८ वैशाख २०८१ शनिबार
अन्य

सेयर घट्दा अपनाउनुस् सतर्कता

सरोज भट्टराई
डाइरेक्टर तथा प्रशिक्षक
सेक्युरिटिज रिसर्च सेन्टर एन्ड सर्भिस प्रालि

केही समयअघि सेयर बजार घटेकाले लगानीकर्ताले धेरै लगानी गुमाइसकेका थिए। यो गुमाईले लगानीकर्ताको धैर्यको बाँध टुटेको अवस्था थियो। त्यसै कारणले आन्दोलनका कार्यक्रम सार्वजनिक भए। सेयर बजारको सुधारको माग गर्दै नियमनकारी निकायका लागि लगानीकर्ताले खबरदारीस्वरूप आन्दोलन गरे। आज पनि सेयर बजारका लगानीकर्ता सन्तुष्ट देखिँदैनन्। विभिन्न किसिमले सम्बन्धित निकायमा दबाब सृजना गरिरहेको देखिन्छ। यो वर्ष सिजनमा समेत सेयर बजार सन्तोषजनक अवस्थामा पुग्न सकेन। सामान्यतः वैशाख महिनादेखि सेयरको सिजन सुरु हुन्छ। त्यसैले अहिले सेयर बजार केही उकालो लाग्नु स्वाभाविकै हो तर तत्काल सोचेअनुरुप उकालो लागिहाल्ने अवस्था भने देखिँदैन। यस्तो अवस्थामा लगानीकर्ता सजग हुनै पर्छ।

सकारात्मक सुझाव
पुँजी बजार तथा सेयर बजारमा भएका समस्यालाई सुझावमार्फत् समाधान गर्न सकिन्छ कि भनेर एक सुझाव समिति बन्यो। सेयर बजारमा भएको निरन्तरको गिरावटलाई रोक्न समिति बन्नु सकारात्मक नै हो।

पूँजीबजारलाई अर्थतन्त्रको ऐना पनि भनिन्छ। ऐना फोहोर भएपछि अर्थतन्त्र पनि राम्रो देखिँदैन। त्यसैले ऐना सफा हुन जरुरी छ।

नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा अध्ययन तथा सुझाव समिति बन्यो। सो समितिले मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृत्तिहरुको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि स्रोत व्यवस्थापनसम्बन्धी सुझाव समितिको प्रतिवेदन सरकारलाई पेश ग-यो।

पुसमा प्रतिवेदन पेश भयो। जुन पुँजी बजार तथा सेयर बजारका लागि राम्रो पक्ष हो। जुन समितिले केही सकारात्मक सुझाव पनि दियो। नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, मुद्रा बजार, पुँजी बजार, प्रमुख नीतिगत व्यवस्था, चुनौतीलगायतका बारेमा सुझाव पेश ग-यो।

सुझावमा विगत दुई वर्षयता निक्षेप तथा कर्जाको ब्याज बढ्ने क्रम सुरु भएको जनाइएको छ। बैंक तथा वित्तीय संस्थाले निक्षेपका लागि प्रतिस्पर्धा गर्ने क्रममा मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर बढाउँदै १२ देखि १३ प्रतिशतको हाराहारीमा पु¥याएको औँल्याइएको छ। सेयर बजारको तुलनामा ऋणपत्र बजारको विकासले खासै गतिलिन नसकेको बताइएको छ।

केही वर्षयता सेयर बजारमा उल्लेख्य विकास भएको जनाइएको छ। विशेषगरी नयाँ बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी र हाइड्रोपावर कम्पनीमा प्रारम्भिक निष्कासन (आइपिओ) लगानी गर्न सर्वसाधारण लगानीकर्ताको उल्लेख्य सहभागिता देखिएको सुझावमा उल्लेख छ। यो सही पनि हो। तर सेयर बजारको व्यवस्थापन राम्रो नहुँदा लगानीकर्ता नै अन्योलमा परेको देखिन्छ।

नीतिगत व्यवस्थामा अझै पनि अन्योलता देखिन्छ। बेला बखत अर्थमन्त्रीको अभिव्यक्तिले पनि सेयर बजारमा असर पु-याएको भन्ने चर्चा सुनिन्छ। विगत तीन वर्षदेखि नेपालको पुँजी बजारमा सेयर आपूर्तिको तुलनामा बजार व्यवस्थापन र मागको विस्तार हुन नसक्दा पछिल्लो समय सेयर बजार प्रभावित भएको सुझावमा औँल्याएको छ। तर लगानीकर्ताले सेयर बजार सुस्ताउँदा धैर्यताको बाँध भने तोड्नु गलत हो। सेयर बजार सुस्ताउँदा धैर्य बनेको खण्डमा पुनः प्रतिफल लिन सकिन्छ।

सुझावमा वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने सुझाव दिएको थियो। सेयरमा लगानीकर्तालाई सेयर धितो कर्जा ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत बढाउन सुझाव दिइएको छ। यो सकारात्मक हो। तर तत्काल प्रभावकारी रुपमा कार्यान्वयनमा आएको देखिँदैन। धितोपत्र ऋणको सुविधा बढाए तापनि सेयर मार्केटले राम्रो गति लिन सकेको छैन। धितोकर्जा बढाएको छ। बैंकको ब्याज बढी हुँदा सेयर बजारमा लगानीकर्ताको आकर्षण कम देखिन्छ।

धितोपत्र जारी गर्नुभन्दाअगाडि कम्पनीको ग्रेडिङ गरिन्छ। ग्रेडिङ चारसम्म अंक पाउने कम्पनीलाई प्राथमिक सेयर निष्काशन गर्न दिने र चारभन्दा माथि अर्थात् पाँच अंक पाउने कम्पनीलाई प्राथमिक सेयर निष्कासन गर्न नदिने सुझाव आउनु राम्रो हो। चारभन्दा पाँच अंक पाउने कम्पनीमा लगानी गर्नु बढी जोखिम हुन्छ। ग्रेडिङ एक पाउने कम्पनी राम्रो हो। तर ५ गे्रड पाउनु दीर्घकालसम्म नै नराम्रो हो भन्न भने सकिँदैन।

समग्रमा सुझाव राम्रै देखिए पनि सुझाव आउनेबित्तिकै बजार एकै पटक माथि पुग्दैन। तर सुझाव समितिले दिएको सुझावको दीर्घकालीन प्रभाव सकारात्मक नै देखिन्छ। सबै सुझाव तत्काल कार्यान्वयनमा जान पनि मुस्किल पर्छ।

धितोपत्र बोर्डले वाणिज्य बैंकलाई सेयरको कारोबार गर्न ब्रोकर लाइसेन्स दिने प्रक्रिया अगाडि बढ्नु सकारात्मक पाटो हो। यसले केही हदसम्म भए पनि सेयर बजारलाई राहत मिल्न सक्छ।

बजारमा सेयर संख्या बढे पनि नयाँ लगानीकर्ता बजारमा थपिन नसक्दा बजार नबढेको देखिन्छ। पुरानै लगानीकर्ताले सेयर बजार धानिने अवस्था छैन। ठूला नयाँ लगानीकर्ताको प्रवेश सेयर बजारमा कम छ। सेयर बजार राम्रोसँग बढेको छैन।

बजारको मागको तुलनामा सेयरको संख्या बढी भएकाले पनि सेयर बजार सोचेअनुरुप उकालो लाग्न नसकेको हो। ब्रोकरको संख्या बढाउँदा त्यस्ता बैंकमार्फत सेयरको कारोबार गर्न सकिन्छ र सेयर बजार बढ्छ। गाउँ–गाउँमा बसेर सेयरको कारोबार गर्न सकिने अवस्था भएको खण्डमा सेयर बजार पनि सुध्रिन सक्छ। बैंकको ब्याजदर नघटेसम्म सेयर बजार राम्रोसँग बढ्ने अवस्था छैन। बैंकको महँगो ब्याजदरमा सेयर बजारमा लगानी गरेर प्रतिफल लिन कठिन हुन्छ।

गोलमाल व्यवस्था
०७५ कात्तिक २० गतेबाट नेप्सेले सेयरको अनलाइन कारोबार गर्ने प्रणालीको सुरुवात ग-यो। प्राइमरी र सेकेण्डरी बजारको सेयरको खरिद अनलाइनबाटै गर्न सकिने भए पनि समस्या भने छन्। अनलाइन प्रणालीमा घरमै बसेर सेयरको कारोबार गर्न सकिने व्यवस्थाको थालनी गरियो। तर सबै ठाउँमा अनलाइन प्रणालीमा इन्टरनेटको पहुँच हुँदैन। अनलाइन कारोबार पूर्ण सञ्चालनमा नआउनु पनि सेयर बजारको अर्को समस्या हो। हालसम्म प्रभावकारी रुपमा सेयरको अनलाइन कारोबार भएको छैन। ज्ञान र सीपको अभावमा पनि अनलाइन कारोबारको प्रभावकारिता नभएको हो। प्रणालीमै अन्योलता छ। अनलाइन कारोबार प्रभावकारी बनाउनु आवश्यक पर्छ।

सेयर बजारको कारोबारलाई छिटोछरितो तथा प्रभावकारी बनाउनका लागि ल्याइएको डिम्याट खाताको झन्झटिलो पाटाका कारण पनि सेयर बजार अव्यवस्थित देखिन्छ। कतिपय नीतिगत व्यवस्था अझ स्पस्ट हुन आवश्यक छ नै। लगानीकर्तालाई लगानीको वातावरण हुन आवश्यक छ।

नकारात्मक सूचक
नेपालको वर्तमान अर्थतन्त्र सकारात्मक देखिँदैन। व्यापार घाटा छ। अर्थतन्त्रका सूचकाङ्क उत्साहजनक देखिँदैन। अर्थतन्त्र राम्रो नभएको अवस्थामा सेयर बजारको मात्रै अवस्था सकारात्मक रुपमा राम्रोसँग अगाडि बढिहाल्छ भन्ने हुँदैन। यद्यपि स्थिर सरकार भएकाले केही आशा भने गर्न सकिन्छ। उद्योगधन्दाको अवस्था पनि त्यति फस्टाएको छैन। व्यापार व्यवसायको अवस्था पनि उत्साहजनक देखिँदैनन्। तत्कालै सेयर बजार उकालो लाग्ने सम्भावना अत्यन्तै न्यून छ। बजार माथि जान अझै केही समय लाग्ने देखिन्छ। तर यति नै समय लाग्छ भन्न भने सकिँदैन। सुझाव समितिले दिएको सुझाव कार्यान्वयन हुँदै जाने हो भने बजार बिस्तारै सुधार हुँदै जान्छ। सकारात्मक आशा लिनुपर्छ। आत्तिएर भागिहाल्नु हुँदैन।

सानो लगानी उचित
लगानीकर्ता पनि सचेत हुनुपर्ने देखिन्छ। लगानीकर्ताले सही कम्पनी हेरेर लगानी गर्नुपर्छ। हल्लाको पछाडि लागेर लगानी गर्नु हुँदैन। लगानीकर्ताले धैर्य गर्न सक्ने पैसा सेयर बजारमा लगानी गर्नुपर्छ। जुन रकम सेयर बजारमा लगानी गरेर दैनिक जीवनमा असर हुँदैन त्यस्तो पैसा लगानी गर्नु उपयुक्त हुन्छ। सेयर बजार राम्रोसँग उकालो नलागेको अवस्थामा बैंकबाट ऋण झिकेर सेयरमा लगानी गर्दा जोखिम हुन्छ।

दोस्रो बजारको तुलनामा प्राथमिक बजारमा जोखिम जहिले पनि कम हुन्छ। त्यसैले नयाँ लगानीकर्ताले प्राथमिक बजारमा लगानी गर्नु उपयुक्त हुन्छ। तर एकैचोटी ठूलो रकम भने लगानी गर्नु हुँदैन। बजारमा प्रवेश गरेर बजार बुझ्दै बिस्तारै लगानी गर्नु उचित हुन्छ। अहिलेको प्रतिफल लिने आशाले हैन कि लामो समयसम्म राख्न सक्ने रकम लगानी गर्दा फाइदै हुन्छ। सेयर बजारमा लगानी गरेको पैसाको अभावमा शारीरिक तथा मानसिक असर नपर्ने गरी लगनी गर्नु उचित हुन्छ।

सेयर बजारलाई अन्य व्यापार व्यवसाय छोडेर पेशा बनाउनु उचित होइन यसले गर्दा दैनिकीमा समेत नकारात्मक असर पार्न सक्छ।  सेयर बजार सधैँ बढ्छ नै भन्ने हुँदैन बजार घटबढ भै नै रहन्छ। त्यसैले सेयर बजारलाई पार्टटाइमको रुपमा लगानी गर्ने हो। बजार घटेको अवस्थामा विभिन्न कम्पनीमा थोरै थोरै लगानी गर्दा फाइदै हुन्छ। सेयर बजार बढेको समयमा सेयर बेचेर नाफा कमाउने हो। तर बजार बढेको समयमा लगानी गर्नु जोखिम हुन्छ।

बजार घट्दा धैर्य
नेपालको इतिहासलाई हेर्दा पनि सेयर बजारको उतारचढाव भइरहन्छ र यसो हुनु स्वाभाविकै हो। सेयर बजार घटेको अवस्थामा धैर्य हुन सक्नु पर्छ। बजार घटेको अवस्थामा के गर्ने भन्ने कुरा लगानी गर्नुपूर्व नै सोच्नु पर्छ। सेयर बजार घटेको अवस्थामा पनि आफूले व्यवस्थापन गर्न सक्ने रकम मात्रै लगानी गर्नुपर्छ। बजार बढ्दा सेयर बजारमा प्रवेश गर्ने तर बजार घट्दा सेयर बजारबाट भाग्ने काम भने गलत हो। बजार घटेको अवस्थामा सानो सानो रकम लगानी गर्ने हो भने कुनै न कुनै समयमा बजार बढ्न सक्छ।

नेपालको वर्तमान अवस्था पनि सेयरमा लगानी गर्ने मौका हो। बजार घटेको समयमा दैनिक जीवनलाई असर नहुने रकम लगानी गर्नु उचित हुन्छ। बजार घटेको अवस्थामा सेयर किन्नु उचित हुन्छ। तर धैर्य गर्न सक्ने पैसा मात्रै लगानी गर्नुपर्छ।

इतिहासको उत्तरचढाव
व्यापार घाटा बढिरहेको छ। आर्थिक वर्ष ०७४/७५ मा २६.७ प्रतिशतले बढेको वस्तु व्यापार घाटा आर्थिक वर्ष ०७५/७६ को चार महिनामा समेत ३७.८ प्रतिशतले बढेको तथ्याङ्क छ। यस्तो अवस्थामा सेयर बजारमा तुरुन्तै धेरै सुधार हुने देखिँदैन। वित्तीय पहुँच विस्तारमा भने क्रमिक सुधार हुँदै गएको देखिन्छ। नेपालमा वित्तीय बजारका पूर्वाधार विकास तथा विस्तार हुने क्रम देखिन्छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ०५० सालदेखि दोस्रो बजारको कारोबार सुरु भएदेखि कयौंपटक उत्तरचढाव भएको देखिन्छ। ०५० माघमा १०० रहेको नेप्से सूचकांक ०५७ कात्तिकमा ५१९.३३ बिन्दुमाथि पुगेर ओरालो लागेको तथ्याङ्क पाइन्छ। ०६५ भदौ १५ मा ¬नेप्से परिसूचक ११७५ को उच्च बिन्दुमा पुगेर ओरालो लागेको हामीले बिर्सन हुँदैन। त्यसैगरी ०७२ असारमा ९६१.२३ रहेको नप्से सूचकांक ०७३ साउन १२ मा १८८१.४५ पुगेको थियो।

२०६८ मा बजार २९३ मा झर्दा सेयर बजार सकियो भन्ने पनि तर्क थियो तर सेयर बजार सकिएन। सेयर बजारमा इतिहास दोहोरिन्छ भनिन्छ। २/४ वा ५/७ वर्षमा नेपालको सेयर बजारमा बढी उतारचढाव आएको देखिन्छ। त्यसैले लगानीकर्ता आत्तिइहाल्नु हुँदैन। लगानी गरेपछि धैर्य रहनु बुद्धिमान् हो।

विगत केही वर्षयता बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, जलविद्युत कम्पनीको पुँजी वृद्धि भएकाले लगानीकर्तामा बोनस तथा हकप्रद सेयर प्राप्त हुने अपेक्षाका कारण नेप्से परिसूचकांक उच्च बिन्दुमा पुगेको सुझाव समितिले उल्लेख गरेको छ। तोकिएको चुक्ता पुँजी पु-याउने समयावधि समाप्त भएपश्चात् नेप्से परिसूचकांक घटेको सुझावमा समावेश गरिएको छ।
(उपेन्द्र खड्कासँगको कुराकानीमा आधारित)

प्रकाशित: २५ चैत्र २०७५ ११:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App