coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

त्रिशूलीमा सय मेगावाटको जलविद्युत् बन्दै

गोरखा- गोरखाको गण्डकी गाउँपालिकास्थित बुट्टारमा सय मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने भएको छ। ब्लु इनर्जी कम्पनीले त्रिशूली नदीमा नेपालमै पहिलो ‘ड्याम्म टु टर्वाइन’ प्रविधिको आयोजना निर्माण गर्न लागेको हो।

‘हामीले आयोजना निर्माण सुरु गर्नुअघि गर्नुपर्ने डिपिआर, इआई, पिपिए (आयोजना सुरु गर्नुअघिको प्राविधिक नापजाँचको प्रक्रिया) सबै गरिसक्यौं,’ हाइड्रोको प्रोजेक्ट म्यानेजर निरञ्जन रेग्मीले भने, ‘प्रक्रिया पूरा भएपछि आउँदो अक्टोबरबाट निर्माणको काम थाल्नेछौं।’ अहिले पूर्वतयारीको काम भइरहेको उनले बताए।

नेपालमै नयाँ प्रविधिको पहिलो आयोजना भएको दाबी गर्दै रेग्मीले यो कम लागतमा निर्माण हुने जानकारी दाबीसमेत गरे। ‘१६ अर्ब नेपाली रुपैयाँमा यो निर्माण सक्ने लक्ष्य छ,’ उनले भने, ‘नेपालमा बनिरहेका अन्य योजना हुन्थ्यो भने करिब २० देखि २५ अर्ब लाग्थ्यो।’

ड्यामबाट सीधै टर्वाइनमा पानी खसालेर विद्युत् उत्पादन गर्ने प्रविधि ‘ड्याम टु टर्वाइन’ प्रविधि हो। पानी जम्मा हुने ड्यामबाट ६५ मिटरमा पावर हाउस बन्नेछ। पानी सीधै टर्वाइनमा पठाइने भएकाले पानी पठाउन सुरुङ, पाइपलाइन आवश्यक पर्दैन। ‘पानी जहाँबाट जम्मा गरिन्छ त्यहाँ नै पुनः पावर हाउसबाट झर्छ,’ आयोजना प्रमुख रेग्मीले भने, ‘यो प्रविधिमा तयार गर्दा पानी नभएर सुक्खा हुने क्षेत्र हुँदैन।’

नेपालमा हाल बनेका अन्य आयोजना भने पाइपलाइनबाट लामो दूरीसम्म पानी लैजाँदा पावरहाउससम्मको क्षेत्र सुक्खा हुने गर्छ। त्रिशूलीमा बन्न लागेको अयोजनाको पाइपलाइन बिछ्याउनुनपर्ने भएकाले वातावरणीय दृष्टिकोणले पनि प्रभावकारी हुने निर्माण कम्पनीको दाबी छ।

पाँच वर्षभित्र सिध्याउने गरी निर्माण सुरु हुन लागेको आयोजनाले उत्पादन गरेको विद्युत् तनहुँको मार्किचोकस्थित स्टेसनबाट नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोड्नेछ। पानी जम्मा हुने तालको १४ दशमलव ५ मिटर उचाइ हुनेछ भने ९२ मिटर लम्बाइ हुनेछ। यसका लागि आयोजनाले ४० रोपनी जग्गा खरिद गरिसकेको छ भने डुबानमा पर्ने र पावर हाउस निर्माणका लागि अझै करिब १५ रोपनी खरिद गर्ने प्रक्रियामा छ।

गोरखा र चितवनको सिमाना त्रिशूली नदीमा बन्ने आयोजनाको ड्याम र पावर हाउस भने गोरखातर्फ रहनेछ। पृथ्वी राजमार्गको छेवैमा बन्न लागेको उक्त आयोजना नेपालमै परीक्षण आयोजनाको रूपमा पनि रहने निर्माण कम्पनीको दाबी छ। आयोजना बन्नेबारे वर्षदिनअघि हल्ला सुने पनि गाउँपालिकासँग कुनै छलफल भने नभएको र त्यसबारे थाहा नपाएको गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए।

पप्पु कन्ट्रक्सनले त्रिशूलीमाथि पक्की पुल निर्माण नगर्दा हाइड्रोपावरको काम गर्नसमेत समस्या भएको छ। निर्माण कम्पनीले कन्स्ट्रक्सन, सडक विभाग, सांसदहरूसँग छलफल गरेर बेलिब्रिज राख्न सहयोग गर्ने भएको छ। पप्पु कन्स्ट्रक्सनले पुल समयमै नबनाएको हुँदा आयोजनासमेत अप्ठ्यारोमा परेको छ।

पप्पुलाई गोरखातर्फ निर्माण सामग्री लैजान सडक विभागले बेलिब्रिज हालिदिने भएपछि जलविद्युत् आयोजनाले ब्रिज राख्न सहयोग गर्ने भएको एघार किलो छेवेटार बारपाक सडक आयोजनाका इन्जिनियर राजेशकुमार यादवले बताए। जलविद्युत्लाई निर्माण सामग्री लैजान पुल आवश्यक परेपछि उसले बेलिब्रिजमा पप्पुलाई सघाउन लागेको हो।

पप्पु कन्स्ट्रक्सनले २०७२ मा सक्नुपर्ने पुलको काम अहिलेसम्म आधा पनि नगर्दा पृथ्वी राजमार्ग भएर आसपासमा गोरखा जोड्ने पुल बनेको छैन। त्यसले गर्दा सर्वसाधारणको आउजाउ, विकास निर्माण, ढुवानीदेखि ठूला योजनाको काम समेत प्रभावित भएको छ। बेलिब्रिज निर्माण भएको खण्डमा तत्कालको समस्या हल हुने र पक्की पुल पनि बन्ने स्थानीय आशामा छन्।

प्रकाशित: २५ चैत्र २०७५ ११:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App