६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

सी चिनफिङ विचार विश्वविद्यालयको पाठ्यक्रममा

बेइजिङ -  चीनको ‘सोसियल साइन्स एकेडेमी’ अर्थात् चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानले वर्तमान राष्ट्रपति सी चिनफिङ विचारको व्याख्या गर्दै पुस्तक प्रकाशन गरेको छ। विभिन्न १२ भागमा प्रकाशित पुस्तक चिनियाँ विश्वविद्यालयमा अध्यापन गराइने पाठ्यसामग्रीका रूपमा प्रकाशित भएको बताइएको छ।    

सी विचारसम्बन्धी पुस्तक तथा पाठ्यक्रम तयार बनाउनका लागि चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानले वरिष्ठ प्राध्यापक तथा विषय विशेषज्ञहरुलाई सहभागी गराएर एउटा समिति बनाएको थियो। सो समितिले पाठ्यक्रम तयार गरी सी विचारलाई १२ भागमा पुस्तक प्रकाशन गरेको समाचारमा जनाइएको छ। १२ भागमा प्रकाशित पुस्तकमा नयाँ युगमा सी चिनफिङ विचारको मुख्य विषय, अर्थ तथा व्याख्या, विश्लेषण, भावनासँगै चिनियाँ समाज र चिनियाँ विकासको वर्तमान अवस्थालाई समेटिएको छ। सबै पुस्तक चिनियाँ भाषामा प्रकाशन भएका छन्। सन् २०१७ को अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशनले चिनियाँ विशेषता युक्त समाजवादमा सी विचार समेट्ने निर्णय गरेको थियो। त्यही महाधिवेशनले चिनियाँ कम्युनिस्ट पार्टीको विधान संशोधन गर्दै सी विचारलाई समेटेको थियो।

चिनियाँ कम्युनिस्ट पार्टीको उक्त निर्णयपछि सन् २०१८ को मार्चमा सम्पन्न १३ औं राष्ट्रिय जनकंग्रेसको पहिलो अधिवेशनले चीनको संविधान संशोधन गर्दै सी विचारधारालाई संविधानमा लेख्ने निर्णय गरेको थियो। त्यसपछि चीनभर नयाँ युगमा सी विचारलाई प्राथमिकताका साथ प्रचार प्रसार गरिँदै आएको छ। अढाइ वर्षअघि नै चिनियाँ कम्युनिस्ट पार्टीले सी विचारलाई चिनियाँ पाठ्यक्रममा समावेश गर्ने र पठनपाठन गराउने निर्णय गरेको थियो। त्यसपछि चिनियाँ प्राध्यापकहरुले सी विचारधारालाई पाठ्यक्रममा राख्नका लागि प्रारुप तयार गर्दै यसका लागि सम्बन्धित विषयवस्तु लेख्न थालेका थिए। हाल आएर १२ भागमा सी विचारधाराका पुस्तक शृङ्खलावद्ध रूपमा प्रकाशित भएका छन्। अब चिनियाँ विश्वविद्यालयका विद्यार्थीले राजनीतिक तथा सामाजिक शास्त्र विषय अन्तर्गत् सी विचारलाई अध्ययन गर्ने छन्।

चीनका वर्तमान राष्ट्रपति सी चिनफिङ सन् २०१२ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १८ औं महाधिवेशनबाट महासचिवमा निर्वाचित भएका थिए। चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव नै चीनको राष्ट्रपति बन्ने प्रावधान अनुसार उनी सन् २०१३ मा चीनको राष्ट्रपति चयन भएका थिए। उनले राष्ट्रपति भएपछि पुरानो रेसमी मार्ग ब्युँताउने रणनीति अगाडि सारे। उनको यो सांस्कृतिक तथा आर्थिक कार्ययोजनालाई हाल ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ अर्थात्‘ बिआरआई’ भनिन्छ। सी चिनफिङले अगाडि सारेको बिआरआईलाई पनि चिनियाँ विश्वविद्यालयहरुले पाठ्यक्रममा समावेश गरेका छन्। अहिले बिआरआईमा सहभागी मुलुकका विद्यार्थीका लागि छुट्टै बिआरआई छात्रवृत्ति पनि चीनले उपलब्ध गराउँदै आएको छ।    सी सत्तामा आएपछि उनले दिएका मनतव्य, अन्तर्वार्ता, लेखलगायतका सामग्री समेटेर ‘सी चिनफिङ चिनियाँ शासन व्यवस्था’ नामक दुई भागमा पुस्तक प्रकाशित भइसकेका छन्। यी पुस्तक अहिलेसम्म करिब दुई दर्जन भाषामा अनुवाद भइसकेका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव तथा चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीमा दुई कार्यकाल मात्र रहने परिपाटीलाई पनि गत वर्ष संविधान संशोधन गरी हटाइएको छ। यसर्थ सी चिनफिङ लामो समयसम्म चिनियाँ सत्तामा रहने सम्भावनालाई सी विचारको आक्रामक प्रचारले पनि पुष्टि गरेको विश्लेषकहरुले बताउने गरेका छन्।

 

प्रकाशित: २६ चैत्र २०७५ ०४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App