७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

पशुपतिनाथ : जीवन र मरणको संगम

जब मलाई फुर्सद हुन्छ, म पशुपतिनाथ मन्दिर पुग्छु। त्यहाँ वरिपरिको वातावरणमा रमाउँछु। काठमाडौँको पूर्वी क्षेत्रमा रहेको बाग्मती किनारमा अवस्थित पशुपतिनाथमा भगवान शिवका भक्तजनहरुको भिड लाग्न गर्छ। यो हिन्दू धर्मवालम्बीहरुको आस्थाको केन्द्र पनि हो। तर म प्रत्येक पटक पशुपतिनाथ क्षेत्रमा जाँदा केही न केही नयाँ तथ्यको खोजी गर्छु।

पशुपतिनाथ क्षेत्रमा सजिएर बसेका साधुसन्तहरुको आकर्षक पक्ष पनि मलाई रमाइलो लाग्छ। म सधैं उनीहरुको जीवन कस्तो होला भनेर सोच्ने गर्छु। अझ आर्कषक र रमाइलो पक्ष उनीहरुले विदेशी प्रर्यटकले उनीहरुको तस्बिर खिँच्दा दिने हाउभाउ र तस्बिर खिचेपछि प्रर्यटकसँग पैसा माग्ने तरिका हो।

नदीमा भक्तजनहरुले चढाएको सिक्का जम्मा गर्न त्यहाँ विभिन्न समूहको भीड लाग्ने गर्छ। उनीहरु चुम्बक भएको डोरीको माध्यमले धेरैभन्दा धेरै सिक्का जम्मा गर्न लागिपरेका हुन्छन्। उनीहरुबीच प्रतिस्पर्धा नै चल्ने गर्छ, जुन आफैँमा एक आकर्षक पक्ष हो।

यस क्षेत्रमा केही यस्ता बालबालिकासमेत देख्न सकिन्छ, जो आर्यघाटको वरिपरि शव जलाएपछि बाँकी रहेका काठका दाउराहरु जम्मा गर्दै दिन बिताइरहेका हुन्छन्। यसबाट उनीहरुले आफ्नो जीविकोपार्जन चलाइरहेका छन् । उनीहरु अधिकांश काठमाडौँ जिल्ला बाहिरबाट आएका हुन्छन्।

पशुपतिनाथ मन्दिर परिसरभित्र विभिन्न परिदृश्य पनि देख्न सकिन्छ। केही भक्तजनहरु मन्दिरमा पूजाआाज गर्दै रमाइरहेका हुन्छन्। केही मानिस आफ्ना परिवारजन तथा आफन्तको निधनमा आर्यघाटमा रोइकराइ गरिरहेका हुन्छन्। केही बच्चा खेल्दै रमाइरहेका हुन्छन्, केही बुढापाकाहरु दिनको घाममा मन्द निन्द्रामा रमाइरहेका हुन्छन्। यहाँ जीवन र मृत्युलाई नजिकबाट बुझ्न सकिन्छ।

म पशुपतिनाथ आर्यघाटमा रहेका चित्ताहरुमा भैरहेका अन्तिम संस्कारलाई राम्रोसँग नियाल्ने गर्छु। जब म जलिरहेको चित्ता हेर्छु, तब जीवन र मुत्युबीचको भिन्नता महसुस गर्छु। मानिसको जीवन एक दिन अन्त्य हुने निश्चित छ भन्ने तथ्य उजार हुन्छ। जुन आफैँमा एक सुन्दर अनुभव हो। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App