coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डोल्पालाई अर्गानिक उत्पादन क्षेत्रको रुपमा विकास गर्न अभियान

डोल्पा- हिमाली जिल्ला डोल्पालाई अर्गानिक उत्पादन क्षेत्रको रुपमा विकास गर्ने गरि अभियानको थालनी गरिएको छ। विषादीको प्रयोग बढिरहेको बेला घरेलुरुपमा जैविक रसादीको उत्पादन गरि कृषकहरुलाई निशुल्क वितरण गरेर अभियानको थालनी गरिएको हो।

अर्गानिक उत्पादन क्षेत्रको रुपमा विकास गर्नको लागि ठूलीभेरी नगरपालिका ९ मोतिपुरमा घरेलुरुपमा स्थानीस्तरमा पाइने झारपातको प्रयोग गरि गत वर्षदेखि घरेलु जैविक रसादीको उत्पादन गरिन थालिएको छ।

वजारमा पाइने आयतित रसायनिक विषादीको प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास ल्याइरहेको बेला घरेलुस्तरमै जैविक रसादीको उत्पादन गरि वितरण हुनथालेपछि यसको प्रयोगप्रति कृषकहरुको आर्कषण पनि बढ्न थालेको छ।

पहिलो चरणमा डोल्पाका त्रिपुरासुन्दरी नगरपालिका र ठुलीभेरी नगरपालिका क्षेत्रलाई अर्गानिक उत्पादन क्षेत्रको विकास गर्ने कार्य अनुरुप यो अभियानको थालनी गरिएको हो।

कर्णाली जनजीविका कार्यक्रम केडको आर्थिक तथा प्राबिधिक सहयोगमा मोतिपुर ९ का स्थानीय बिमला थापा र लालबहादुर कठायतको जोडिले घरेलु जैविक रसादीको उत्पादन तथा प्रयोग सम्बन्धि तालिम तथा ज्ञान लिएर ब्यवहारमै उतारेपछि जैविक रसादीको उत्पादन हुन थालेको छ।

स्थानीयस्तरमा त्यसै कुहिएर जाने तितेपाती लिण्डे ओखर,अमिलोटर्रो,झारपात र बोझो लगायतको मिश्रण गरि दुइवर्ष अघि देखि घरेलु जैविक रसादीको उत्पादन गर्दै आएको मोतिपुर ९ का बिमला थापाले बताइन।

बार्षिक रुपमा वनपाखामा पाइने विभिन्न किसिमका झारपातबाट एक सय पचास भन्दा बढी जैविक रसादीको उत्पादन गरि निशुल्क वितरण गरिदै आएको पनि विमला थापाले बताइन।

जिल्लामै जैविक रसादी उत्पादनका लागि उदाहरणीय जोडिको रुपमा परिचित बिमला थापा र लालबहादुर कठायत गाउँघर र  वनपाखामा त्यसै खेर गइरहने झारपातबाट यस्तो आबश्यकीय जैविक रसादी बन्ला भन्ने सम्म शुरुमा आफुलाई नलागेको बताए।

तर दुई वर्ष देखि जैविक रसादीको उत्पादन गरि तरकारी लगायतका अन्य वालीमा प्रयोग गर्दा पहिलाको तुलनामा उत्पादनमा बृद्दि भई खान पनि स्वादिष्ट र स्वास्थ्यपरक हुने गरेको उनीहरुले बताए।

जैविक रसादीको अभावमा बजारमा पाइने रसायनिक विषादी प्रयोग गर्दा उत्पादनमा ह्रास आउनुका साथै स्वास्थ्यको लागि उपयुक्त नभइरहेको बेला जिल्लामै घरेलु जैविक रसादीको सहज उपलब्धता हुन थालेपछि अर्गानिक उत्पादनमा सहयोग पुग्न थालेको ठूलीभेरी नगरपालिका ९ का इन्द्रबहादुर कठायतले बताए।

कर्णालीको शुष्क तथा अर्ध शुष्क क्षेत्र जैविक कृषि प्रविधिको अनुसन्धानको क्रममा ठूलीभेरी नगरपालिका ९ मोतिपुरमा घरेलु जैविक रसादी उत्पादनको लागि परीक्षण गरिएको थियो।

बर्षभरिमा अत्यन्तै कम पानी पर्ने शुख्खा क्षेत्रको रुपमा मोतिपुरलाई जैविक रसादी उत्पादन स्थलकोे लागि छनौट  गरिएको थियो।

जैविक रसादीको प्रयोग घरघरले बढाऔ,अर्गानिक उत्पादनमा आत्मनिर्भर बनौ भन्ने नाराका साथ अर्गानिक क्षेत्रको रुपमा विकास गर्न अभियानको रुपमा जैविक कृषि प्रविधिको प्रयोग तथा उत्पादन कार्यक्रमलाई अगाडि बढाइएको कर्णाली जनजिविका कार्यक्रमका फिल्ड कार्यक्रम संयोजक उमाकान्त भूषालले बताए।

जैविक रसादी उत्पादनको लागि संकलन गरिएको झारपातबाट रसादीको साथै प्राङ्गारिक मल समेत उत्पादन हुने भएकाले अर्गानिक उत्पादन गर्नमा कृषकहरुलाई सहज हुने भुषालको भनाई छ।

कर्णाली प्रदेश सरकारको पहिलो बैठकले पनि कर्णाली प्रदेश पुरै अर्गानिक प्रदेशको रुपमा विकास गर्ने निर्णय गरेको थियो।

समग्र कर्णाली प्रदेश नै शुष्क तथा अर्ध शुष्क क्षेत्रमा पर्ने भएकाले जैविक कृषि प्रविधिको प्रयोगमा बृद्दि गरि जैविक तरिकाले खेती गर्न सके कर्णाली प्रदेश अर्गानिक प्रदेशको रुपमा विकास भई सवल र स्वच्छ प्रदेश बन्नमा कुनै दुईमत नभएको ठुलीभेरी नगरपालिका ९ का वडा अध्यक्ष वीरमलकुमार भण्डारीले बताए।

प्रदेश सरकारले समेत पुरै प्रदेश अर्गानिक बनाउने निर्णय गरेकाले स्थानीय सरकारले पनि अर्गानिक क्षेत्रको विकास गर्न जैविक कृषि प्रविधि तथा उत्पादनको लागि कृषकलाई आर्थिक तथा प्राविधिक सहयोग गर्नु पर्ने भण्डारीको भनाई छ।

 

 

प्रकाशित: २५ चैत्र २०७५ ०८:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App