coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

टेन्टको बास र मौसमको त्रास

हावा हुण्डरी प्रभावित बाराको भरवलिया गाउँमा सामूहिक भोजनालय ‘मेस’बाट परिवारका लागि खाना लिँदै स्थानीय बालबालिका । तस्विरः रितेश

वीरगन्ज– गत १७ गते  साँझ आएको विनाशकारी हावा हुण्डरीले घरबार बिहीन भएकाहरुले राहतको त्रिपालमा ओत लाग्न खोजिरहेको बेला अकाशबाट गड्याङ्ग गुडुङ्गसंगै बेला बेलामा पानी पर्न पनि सुरु भएको छ। चैत्रको महिनामा दिउँसो घरमा राप सहन नसक्ने हुन्छ, रातको अन्तिम पहरमा वा पानी परेको बखत जाडोले सताउँछ। भनाई नै छ, ‘चैतको जाडो थेग्न नसकेकाले गाई बेंचेर कम्बल किन्छन्। घाम थेग्न नसक्नेले छाता।’ यस्तोमा घाम, पानी र हवाले सताउँदैछ, हावाहुरीबाट बेघर भएका पीडितलाई। 

‘हिजो (शनिवार) साँझैदेखि मौसम खरब भएपछि हामी निकै डराएका थियौं, हावा पनि चलेको थियो, हाम्रो घर अब छैन, अस्ती सेनाले लगाइदिएको टेन्टमा १० परिवार बस्छ, खाना के खाने ठेगान थिएन, चिउरा र चाउचाउ पाएका छौं, त्यही खाएर बस्नु पर्ला भन्ने थियो’, सामूहिक भोजनालय (मेस)मा भेंटिएकी भरवलियाकी अञ्जली राउतकुर्मीले भनिन, ‘यहाँ खाना पाइँदैछ भन्ने थाहा भएपछि राति १० बजे आएर खाना लगेर खायौं।’ कलैया जेसीले चलाएको मेसमा आइतवार बिहान १० बजे खाना लिन आएकी बालिकाले अघिल्लो साँझको घट्ना सुनाइन। शनिबार मौसम खराब भएपछि आधीहुरी पीडितमा थप त्रास फैलिएको छ। 

‘सबैभन्दा बढी घर यस गाउँमा क्षति भएको रहेछ, हिजो शनिवारदेखि हाम्रो यो मेस बन्द गर्ने कुरा भए पनि कसैको घरमा पनि चुल्हो सुरु नभएकोले स्थानीयको आग्रहअनुसार हामीले केहीदिन अझ निरन्तरता दिने निर्णय गर्यौ’, कलैया जेसिसका कोषाध्यक्ष श्रवण कुमार साहले भने, ‘मौसमको त्रास छ।’ शुक्रवार राति आकाशले रंग फेर्यो अनि बादल मडारिन थाल्यो। शनिवार दिनभरी आकाशमा कालो बादल मात्र रहेन, बेला बेलामा पानी पनि पर्यो। आइतवार घरी घाम, घरी अध्यारो छाया छ। ‘मौसम बिग्रिएको देखेर मानिसहरुको सातो गइरहेको छ’, स्थानीय अगुवा वीरेन्द्र प्रसाद साहले भने, ‘राहत बितरण भइसकेर केही कुरा हामीसँग अधिक पनि छ यहाँ। जस्तै अरु ठाउँमा चाहियो भने झुल लैजाँदा हुन्छ भनेका छौं। चिउरा, चाउचाउ र अन्नहरु प्नि पुगेका छन्। तर यी सब कुराले मौसमको त्रास कम गर्दैन नी।’

स्थानीय बासहरु बनाउनेतिर अब सबैको ध्यान केन्द्रीत हुनुपर्ने उनले बताए। अरु ठाउँमा ‘मेस’बन्द भए पनि अधिक भौतिक नोक्सानी भएको भरवलियामा भने अझ चलिरहेको छ। अवस्था हेरेर चलाउनु परेको कलैया जेसिका अध्यक्ष राजेश कुशवाहाले बताए। बिहान बेलुका गरी हजार बढीलाई आफूहरुले खाना खुवाई रहेको उनले बताए। व्यक्तिगत रुपमा मानिसहरुले घरघरमा चुल्हो बालेर खाना बनाउन सुरु गर्न जरुरी रहेको राहत तथा उद्दारमा खटेकाहरु बताउँछन्। आइतवारदेखि ‘एसइई’ बाहेकका विद्यार्थीहरु पनि विद्यालय जान थालेका छन्। प्रभावित गाउँका विद्यालयहरु समेत भत्केकाले मौसमको प्रभावितमा पनि पर्ने देखिएको जेसिका साहले बताए। अरु बेला समस्या पर्दा शरण लिने ठाउँको रुपमा रह्ने विद्यालय पनि यस आँधीहुरीमा बँचेन। 

प्रकाशित: २४ चैत्र २०७५ १५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App