७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिकी गृहमन्त्री निल्सनद्वारा राजीनामा

तस्बिर: एजेन्सी

वासिङ्टन– अमेरिकी गृहमन्त्री (होमल्यान्ड सेक्युरिटी) कस्र्टजेन निल्सनले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रहरुबाट मेक्सिकोको सीमा हुँदै आप्रवासीको अमेरिका प्रवेशलाई रोक्न पर्याप्त कदम नचालेको भन्दै आलोचना गरेसँगै निल्सनले राजीनामा दिएकी हुन्।

राष्ट्रपति ट्रम्पले पनि ट्वीट गर्दै निल्सनको राजीनामा स्वीकृत गरिएको बताए। उनले गृह मन्त्रालयको जिम्मेवारी हाल अमेरिकी भन्सार तथा सीमा सुरक्षा आयुक्त केभिन म्याकअलीनानलाई दिएका छन्।

म्याकअलीनान लामो समयदेखि अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागमा कार्यरत छन्। उनी अमेरिकी कङ्ग्रेस एवं प्रशासनभित्र निकै सम्मानित व्यक्तित्व पनि हुन्।

'जिम्मेवारीबाट बाहिरिने अहिले सबैभन्दा उत्तम समय हो भन्ने मैले ठानेकी छु,' निल्सनले लेखेकाे अवकाशपत्रमा उल्लेख छ। 'अब नियुक्त हुने मन्त्रीलाई कङ्ग्रेसको पूर्ण समर्थन रहने र आप्रवासीका सम्बन्धमा देखिएका कानुनी जटिलताहरु फुक्दै जाने मैले विश्वास लिएकी छु।'

अमेरिकी कानुनी व्यवस्थामा रहेका जटिलताका कारण आप्रवासीहरु सहजै अमेरिका प्रवेश गर्ने गरेको पूर्वमन्त्री निल्सनको धारणा छ।

यही तथ्यलाई मनन गरी ट्रम्प प्रशासनले गृह विभागमा व्यापक फेरबदल गर्न चाहेको छ।

राजीनामा गर्नुअघि निल्सनले गत शुक्रबार ट्रम्पसँगै अमेरिकी–मेक्सिको सीमा क्षेत्रको भ्रमण गरेकी थिइन्। त्यहाँ अमेरिकी सीमा अधिकारीहरु र स्थानीय कानुन कार्यान्वयन एजेन्सीका अधिकारीहरुसँग गोलमेच बैठक समेत गरेकी थिइन्। ती बैठकमा राष्ट्रपति ट्रम्पले चर्को आलोचना गर्न थालेपछि निल्सन बैठक कक्षबाहिर समेत निस्किएकी थिइन्।

सीमा क्षेत्रको भ्रमणपछि निल्सन वासिङ्टन फर्किएकी थिइन् भने राष्ट्रपति ट्रम्प क्यालिफोर्निया र नेभादातर्फ चुनावी सभामा सम्बोधन गर्न प्रस्थान गरेका थिए।

निल्सनका नजिकका व्यक्तिहरुका अनुसार निल्सनले अरु विभागबाट पर्याप्त सहयोग प्राप्त गर्न नसकेको तथा कठिन आप्रवासन मामिलामा ट्रम्पका सहयोगी एवं सल्लाहकारबाट अनावश्यक दबाब दिएको अनुभव गरेकाे थिइन्। रासस

प्रकाशित: २५ चैत्र २०७५ ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App