७ वैशाख २०८१ शुक्रबार
अर्थ

बजेट बनाउँदा आयोगसँग सहकार्य गर : उपाध्यक्ष

काठमाडौं – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेलले आगामी वर्षको बजेट बनाउँदा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग प्रभावकारी सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्। अन्य मुलुकमा बजेट तर्जुमा गर्दा अर्थ मन्त्रालयले आयोगसँग पर्याप्त छलफल र सहकार्य गर्ने प्रचलन छ। तर नेपालका अधिकांश अर्थमन्त्रीले बजेट बनाउँदा आयोगका पदाधिकारीसँग खासै सहकार्य गर्ने गरेका छैनन्। यही पृष्ठभूमिलाई हेरेर उपाध्यक्ष कँडेलले बजेट तर्जुमा गर्दा आयोगको सहकार्य खोजेका हुन्।

‘विगतमा अर्थले आयोगको सहकार्य त्यत्ति बढी नलिइ बजेट बनाउने गरेको परम्परा छ,’ आइतबार अर्थ मन्त्रालयमा चालु आवको दोस्रो चौमासिक समीक्षा र मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक उपाध्यक्ष कँडेलले भने ‘आगामी वर्षको बजेटमा दुई निकायबीच प्रभावकारी रुपमा सहकार्य हुनुपर्छ।’ कँडेलले चालु आर्थिक बर्षको बाँकी अवधिमा लक्ष्यअनुरुप कार्य गर्न पनि जोड दिए।

अर्थमन्त्री युवराज खतिवडाले अर्थ मातहतका निकायलाई लक्ष्यअनुसार यथाशीघ्र काम गर्न निर्देशन दिए। चालु आवमा सरकारका कुनै पनि निकायले लक्ष्यअनुसार काम गर्न सकेका छैनन्। खतिवडाले बजेट कार्यान्वयनलाई उपलब्धीमूलक बनाउनु पर्ने र संशोधन गर्नुपर्ने बाँकी कानून चाँडो बनाउन निर्देशन दिए। राजस्व चुहावट नरोकिएको र लक्ष्य अनुसार असुली नभएको अवस्थामा मन्त्री खतिवडाले राजस्व परिचालनमा बिलिङ कार्यान्वयन र बजार अनुगमनलाई थप तिव्रता दिन निर्देशन दिए।

अर्थमन्त्री खतिवडाले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना बमोजिमका कार्यको समयमा कार्यान्वयन जिम्मेवार भएर गर्नुपर्नेमा जोड दिए। उनले अन्तर प्रदेश परिषद एंव अन्तर सरकारी वित्त परिषदको निर्णय कार्यान्वयन गर्न र आगामी आर्थिक बर्षको बजेट तर्जुमा गर्दा वित्तीय संघीयता प्रभावकारी कार्यान्वयन गर्न समेत निर्देशन दिए। अर्थ सचिव राजन खनाल, राजस्व सचिव लालशंकर घिमिरे र महालेखा नियन्त्रक  सूर्यप्रसाद गौतमले पनि लक्ष्यअनुसार काम गर्नुपर्नेमा जोड दिए।

अर्थका सहसचिव उत्तरकुमार खत्रीले गत एक बर्षको अवधिमा अर्थ मन्त्रालय र अन्तर्गत भएका उपलब्धीका बारेमा प्रस्तुती दिएका थिए। अर्थले एक बर्षमा कानून निर्माण, वित्तीय संघीयता कार्यान्वयन, वित्तीय क्षेत्र ब्यवस्थापन र राजस्व प्रशासनमा सुधार लगायतमा काम गरेको उनले बताए। कार्यक्रममा समग्र बजेट खर्च स्थिति, अर्थ मन्त्रालयको खर्च स्थिति, बार्षिक लक्ष्य र प्रगति विवरण, आयोजना र कार्यक्रम कार्यान्वयनमा देखिएका केही तथ्य र प्रगति बारे संक्षिप्त प्रस्तुति भएको थियो।

 

प्रकाशित: २५ चैत्र २०७५ ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App