coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सुगन्ध

अनुपम पाेखरेल

जोगी बन्न घरबाट भागेको म, हिमालयको कुनै गुफामा बसी तपस्या गर्ने सपना पालेर बद्रीनाथ जान तम्सेको थिएँ। जाडो महिना थियो। गर्मीमा औधी गर्मी र जाडोमा उस्तै जाडो हुने दिल्लीले नै मलाई तर्साइसकेको थियो। दिल्लीबाट हरिद्वार हुँदै ऋषिकेश र बद्रीनाथ पुग्ने योजना थियो मेरो। बीस वर्षको शरीर, खल्तीमा केही हजार भारतीय रुपैयाँ र एक सरोलुगा। सम्पत्तिको नाममा केवल यत्ति थियो मसँग। भनाइ छ एउटा, ‘धर्मबाट विरक्तिनु छ भने पण्डित पुजारीको संगत गर्नु।’ हरिद्वार पुग्दा मलाई त्यस्तै भएको थियो। सनातन हिन्दू धर्मलाई केवल कमाइ खाने भाँडो बनाएका अधिकांश ब्राह्मणहरुलाई देखेर ब्राह्मण मात्र के, त्यहाँ त क्षत्रीय, वैश्य, सुद्र सबै पाँच दस रुपैयाँका लागि हानथाप गरिरहेका देखिन्थे। हरिद्वारमा दुई दिन पनि टिक्न नसकेर म ऋषिकेश हान्निएको थिएँ। हिमालयका दुरुह गुफाहरुमा शरीरका सारा इन्द्रिय खिचेर वर्षौं तपस्या गर्न भनी निस्किएका आदिम योगीहरुको बेस क्याम्प ऋषिकेश। यसबेला ऋषिकेश हिन्दू धर्मको राजधानीझैं बनेको थियो। विश्वप्रख्यात सांगीतिक समूह बिटल्सदेखि लिएर स्टिभ जब्ससम्मको हिप्पी अवतार देखेको ऋषिकेश। केही हदसम्म काठमाडौंका टुरिस्ट हबहरुको झझल्को दिलाउने यो ठाउँमा भने मेरो मन केही रत्तिएको थियो। यसर्थ हिमाल चढी तपस्या आरम्भ गर्नुअघि यो बेस क्याम्पमा केही दिन बिताउने निर्णय मैले गरेको थिएँ। अर्को स्वार्थ पनि थियो यहाँ बस्न चाहनु को। एक सय साठी रुपैयाँमा संसारको अरु कुनै कुनामा कहाँ होटल कोठा पाइन्छ? यहाँ त छ महिना बसे पनि पुग्ने पैसा थियो मसँग र थियो उस्तै परी आएको खण्डमा भिक्षा मागेर खाने हिम्मत पनि। भिक्षार्थीलाई दान गर्न इच्छुक धनाढ्य भारतीय पर्यटकहरुको कमी पनि थिएन। विशेषतः मलाई तानेको थियो त्यहाँको साँझले। साँझ परेपछि म जस्तै आध्यात्मिक खोजमा निस्किएकाहरुको झुण्ड नै गंगा किनारमा टहल्न निस्कने प्रायः त युरोपेली र अमेरिकीहरु नै बढी। कोही धोती लगाएका कोही केश खौरी टुप्पी पालेका। सायद बिटल्सको प्रभावमा, कोही काँधमा सितार झुन्ड्याएर हिँडेका। ऋषिकेशस्थित महर्षि महेश योगीको आश्रममा बसेर योग ध्यान सिकेका बिटल जर्ज ह्यारिसनले सितार सम्राट रवि शंकरसँग सितार सिकेर पूर्वीय शास्त्रीय संगीतलाई पास्चात्य पपसँग सम्मिश्रण गरेयता थुप्रै पश्चीमेलीहरुमा सितार सिक्ने धुन सवार भएको थियो।

लगभग काठमाडौं जस्तै मौसम, चारैतिर हरियाली र एउटा कुनामा अथाह गहिराइ बोकेर प्राचीन कालदेखिका अनेकन पौराणिक कथाहरुको नायिका बनेर बगेकी गंगा! साक्षात् योगेश्वर भगवान् शिवको केशबाट झरेकी मानिने गंगा। गंगा किनारामा थापिएका स–साना चियापसल, पर्यटक तान्न निरन्तर बजाइने अमेरिकनहरुको स्वरमा रेकर्ड गराइएको हिन्दूमन्त्रहरु र निस्फिक्री अप्सराहरुझैं हिँडेका विदेशी महिलाहरु। कोही सारी लगाएका त कोही कुर्ता सुरुवाल। चुरा टीका प्रायः सबैले लगाएका। बेलाबेला गंगातिरबाट बगी आउने चिसो हिमाली बतास। मलाई यहाँको साँझ स्वर्गीय लाग्न थालेको थियो। यस्तै एउटा साँझ म गंगामा खुट्टा डुबाएर पानी सिंगडा छोडाउँदै खाँदै र त्यसका बोक्रा गंगामै फाल्दै थिएँ। त्यही साँझ भेटिएकी थिई लारा। गंगा किनारमा आरती सुरु हुन लाग्दै थियो। भीड आरती हुन लागेको स्थानतिरै बढी केन्द्रित देखिन्थ्यो।

मलाई भने त्यो भीडमा समाहित हुनुभन्दा एक्लै बसेर सूर्यास्तको दृश्य हेर्नुमा बढी चाख लागेको थियो।

सूर्य लगभग अस्ताउनै लागेको बेला किनारको एउटा कुनामा धुमधुम्ती एक्लै बसेको मलाई आएर उसले आफ्नो क्यामेरा तेस्र्याउँदै भनेकी थिइ, ‘एउटा फोटो खिचिदिन्छौ?’

सुनौला बुट्टा कुँदिएका निक्खर सेतो कुर्ता सुरुवाल र सुनौलो रंगकै चुरा उसको हिउँजस्तो सेतो शरीरमा यस्तो सुहाएको थियो मानौं हिमालय पर्वतकी छोरी पार्वती ऊ स्वयं हो।

मैले लाइन मार्ने शैलीमा भनेको थिएँ, ‘मसँग पनि एउटा खिच है त?’

फोटो खिची सकेर ऊ पनि मसँगै गंगाको पानीमा आफ्नो खुट्टा डुबाउन बसेकी थिई। जर्मनीबाट योग सिक्न आएकी लाराको कथा पनि मेरोभन्दा भिन्न कहाँ रहेछ र? संसारबाट बिरक्तिएर आध्यात्मिक खोजमा भारत हानिएकी ऊ अर्को दिनबाट शिवानन्द आश्रममा योग सिक्नका लागि एक महिनाको शिविरमा बस्न लाग्दै रहिछ। जर्मन बाउ र पोलिस आमाकी एक्ली छोरी ऊ, ऊ नजन्मिँदै उसका बाउ आमाको डिभोर्स भएको रहेछ। ऊ भन्दै थिई, ‘सबै सम्बन्ध त्यस्तै हुन्छ। सुरु सुरुमा ईश्वरको याद दिलाउने, बिस्तारै बिस्तारै एक अर्काको अनुहारै हेर्न वाक्क हुँदै जाने। मलाई कसैले प्रेम गर्नु छ भने जीवनभर किस्ताबन्दीमा अलि अलि गर्नुको सट्टा एकै दिनका लागि सही, त्यो सबै प्रेम जम्मा गरेर एकैपल्ट खन्याओस्।’ एक महिनाका लागि बन्द शिविरमा बस्नुपर्ने भएकाले आज साँझ फ्रेस हुन बाहिर निस्किएकी बताउँदै थिइ ऊ। मैले उसलाई आफू तपस्या गर्न बद्रीनाथतिर हिँडेको कुरा बताउँदा खुबै चाख दिएकी थिई उसले । साँझ झमक्क पर्दा सुरु भएको आरतीको दृश्य हामीले गंगा किनारमा साथै बसेर हेरेका थियौं। बेलाबेला गंगाबाट आएको चिसो बतासले उसको शरीरको मिठो सुगन्ध पनि मतिर फ्याँकिरहेको थियो। लागिरहेको थियो मानौं म स्वर्गको कुनै बगैंचामा बसिरहेको थिएँ जहाँ फुलेका थिए असंख्य बास्नादार गुलाब। ऋषिकेशको कुनै साँझ गंगा किनारमा चाहेजस्तै नास्तिक किन नबसोस्, ऊ स्वतः ध्यानस्थ हुन थाल्छ र आफ्नो वरिपरिको वातावरणसँग एकाकार हुन थाल्छ। लारा पनि यसै लठ्ठिएकी थिई। म चाहिँ यसबेला धेरै उसैलाई हेर्दै लट्ठिएको थिएँ जसको चाल उसले पनि पक्कै पाइरहेकी थिई। त्यसमा उसलाई पनि केही आपत्ति नभएको हुँदो हो। त्यसैले त सायद, आरती सकिएर गंगा किनार लगभग खाली भइसक्दा पनि हामीसँगै बसिरहेका थियौं। कुरा हामी ध्यान र समाधिका गरिरहेका थियौं। मनले भने हाम्रो अर्कै केही भनिरहेको थियो। हामी कुन बेला त्यहाँबाट उठ्यौं, कुनबेला उसले मलाई उसको होटेलसम्म छाड्न भनी र म उसको पछिपछि लागेँ, अहिले सम्झँदा सबै सपनाजस्तो लाग्छ। त्यो बेला भने म मन्त्रले लठ्ठिएर तानिएझैं उसको पछिपछि तानिएको थिएँ। यसरी जर्मनीकी लारा र म, संसारका दुई विपरीत गोलाद्र्धका हामीले ऋषिकेशको पवित्र भूमिमा छोटो समयका लागि सही समाधिको अनुभव गरेका थियौं। समाधि भन्नु आखिर त्यही त हो, जहाँ दुई एक अर्कामा समाहित भएर एकाकार हुन्छन्। सिरकभित्र घुस्रिएर लपक्क मसँग टाँसिएकी लाराले निधाउनु अघि भनेकी थिई, ‘म भोलि बिहान सबेरै निस्कन्छु शिविरका लागि। तिमी उठ्नुभन्दा अघि बिदा माग्न पाइनँ भने नराम्रो नमान्नु ल।’ भोलि बिहान म उठ्दा ऊ कोठामा थिइन। थियो केवल उसको शरीरको अत्तरको एउटा मिठो, मादक र प्यारो सुगन्ध। यस्तोमा मेरो मन उदास, बेचैन हुनु पर्ने थियो, तर भएन। मलाई लाग्यो जीवनभर कसैले कसैलाई गर्ने प्रेम त्यो एउटा साँझ र रातमा हामीले एकमुस्ट एक अर्कालाई गरेका थियौं। यस्तो एउटा प्रेम जो मुक्त थियो सारा बाचा बन्धन र समय क्रमसँगै धमिलिँदै जाने भावनाहरुबाट। लारा थिइनन्, तर कोठामा उसको बास्ना छँदै थियो। आफ्नो होटलबाट चेकआउट गरेर म त्यही कोठामा सिफ्ट भएको थिएँ। जतिञ्जेल उसको सुगन्ध त्यो कोठामा रहन्छ त्यतिञ्जेल त्यसैसँग समय बिताउन सक्छु। यसको दुई दिनपश्चात् म हिमालयको काखमा स्थित बद्रीनाथतर्फ तपस्या गर्न हान्निएको थिएँ। ओठमा मुस्कान र यादमा एउटा मिठो सुगन्ध बोकेर।  

प्रकाशित: २५ चैत्र २०७५ ०७:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App