८ वैशाख २०८१ शनिबार
खेल

मोरङ र झापाको विजयी सुरुआत

पाँचथरका गोल्डकपमा प्रतिस्पर्धा गर्दै झापा (हरियो) र इलामका खेलाडीहरू । तस्बिर : गिरिराज बाँस्कोटा/नागरिक

पाँचथर– वर्षाका कारण निर्धारित समयभन्दा एक दिनपछि आइतबारबाट तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता सदरमुकाम फिदिममा सुरु भएको छ। फिदिम माविको खेलमैदानमा आइतबार भएका दुई खेलमा डिएफसी मोरङ र बिर्तामोड युनाइटेड झापाले विजयी सुरुआत गरेका छन्। खराब मौसमले हिलाम्मे बनेको मैदानमा खेल भएको थियो।

मोरङले मिसन युनाइटेड ताप्लेजुङ र झापाले रेड हर्स इलामलाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेका हुन्। मोरङले ताप्लेजुङलाई ६–१ गोलको फराकिलो अन्तरले हराएको हो। यस्तै, झापाले इलामलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हरायो।

अनुभवी खेलाडीका साथ मैदान उत्रिएको मोरङका खेलाडीका अघि  ताप्लेजुङका खेलाडी फिका साबित भए। एकतर्फीजस्तो देखिएको खेलमा मोरङले फराकिलो जित निकालेको हो। मोरङका तर्फबाट  विदेशी खेलाडी अर्मान एक्लैले ४ गोल  गरेका थिए। खेलको सुरुआती १० मिनेटमा अर्मानले पहिलो गोल गर्दै आफ्नो टोलीलाई टोलीलाई अग्रता दिलाएका थिए। १७ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै उनले फेरि गोल गरे। २८औँ मिनेटमा रिबाउन्ड बललाई गोल गर्दै अर्मानले ह्याट्रिक पूरा गरे। खेलको ३९ मिनेटमा हेमन थापाले गोल थपे। ५३औँ मिनेटमा पुनः भिडामले गोल  गर्दै व्यक्तिगत गोलसंख्या ४ पु-याए। खेलको ६५ मिनेटमा संजोग राईले गोल थपेर अन्तर बढाए। खेलको ७० औं  मिनेटमा ताप्लेजुङका सन्त राईले गोल फर्काए पनि जित पछ्याउन यो पार्यप्त हुन सकेन। भिडामा म्यान अफ दी म्याच घोषित भए।

दोस्रो खेलमा इलामलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पछि पार्दै डिफेन्डिङ च्याम्पियन झापा विजयी भएको हो। निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकर पुगेको थियो।  झापाका विकेश लिम्बुले सुरुआती १० मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। डिफेन्डरले क्लियर गर्न नसक्दाको फाइदा लिम्बुले उठाए। तर यो अग्रता धेरै समय टिक्न सकेन। खेलको ३३औँ मिनेटमा इलामका वीरेन्द्र लिम्बुले गोल फर्काउँदै बराबरी गरेका थिए। मनीष थापाको क्रसलाई लिम्बुले गोलमा परिणत गरेका थिए। निक्कै प्रतिस्पर्धी खेलमा दुवै टोलीका खेलाडीले पटकपटक गोल गर्ने मौका पाए पनि सफल भएनन्।  टाइब्रेकरमा झापाका निशान खडका, विकी  चौधरी, राजकुमार कन्दङवा, दिलेन लोक्ताम र योगेश गुरुङले गोल गरे। दर्शन गुुरुङले गोल गर्न चुक्दा इलाम स्तब्ध बन्यो। इलामका मनीष थापा, पूर्ण चेम्जोङ, हरि निरौला र पासाङ शेर्पाले गोल गरेका थिए।  झापाका योगेश गुरुङ म्यान अफ दी म्याच घोषित भए। सोमवारको खेलामा आयोजक पाँचथर क्लबले डिएफसि मोरङको सामना गर्नेछ।

प्रकाशित: २५ चैत्र २०७५ ०५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App