का बढ्दो छ । रासस

प्रकाशित: २ कार्तिक २०७३ ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App