coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जनप्रतिनिधि कि ठेकेदार ?

निर्माण व्यवसायी संघ लहानको शनिबार सम्पन्न चुनावमा मतदान गर्न गोलबजार नगरापालिकाका मेयर देवनाथ साह चढेर आएको सरकारी जीप । तस्विरः नागरिक

लहान– शनिबार लहानमा सम्पन्न निर्माण व्यवसायी संघको चुनावमा वडा अध्यक्ष देखि प्रदेशसभा सदस्यसम्मले मतदान गरेको पाइएको छ। मेयर, वडा अध्यक्षहरु सरकारी सवारी साधन (सेतो नन्बर प्लेट) चढेरै चुनावमा मत खसाल्न आएका थिए।

संघको चुनावी गतिविधि रिपोर्टिङको क्रममा मतदानस्थल पुगेका नेपाल पत्रकार महासंघ सिरहाका कोषाध्यक्ष मनोज बनैताले नागरिकसँगले भने, ‘जनप्रतिनिधिहरु सरकारी सवारी साधन चढेर ठेक्केदारको चुनावमा भोट खसाल्न आएको दृश्यले ठेकेदारकी जनप्रतिनिधि ठम्याउनै गाह्रो भयो।’ ठेकेदारको हैसियतमा आएको हो भने सरकारी सावारी साधन जुन उनीहरुलाई जनप्रतिनिधिको हैसियतमा प्राप्त भएको हो त्यो नचढी आएको भए हुन्थ्यो’, बनैताले भने। 

ठेक्केदारको चुनावमा वडाध्यक्षदेखि प्रदेश सांसदसम्म मतदाता, सरकारी गाडीको दुरुपयोग

शनिबार देखिएको दृश्यले ‘जनप्रतिनिधि कि ठेकेदार?’ प्रश्न उब्जाएको बताउँदै बनैताले भने, ‘सरकारी सवारीसाधन दुरुपयोगबारे प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई जानकारी गराउँदा उनले बेवास्ता गरे।’ एक त बिदाको दिन (शनिबार) त्यसमा पनि सरकारी सवारी साधन चढेर व्यक्तिगत प्रयोजनमा आउनु गलत भएको उनको भनाई छ। 

शनिबार निर्माण व्यवसायी संघको निर्वाचनमा प्रदेशसभा सदस्य अशोक यादव, गोलबजार नगरपालिकाका मेयर देवनाथ साह, लहान नगरपालिकाका वडा अध्यक्षहरु कन्हैया गुप्ता, मन्टीकुमार मण्डल, राकेश गुप्ता लगायतले मतदान गरेका थिए।  

आफ्नो पार्टी निकटका उम्मेदबार जिताउन जनप्रतिनिधिहरु शक्ति लगाएर भिडेका थिए। यो दृश्यले जनप्रतिनिधिका कार्यक्षेत्रमाथि नै प्रश्न उठाएको पत्रकार बनैताको टिप्पणी छ। 

प्रदेशसभा सदस्य अशोक कुमार यादव नेहा कन्सट्रक्सनका सञ्चालक हुन्। उनले सञ्चालकको हैसियतमा निर्माण व्यवसायीको निर्वाचनमा मतदान गरेका थिए। यस्तै, गोलबजार नगरपालिकाका मेयर देवनाथ साहको बिएन कन्सट्रक्सन, लहान नगरपालिका २२ नम्बर वडाका अध्यक्ष कन्हैया प्रसाद गुप्ताको ज्योती निर्माण सेवा, लहान नगरपालिका ७ का वडाध्यक्षको राकेश स्वरुप केशरी निर्माण सेवा, लहान नगरपालिका १० का वडाध्यक्ष मन्टीकुमार मण्डलको पिंकी निर्माण सेवा छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार यी सबैले सञ्चालकको हैसियतमा मतदान गरेका थिए। 

राय अध्यक्षमा निर्वाचित
यसैबीच शनिबार भएको निर्वाचनबाट निर्माण व्यवसायी संघ सिरहाको अध्यक्षमा रासलाल राय निर्वाचित भएका छन्। उनी इस्लाम अलीलाई ४९ मतले पराजित गर्दै विजयी भएका हुन्।  रायले १८१ र अलीले १३२ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा गोपाल राय, महासचिवमा नन्दकिशोर साह(मन्टुन), कोषाध्यक्षमा श्याम कुमार महतो र सदस्य दिपेनकुमार यादव राय प्यानलबाटै निर्वाचित भएका छन्। 

अलीको प्यानलबाट सचिवमा विमल अधिकारी, सदस्य अशोक कुमार यादव, जितेन्द्र कुमार यादव, कृष्णप्रताप सिंह, रामेश्वर साह, वीरेन्द्रकुमार यादव निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत प्रशुराम निरौलाले जानकारी दिए।

अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ६ जना सदस्य गरी ११ पदाधिकारीका लागि निर्वाचन भएको थियो। ३३१ मतदाता रहेको निर्माण संघमा ३१५ मत खसेको थियो।

प्रकाशित: २४ चैत्र २०७५ १३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App