६ वैशाख २०८१ बिहीबार
समाज

घारेले चिल्दा वन अधिकृत र वडाध्यक्षसहित ४ घाइते, हेलिकप्टरबाट काठमाडौं लगियो

सर्लाही– सयौं घारेले चिलेका कारण सहायक वन अधिकृतसहित ४ जना घाइते भएका छन्। गम्भीर घाइते सहायक वन अधिकृत जियालाल यादवलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ। 

सर्लाहीको हरिवन नगरपालिकाको सिमावर्ती सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ पथराई स्थित जंगलमा आइतबार दिउँसो १ बजे घारेले टोक्दा सहायक वन अधिकृत ५१ वर्षीय यादव, वन रक्षक ४२ वर्षीय जनकलाल धामी, हरिहरपुर गापा–७ का वडाअध्यक्ष ४५ वर्षीय बालकृष्ण नेपाल र स्थानीय ४२ वर्षीय श्याम नेपाल घाइते भएका हुन्। गम्भीर घाइते सहायक वन अधिकृत यादवलाई सर्लाहीको हरिवनस्थित नमूना अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ। 

रौतहट जिल्ला बौद्धिमाई नगरपालिका–८ निवासी यादवको अनुहारमा मात्र १५० भन्दा बढी घारेले चिल्दा छाडेका खिल रहेको बताईएको छ। यादवको शरीरका अन्य अंगमा समेत सयौं खिलहरु रहेको हरिहरपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्याम कुशवाहाले जानकारी दिए। यादव बेहोस अवस्थामा रहेका छन्। कुशवाहाका अनुसार वडाध्यक्ष नेपाल, वन रक्षक धामी र श्यामको भने क्यानेश्वर स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। 

मरिण डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत यादव, वन रक्षक धामी पथराई खोला भन्दा दक्षिण सर्लाहीको हरिवन नगरपालिकासँग सिमाना जोडिएको वन क्षेत्रमा वैज्ञानिक वन कार्यक्रम अन्तर्गत सर्भे गर्न आएका थिए। सर्भेका क्रममा वन क्षेत्रमा घुमिरहेको अवस्थामा बाजले ठुँगेर विच्किएको घारेको गोलाले एक्कासी वन अधिकृत यादवमाथि आक्रमण गरेको र स्याउलाले हिर्काएर घारे भगाउन खोज्दा वडाअध्यक्ष नेपाल, वन रक्षक धामी र श्यामलाई समेत दर्जनौं घारेले टोकेको बताइएको छ।

प्रकाशित: २४ चैत्र २०७५ १२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App