८ वैशाख २०८१ शनिबार
समाज

किताब बोक्ने उमेरमा बच्चा

तस्बिर : कलिलैमा बिहे गरेकी धादिङ बेनिघाट रोराङस्थित बुस्रबाङकी चेपाङ महिला बच्चाका साथ।

धादिङ - एक छोरा र दुई छोरीकी आमा सानुकान्छी चेपाङ २१ वर्षकी भइन्। बेनिघाट रोराङ गाउँपालिका १ चिम्माङकी उनले १३ वर्षकै उमेरमा भागी बिहे गरेकी थिइन्। 

अहिले उनको दैनिकी काखे बच्चा स्याहार्ने र घरधन्दा चलाउँदैमा बित्छ। ‘१३ वर्षको उमेरमा ख्यालख्यालमै भागियो, सानैमा बच्चा जन्मिएपछि सुरुमा निकै गाह्रो भयोे, उनले सुनाइन्, ‘अहिले पढ्न मन लाग्छ तर, कामधन्दा कसले गरिदेओस्, अब मेरो भाग्य यस्तै हो भन्ने लाग्छ।’ 

१५ वर्षमा पहिलो सन्तान, १७ वर्षमा दोस्रो, १९ वर्षमा तेस्रो र २० वर्षमा चौथो सन्तान जन्माइन् उनले। चार सन्तानमध्ये तेस्रो सन्तान खेर गयो। स्कुल पढ्न तीन घण्टा टाढा जानुपर्ने थियो, चार कक्षामा पढ्दा पढ्दै उनले भागेर बिहे गरेको सुनाइन्। अज्ञानता र अभाव र समस्याले अहिल पछुतो लागेको उनले बताइन्।

 चेपाङ समुदायका अधिकांश किशोरी किताब बोक्ने उमेरमा बच्चा खेलाउँदै छन्। 

पढाइबाट वञ्चित हुँदा चेपाङ किशोरीका लागि विवाह नै विकल्प मानिएको छ। प्राथमिक तह पढे पनि त्यसपछिको अध्ययन गर्न घण्टौं हिँडेर जानुपर्ने बाध्यता छ। विद्यालय पहुँच टाढा भएपछि कि पढाइ छाड्नुपर्ने कि बिहे गर्ने हुन्छ उनीहरुले।

पढाइबाट वञ्चित हुँदा चेपाङ किशोरीका लागि विवाह नै विकल्प मानिएको छ। प्राथमिक तह पढे पनि त्यसपछिको अध्ययन गर्न घण्टौं हिँडेर जानुपर्ने बाध्यता छ। विद्यालय पहुँच टाढा भएपछि कि पढाइ छाड्नुपर्ने कि बिहे गर्ने हुन्छ उनीहरुले।

‘सानैमा बिहे गर्नुहुन्न, बच्चा जन्माउँदा समस्या हुन्छ भनेर कसैले सिकाएनन्’, सानुकान्छीले पछुतो मान्दै भनिन्, ‘सानैमा बिहे गर्ने चलन थियो, रोजेर बिहे गरें।’ 

माध्यमिक तह पढ्ने उमेर भएपछि मन पराएर आफैं बिहे गर्ने र त्यसपछि बच्चा जन्माउने चेपाङ  महिलामा आङ खस्ने समस्या पनि उत्तिकै देखा पर्ने गरेको छ। 

कानुनतः केटीको बिहे गर्न पाउने उमेर २० वर्ष हो। तर, भर्खर २१ वर्ष पुगेकी सानुकान्छी चेपाङका तीन सन्तान भइसके।

विभिन्न संघसंस्था, सरकारी निकायहरुले ‘बिहेबारी २० वर्ष पारि’ भन्ने नारा नै बनाएर कार्यक्रमहरु चलाइरहेका छन्। तर त्यसको प्रभाव भने शून्य छ। सानुकान्छी प्रतिनिधि पात्र मात्र हुन्। आर्थिक अवस्था कमजोर, गरिबी, पढ्न घण्टौँ धाउनुपर्ने समस्याका कारण अधिकांश चेपाङ बालिका किशोरावस्थामै आमा बनिसकेका हुन्छन्।

दक्षिणी धादिङ बेनीघाट रोराङ र गजुरी गाउँपालिकाका चेपाङ समुदायमा कलिलै उमेरमा बिहे गर्ने प्रचलन छ। कलिलो उमेरमै काखमा दूधेबालक, स्याहार नपुगेर शरीर पातलो भएको हरेक चेपाङ गाउँमा सजिलै देख्न सकिन्छ। पढ्ने उमेरमा चेपाङ किशोरी आमा बन्ने गर्छन्। बच्चा स्याहार्न नसक्ने उमेरमै विवाह गर्छन्। सानैमा बिहे गर्ने उनीहरूका लागि परम्पराजस्तै बनेको छ। बिहेबारे थाहै नभएकाहरू आमा बनेका छन्। हरेक गाउँमा प्रायः घरैपिच्छे काखेबालक सँगैका आमाहरू भेटिन्छन्।

बेनिघाट रोराङ गाउँपालिका १० रोबाङकी कल्पना चेपाङ १९ वर्षकी भइन्। उनका दुई वटा बच्चा छन्। एउटा दुई वर्षकी छोरी र एउटा काखे बच्चा साथमा छन्। पढ्ने स्कुल टाढा भएपछि ६ कक्षा पढ्दा पढ्दै १६ वर्षको उमेरमा गाउँ नजिकै भागेर बिहे गरेको उनले बताइन्। ‘गाउँमा कक्षा पाँचसम्म पढाइ हुने स्कुल छ तर बाँकी पढ्न घण्टौँ हिँड्नपर्छ’, चेपाङले भनिन्, ‘भागेर बिहे गरें, बच्चा जन्मियो, अहिलेचाँहि पढ्न पर्दो रहेछ भन्ने लाग्छ।’

आमा बन्दै गरेका महिलाहरू स्वास्थ्यसंस्था नदेखि बच्चा जन्माउँछन्। खानेकुरा पनि पहिल्यै कुखुरा साँच्न सके मासु खायो। नत्र खोले पीठो मै सुत्केरीले चित्त बुझाउनुपर्ने अवस्था रहेको उनले सुनाइन्। 

कलिलैमा बिहे हुनु, आफ्नो शरीरको विकास नहुँदै सन्तान जन्माउन बाध्य हुनु, उपचार र पोसिलो खाना नपाउनु, गर्भावस्थामा र सुत्केरी भएलगत्तै पनि आराम गर्न नपाउने बाध्यता अधिकांश चेपाङ महिलामा छ। कलिलैमा बच्चा जन्माउने र वर्षैैपिच्छे बच्चा जन्माउँदा उचित लालनपालन, रेखदेख दिन नसक्दा गर्भमै तुहिने गरेको पनि प्रशस्तै भेटिएका छन्। आमा बन्दै गरेका महिलाहरू स्वास्थ्यसंस्था नदेखि बच्चा जन्माउँछन्। खानेकुरा पनि पहिल्यै कुखुरा साँच्न सके मासु खायो। नत्र खोले पीठो मै सुत्केरीले चित्त बुझाउनुपर्ने अवस्था रहेको उनले सुनाइन्। 

चेपाङ परिवारमा सामान्यतया चारभन्दा कम बच्चा विरलै पाइन्छन्। एउटा बच्चा अकालमा मरे अर्को बच्चा जन्माउन हतार गर्ने र कलिलै उमेरमा छोरीको विवाह गर्ने संस्कार हटाउन नसकिएको नेपाल चेपाङ संघ, शिक्षा विभागका प्रमुख तिलक चेपाङले बताए। ‘सानैमा बिहे गर्ने, बिहे गरिसकेकालाई पनि सानै उमेरमा सन्तान जन्माउने गर्छन्,  जन्मान्तर कायम गर्न परिवार नियोजनका साधन प्रयोग गर्नेबारे जानकारी गराएपछि कसैले सुन्दैनन्’, प्रमुख चेपाङले भने, ‘विद्यालय टाढा हुनु, खाद्यान्न, लत्ता कपडाको जोहो गर्न नसक्नुका कारण चेपाङ बालबालिका शिक्षाबाट वञ्चित हुनेगरेका छन्।’  

२०६८ सालको जनगणनाअनुसार नेपालमा ६८ हजार ६ सय ९९ चेपाङ छन्। तीमध्ये धादिङमा भने झण्डै १८ हजार चेपाङ छन्। चेपाङ समुदायमा सरकारी तथा गैरसरकारी निकायले संचालन गरेको बालविवाहबिरोधी कार्यक्रमले पनि कुनै प्रभाव पार्न सकेको छैन। 

कानुनले बिहे गर्ने उमेर स्पष्ट तोकेको भए पनि नेपालका कतिपय गाउँमा चेतना अभावले अझै पनि सानै उमेरका बालबालिकाको बिहे हुने चलन छ। गरिबी, अशिक्षा, अन्धविश्वास र प्रजनन स्वास्थ्यस्थितिको सामान्य जानकारीसमेत नहुँदा कयौं गर्भवती महिला अकालमै ज्यान गुमाउन विवश छन्। 

 

प्रकाशित: २५ चैत्र २०७५ ०९:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App