coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बौलाहा कुकुरले टोकेर बृद्धा र गाई मरेपछि गाउँ आतंकित

उदयपुर–बौलाहा कुकुरको टोकाईले यहाँकी एक बृद्धाको मृत्यु र स्थानीयको एउटा गाई मरेपछि गाउँ पूरै आतंकित भएको छ । १५ दिनअघि गाउँकै एक कुकुरले टोकेर घाइते भएकी त्रियुगा नगरपालिका १ बोक्से बाबरीकी ७० वर्षीया मनसरी राईको अघिल्लो दिन मृत्यु भएको थियो भने स्थानीयको गाई पनि मरेपछि गाउँले आतंकित बन्न पुगेका हुन्।
 गाउँको भुस्याहा कुकुरले टोकेर घाइते भएकी राईको सोमबार विहान मृत्यु भएलगत्तै सोही कुकुरले टोकेको बाबरीकै राजकुमार राईको गाई सोमबार साँझ मरेपछि गाउँले त्राहीत्राही भएको प्रहरीले जनाएको छ । सोही कुकुरले सातादिनअघि टोकेर घाइते बनाएको स्थानीय महावीर राईकी १० वर्षीया छोरी रेजिनाको उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार बृद्धा र बालिकालाई अस्पताल ल्याएर एन्टिरेविज भ्याक्सिन दिइएको भए पनि बृद्धाको मृत्यु भएपछि गाउँले डराएका हुन्। ‘कुकुरले टोकेपछि बृद्धा र बालिका दुवैलाई एन्टिरेविज भ्याक्सिन दिइएको भनिएको छ’,  प्रहरी प्रमुख एसपी नरबहादुर केसीले भने, ‘तर, बृद्धाको मृत्यु भएको छ, बालिका पनि विरामी भएकाले गाउँलेमा त्रास बढेको पाइयो।’

कानमा टोकेर घाइते बालिकालाई उपचार जारी रहेको बाबु महावीरलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आतंकित गाउँलेहरुलाई चिकित्सक टोली खटाएर उपचार गर्ने व्यवस्था मिलाउन छलफल भइरहेको एसपी केसीले बताए ।
गाउँलेहरुले एक महिनाअघि जंगलबाट गाउँ पसेको स्यालले टोकेर घाईते कुकुर बौलाएर मान्छे र पशु चौपाया टोक्दै हिडेको बताएका छन् । उक्त स्यालबाट सरेको रेविज संत्रमण भएर कुकुर बौलाएको हुनसक्ने अनुमान गाउँलेको छ ।

 

प्रकाशित: २ कार्तिक २०७३ ०६:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App