६ वैशाख २०८१ बिहीबार
अन्य

‘शरीर र मनले साथ दिँदासम्म कामको अठोट’

नेपाली साहित्य क्षेत्रमा डा. राजेन्द्र विमल सुपरिचित नाम हो। सामाजिक, दार्शनिक, सांस्कृतिक, भाषा, राजनीतिक र पर्यावरण लगायत साहित्य क्षेत्रमा अनवरत रुपमा कलम चलाउँदै आएका डा. विमलले नेपाली तथा मैथिली साहित्य क्षेत्रमा स्थापित करिब सबै ठूला सम्मान प्राप्त गरिसकेका छन्।

यद्यपि, साहित्य क्षेत्रमा केही गर्न नसकेको गुनासो उनले आफैँसँग गरिरहेका छन्। ७३ वर्षीय डा. विमलले जीवनको अन्तिम सास बाँकी रहेसम्म लेखनीको माध्यमले समाजलाई जागृत गराइरहने अठोट लिएका छन्। भन्छन्, ‘शरीर र मनले साथ दिन नछोडे मैले धेरै काम गर्न बाँकी छ अहिले।’

मानव जीवनसँग सम्बन्धित ज्ञान विज्ञानको बारेमा दर्जनौं लेख प्रकाशन गरिसकेका उनले आफूले बाल्यकालमा भोगेको समय र अहिले नातिको बेलामा आइपुग्दा अकल्पनीय परिवर्तन भइसकेको बताउँछन्। ‘खासगरी सडकमा सार्वजनिक रुपले किशोर र किशोरीले आपसमा हातेमालो गरी हिँडेको देख्दा कुन जमाना आइसक्यो भन्ने लाग्छ’ उनी भन्छन्, ‘हाम्रो जमानामा त कुनै केटाले केटीसँग वा केटीले केटासँग सार्वजनिक स्थानमा कुरा गर्न पनि बन्देज थियो।’ समयक्रमसँगै प्रविधिमा भएको अप्रत्यासित विकासक्रमले समाजमा केही स्वाभाविक परिवर्तन भए पनि धेरैजसो नकारात्मक रीतिरिवाजले प्रश्रय पाइरहेको उनी बताउँछन्।

गरिबीको चपेटामा बाल्यकाल व्यतित गरेका डा. विमलले सात दशक लामो जीवन अनुभवबारे भन्छन्, ‘जीवनको सम्पूर्ण यात्रा बोधको यात्रा हो। समुद्रको दुई अज्ञात किनारको बीचको यात्रा हो ‘जीवन’। एउटा जन्म र अर्को मृत्यु। बीचमा बग्ने जीवन यात्रामा धेरै किसिमको ज्वारभाटा आइरहेका हुन्छन्। मेरो यो बोधयात्रामा प्रश्न नै प्रश्न भरेको छ।’ बाल्यावस्थादेखि नै प्रश्न उब्जिन सुरु भएको र सोही प्रश्नहरुको उत्तर खोजी गर्दागर्दै मेरो जीवनयात्रा अघि बढिरहेको उनी बताउँछन्।

उनी जन्मेको बखत घटेका सम्पूर्ण घटना आफूलाई अवगत भएको दाबी गर्छन्। ‘म जन्मेको बेला सुडिनीले मेरो नाभी काटेकोसम्मको क्षण मलाई याद छ। कदकी होची, एउटा आँखा नभएकी र गलगाड भएकी ती सुडिनीको अनुहार अहिले पनि म झल्झल्ती सम्झिरहेको छु। मलाई छ दिनपछि कोठा बाहिर ल्याउँदा आँगनमा घाम ताप्न राखिएको थियो। फुसको घरमा म जन्मेको हुँ। घरको छानामा कुभिन्डो फलेको थियो। आज पनि मेरो मनभित्र ती याद ताजै छन्।’ उनले थपे, ‘जन्मेको बेला के याद होला र? मानिसले चमत्कारी भनेर जिस्क्याउलान् कि भनेर मात्रै म बाहिर नबोलेको हुँ। तर, म आफ्नो जीवनगाथा लेख्ने बेलामा ती सबै घटना उल्लेख गर्नेछु।’

धनुषाको नगराइन नगरपालिकास्थित खिरखिरिया गाउँमा विसं २००२ सालमा जन्मेका उनी बाल्यावस्थादेखि नै सामाजिक विभेद र गरिबीको यातना खेपेको अनुभव सँगालेका छन्। २००७ सालको क्रान्ति विसर्जन भएलगत्तैको एउटा घटना सम्झन्छन्, डा. विमल। ‘गाउँभर शीतल आउँदैछ, शीतल आउँदैछ भन्ने हल्ला फैलिएको थियो। शीतल भनेको महेन्द्रनारायण निधि हो। त्यसबेला कांग्रेसीको पहिरन पहिचान थियो, धोती, कुर्ता र गम्छा। सबैले झण्डा बोकेर शीतलको स्वागत तयारी गर्दै थिए। मैले र मेरै छिमेकको साथी ललनले पनि घरमा धोती, कुर्ता र झण्डाका लागि रुन कराउन थाल्यौं। ललन र मेरो परिवारको आर्थिक अवस्था दयनीय थियो। त्यसबेला सिलाइ मेसिन धनी मान्छेको घरमा मात्रै हुन्थ्यो। मेरो स्वभाव अन्तरमुखी र सहनशील थियो त्यसैले म त दैनिक पहिरनमै त्यस जुलुसमा गइदिएँ। तर, ललनले आमासँग जिद्दी ग¥यो–शीतल नेताको जुलुसमा इन्किलाव जिन्दावाद गर्न जान्छु। मलाई पाइजामा, कुर्ता र झण्डा चाहियो। बिचराहरुले तत्कालै पाइजामा, कुर्ता कहाँबाट ल्याउनु? तर, छोरोको मन राख्न उनकी आमाले निरीह भएर पुरानो च्यातिएको धोतीलाई काटेर सियो धागोले कुर्ता जस्तो र एउटा टुक्राको झण्डा बनाइदिनुभयो।’

गरिबीको कारण पेटभरि खाना खान नपाएको उनी सम्झन्छन्। घरमा भोक मेट्न केही नपाएपछि गाउँ नजिकैको अकौरा पोखरीको डिलमा गएर कन्दमुल खाएको उनी सम्झन्छन्। ‘एक दिनको कुरो हो। मलाई प्याज खान मन लागेको थियो। एउटा प्याजका लागि घरमा रुन थालेपछि एकजना छिमेकी दिदीले आफ्नो घरमा मलाई लिएर जानुभो। उहाँको घरमा प्याजको थुप्रो देख्दा आश्चर्य लाग्यो। उहाँले ल कति प्याज खान्छौं? खाऊ भनेर प्याज भण्डारण गरिएको कोठामा लिएर जानुभो। त्यत्तिकैमा उहाँकी आमा आएर किन प्याज दिएको भन्दै ती दिदीलाई अनेक गाली गर्नुभो।’ कतै एउटा प्याजका लागि तड्पिने कतै थुप्रोमा त्यसै सँड्ने। समाजमा धनी र गरिबबीच कति ठूलो खाडल रहेको? भन्ने मनमा उब्जेको प्रश्नले अझै उत्तर पाउन नसकेको उनी सुनाउँछन्।

उनी छ सात वर्षको छँदा एक दिन ठूलो हुरी आयो र उनको घरको छानो उडाएर लग्यो। त्यो दिन पानी पर्दा छिमेकीको घरमा ओत लाग्नु परेको थियो। त्यही हुरीले हो उनको जीवन फेरेको। हजुरबुबा जनकपुरस्थित जानकी मन्दिरमा हर्ताकर्ता थिए। महन्तको नजिकको सहयोगी। खिरखिरियामा रहेको उनको परिवार भोलिपल्ट जनकपुर हिँड्यो। त्यस्तो अवस्थामा पनि गाउँको एकजना साहुले दुई मन धान फर्काएपछि मात्र कतै जान पाउने भन्दै बाटो रोकिदिए। उनका आमाबाबुले ती साहुको खुट्टामा छाँद हालेर बिन्ती भाउ चढाउन थालेपछि बाटो छोडियो। उनीहरु सपरिवार जनकपुर पुगे।

उनी भन्छन्, ‘म गाउँमै बसेको भए ती धनी र गरिबबीचको ठूलो विभेद सहन नसकेर पागल नै हुन्थेँ।’ छिमेकका धनी बाउका छोराले उटपटाङ लेख्दा पनि वाहवाही पाउँथे भने उनी जतिसुकै राम्रो अक्षर लेख्दा पनि अरुको चोरी वा सिको गरेको भनी हपारिन्थे। बाल्यावस्थाकै एक दिन सम्झिँदै उनले भने, ‘आर्थिक रुपले सम्पन्न एकजना छिमेकीको मेरै उमेरका छोराले कुर्सीमा चढेर तल हाम फाल्यो। सबैले वाहवाही गरे। यो बाबु पछि ठूलो मान्छे बन्ने, बहादुर बन्ने भन्दै हौसला दिइयो। छेउमै उभिएको मैले ऊ भन्दा लामो फाल हाने झन् वाहवाही पाउने सोचेर म पनि त्यसैगरी उसले हानेको भन्दा लामो फाल हानेपछि तिनीहरुले नै यो डाँका हुन्छ, कहिल्यै सप्रिँदैन भनेर हतोत्साहित गरे।’

आठ वर्षमा कखरा
वि.सं. २०१० सालतिर उनको काकाले मेट्रिक पास गरेर आएपछि ठूलो पढाइ गरेको भनी हल्ला फैलिएको थियो। काकाले नै भनेर उनलाई पनि स्कुल भर्ना गराइयो, करिब आठ वर्षको उमेरमा। स्कुलमा सँधै त्यहीँ क..ख..ग..पढाइ हुँदा उनलाई निकै उकुसमुकुस हुन्थ्यो। भन्छन्, ‘एक चोटी पढेपछि मलाई याद हुने। सरले फेरि फेरि त्यही कुरा दोहो¥याइरहँदा रिस उठ्यो।’ एकपटक पढिसकेको कुरा फेरि पढाउन थालिएपछि आफ्नो ध्यान अन्यत्र मोडिने र बिस्तारै स्कुलमा पनि बदमासी गर्न थालेको उनी सम्झन्छन्। तर, त्यसबेला अहिलेको जस्तो शिक्षकले विद्यार्थीलाई कुट्न नहुने कुनै दबाब थिएन। विद्यार्थीले बदमासी गरे शिक्षकले उल्टो झुन्ड्याइदिएर खजुरको छडीले बेस्सरी कुट्थे। कोही अभिभावकले पनि शिक्षकलाई प्रतिवाद गर्ने साहस गर्दैनथे। विद्यार्थीलाई जसरी पनि पढ्नुपर्ने नियम थियो। आफूले त्यसबेला पनि शिक्षकले विद्यार्थीलाई किन माया गरेर नपढाएको भन्ने सोच्ने गरेको उनी बताउँछन्। आठ वर्षको उमेरमा लेखेको कविता उनले सुनाए, ‘हुन् जीवछ बाबु मेरा टिचर। हान्छन् मलाई डस्टर...डस्टर...’

जनकपुर सानो बस्ती क्षेत्र भएको गाउँ जस्तै थियो त्यसबेला। चारैतिर जंगलै जंगल थियो। ‘हामी स्कुल जान्थ्यौं तर किताबी कुरो मात्रै पढ्न मन नलागेर साथीहरु बौवेलाल, कौशल, रामचन्द्रहरुलाई लिएर जंगलतिर घुम्न निस्किहाल्थ्यौँ। कहिलेकाहीँ हुरी वर्षा आउँथ्यो। हुरी र वर्षा थाम्न नसकेर कहिलेकाहीँ मैना र कागहरु मरेको भेटेपछि हामी रुन्थ्यौं। रामचन्द्रले लुगा च्यातेर कात्रो बनाउँथ्यो। हामीले उसको संस्कार गथ्र्यौं। मधेसमा क्रियापुत्री बस्दा उत्री लिने चलन छ। हामी काग, मैना मरेको शोकमा समाजमा मानिस मर्दा गरिने संस्कार जस्तै सबै श्राद्ध, कर्म पूरा गथ्र्यौं। र, यसका लागि आवश्यक जोहो गर्न भिख माग्थ्यौं। स्कुलमा नबसेर दिनभर बरालिने गरेको भन्दै घरमा सधैँ कुटाइ खानुपथ्र्यो।’

‘स्कुल जीवनमा म पाँच कक्षामा हुँदा एउटा घटना घट्यो’ उनी सम्झिन्छन्, ‘कक्षामा म सबभन्दा प्रखर छात्र थिएँ । जीवछ बाबु (शिक्षक) ले छात्रछात्रालाई ट्युसन पढाउने गर्नुहुन्थ्यो। ट्युसन पढ्ने विद्यार्थीलाई कक्षामा तारिफ पनि गर्नुहुन्थ्यो र जाँचमा राम्रो अंक दिएर पनि पठाउनु हुन्थ्यो। उहाँले पिताजीलाई मलाई ट्युसन पढाउने प्रस्ताव दिनुभयो। तर, मेरो पिताजीको महिनाको एक रुपैयाँ ट्युसन फि तिर्ने औकात थिएन क्यारे। उहाँले विवशता देखाउनुभो। परिणामतः मलाई माड्सापले खोजी खोजी कुनै न कुनै निहुँमा होच्याउने र कुट्ने गर्नुहुन्थ्यो। म डरले कक्षाकोठामै शु शु गर्थें र झन् कुटाइ खान्थेँ। मेरो मन पढाइबाट उछिट्टिन थाल्यो। कक्षा आठसम्म जेनतेन पास गर्दै गएँ तर आठमा रोकिनुप–यो। त्यसै वर्ष एउटा घटना घट्यो। मेरो टोलमा अर्को ललन भन्ने केटो आएको थियो र मसँगै पढ्ने गथ्र्यो। उसले आठ कक्षामा प्रथम स्थान प्राप्त गरेको थियो। ऊ मसित निकै मिल्ने साथी थियो तर उसको घरमा उसका अभिभावकहरुले मलाई आउन बन्देज लगाइदिए। आफूलाई थाम्न नसकी एक दिन जब म उसित भेट्न खोजे मलाई उसकी काकीले झण्डै कुट्न आइलागी र मलाई आवारा, गुण्डाजस्ता तथानाम गाली गरेर आफ्नो छोरोलाई समेत आफूजस्तै गुण्डा आवारा नबनाउन नसिहत दिइन्। मलाई ठूलो चोट प-यो। म घर आएर सन्दुकमुनि लुकेर धेरै रोएँ र एकदिन ललनभन्दा पनि ठूलो मान्छे बन्ने प्रतिज्ञा गरेँ।’

त्यसै वर्ष उनका पिताजीहरुले सार्वजनिक पुस्तकालय खोलेका थिए जसमा लगभग २६ हजार किताब थिए। अधिकांश किताब भारतीय दूतावासले दिएको थियो। उनले दिनमा कम्तीमा सय पृष्ठको दरले साहित्यका किताब खोजी खोजी पढ्न थाले। यसबाट उनको जीवनमा ठूलो क्रान्ति आएको उनी सम्झन्छन्। यस अध्ययनले उनलाई अलराउण्डर बनायो। यसको लाभ एमएसम्मको अध्ययनमा प्राप्त भयो। एमएमा पढाइने धेरै पुस्तक उनले हाइस्कुलमै पढिसकेका रहेछन्।

उनको जन्मताका भारतीय स्वतन्त्रता संग्राम भर्खर सकिएको थियो र गान्धीको व्यापक प्रभाव थियो। यद्यपि उनले माक्र्स, लेनिन, मार्टिन लुथर किङ, बुद्ध आदि धेरै महापुरुषका जीवनी पढेका थिए तर तिनलाई बुद्ध, महावीर र गान्धीले गहिरो छाप छोडे। स्कुल पढ्दा उनलाई आफ्नै साथीहरुले गान्धीको चेलो भन्न थाले। गान्धीलाई एउटा गालामा थप्पड हान्दा अर्को गाला पनि तेस्र्याइदिन्थे भनेर साथीहरुले उनको गालामा पनि थप्पड हान्थे र उनले अर्को गाला तेस्र्याइदिन्थे। एक दिन त सलिल भन्ने केटोले फलामको पेटीले रगत निस्किने गरी हाने र उनको गान्धीवादको परीक्षा गरे। उनले गान्धीले नाथुरामलाई माफ गरे जस्तै सलिललाई माफी दिए। एकपटक फेरि घर आएर ज्वरोले ग्रस्त भए। स्कुल जीवनका यस्ता अनेक घटनाहरु उनी सम्झिन्छन्।

कट्टु लाएर क्याम्पस

सबैले भन्थे, एसएलसी पास भएपछि क्याम्पसमा पढ्दा पाइन्ट लाउनुपर्छ । उनले पनि नयाँ पाइन्टका लागि जिद्दी गरे तर नयाँ पाइन्ट लाएर जब क्याम्पस पुगे साथीहरुले थपडी मारेर गिज्याउन थाले – हेर, कट्टु लाएर क्याम्पस आएछ। उनले भने, हैट् यो डोरीवाला पाइन्ट हो। त्यतिखेर उनलाई फुलपाइन्ट, हाफपाइन्ट र कट्टुको फरक थाहा थिएन। सोझो गाउँले केटोको जस्तो बुद्धि थियो। त्यसैले जाँचमा पनि मसीपात्रमा बाँसको कलम चोपेर लेख्थे।

क्याम्पस सानो थियो। कक्षामा दस, बाह्रजना विद्यार्थी हुन्थे। रातिराति पढाइ हुन्थ्यो, मैन्टोलको प्रकाशमा। झ्याप्प निभेर जान्थ्यो र फेरि बाल्न समय लाग्थ्यो। त्यस बेलासम्म विद्यार्थीहरु तर्सिएर डराउँथे। त्यो सानो क्याम्पसमा विद्यार्थी युनियनको चुनाव भयो र उनी सेक्रेटरी पदमा उठे। चुनाव जिते पनि। सार्वजनिक जीवनमा अलि अलि रुचि बढ्न थाल्यो र राजनीतिक मञ्चहरुमा उनले भाषण ठोक्न थाले। तत्कालीन जनकपुरमा उनी लोकप्रिय पनि हुँदै गए। कुनै ठूला मान्छे आउँदा उनलाई खोज्थे र भेट्न मन पराउँथे। क्याम्पसले स्कलरसिप उपलब्ध गरायो। स्कलरसिपकै सहयोगले उनी आइए र बीएको जाँच दिन काठमाडौं जान समर्थ भए। उनी यसैगरी बीएसम्मको पढाइ जनकपुरको राराब क्याम्पसबाट सम्पन्न गरे।

यथार्थको चट्टान र सपनाको शीशमहल
उनी टिएस इलियटजस्तै थोरै उमेरमा विश्व प्रसिद्ध हुन चाहन्थे। धेरै पढ्न र साहित्य रचना गर्न चाहन्थे। क्याम्पसमै पढ्दाखेरी नै उनका केही रचना भारतबाट प्रकाशित हुने केही प्रसिद्ध हिन्दी अखबारमा छापियो। उनी ज्यादै हौसिए। तर सपना र यथार्थको बीचको खाडलको बोध उनलाई थिएन। उनी एमए पढ्न असमर्थ थिए। त्यतिकैमा उनका एकजना पर्ने दाजुले सूचना दिए, ‘हिन्दी पढ्छस् भने दूतावासले स्कलरसिप दिन्छ।’ यसै लोभमा गएर उनले एमए (हिन्दी) मा दाखिला लिए। आर्थिक आयका लागि ट्युसन पनि पढाउँथे र भारतीय राजदूतावासको एउटा स्कुल हरिहरभवनमा शिक्षक भएर पनि काम गर्थे। छ महिनासम्म जेनतन काम गरे र पढे। तर, भारतीय दूतावासबाट कुनै स्कलरसिप प्राप्त हुने छाँट देखिएन।

उनले त्रिभुवन विश्वविद्यालय बुलेटिनको संस्थापक सम्पादक भएर विश्वविद्यालयमा जागिर खान थाले। उनको उच्च अध्ययन गर्ने सपना यथार्थको चट्टानमा बज्रिएर टुक्रा टुक्रा भयो। उनी घर फर्किए। खजुरी हाइस्कुलमा हेडमास्टरको जागिर खाएर एमए पढाइका लागि पैसा जम्मा गर्न थाले। छ महिना पनि भएको थिएन एक दिन कोटपाइन्ट लाएर सञ्चालक समितिका अध्यक्ष कहाँ जाँदा अध्यक्षले ‘ओहो, तपाईं त हेडमास्टर जस्तो होइन कर विभागको सुब्बा जस्तो पो देखिनु हुन्छ’ भनेपछि उनी रन्थनिए, ‘यसले त मलाई सुब्बा भन्दा पनि तल झारेर हेर्दो रहेछ।’ यस्ताको मातहतमा के काम गर्नु भन्ने सोचेर तलब पनि लिन छाडे र फेरि घर फर्किएँ।

प्राइभेटबाट हिन्दीमा एमए गरेँ। श्रीमतीलाई सोधेँ, म कुन जागिर खाउँ? उनको गाउँमा एकजना प्रोफेसरको ठूलो सम्मान थियो। त्यसलाई सम्झेर उनले चुनौती दिइन्, सक्नु हुन्छ भने प्रोफेसर बनेर देखाउनुस्। यस चुनौतीलाई उनले स्वीकार गरे। भने, म १५ दिनभित्र प्रोफेसर बनेर देखाउँछु। उनी काठमाडौं गए। कतै कुनै विज्ञापन थिएन।

उनी जबरजस्ती पद्मकन्या क्याम्पस गए। अम्बिकाप्रसाद अधिकारी प्राचार्य थिए, त्यहाँको। विमलले जागिरका लागि याचना गरे। ठाउँ खाली छैन भनेर प्राध्यापक अधिकारीले पटक–पटक पन्छाउन खोजे तर उनलाई श्रीमतीको चुनौती याद थियो। उनले भने, ‘एकपटक पढाउने अवसर दिएर त हेर्नुस्। सम्भवतः प्राचार्यलाई यस्तो याचक अनौठो लाग्यो। भित्र सञ्चालक समितिको बैठक चलिरहेकै थियो। उनले गएर यो कुरा सबै मान्छेलाई मनोरञ्जनका लागि सुनाए। सञ्चालक समितिका अध्यक्ष तारामान सिंह स्वाँरलाई यो कुरा सम्भवतः रोचक लाग्यो। उनले विमललाई बोलाउन पठाए। सबैजना गलल हाँसे। जनक दरबारका दरबारीहरुले अष्टाबक्रलाई देखेर हाँसे जस्तै। एक जनाले सोधे, एमएमा कुन श्रेणी छ? ‘प्रथम श्रेणी’ उनले जवाफ दिए। फेरि सबैजना हाँस्न थाले। हिन्दीमा त जसलाई पनि प्रथम श्रेणी नै प्राप्त हुन्छ। विमलले भने, यदि हाम्रा प्रमाणपत्रहरु हाम्रो योग्यताका मापदण्ड होइनन् भने सरकार र विश्वविद्यालयले यस्ता प्रमाणपत्र वितरण नै गर्नु हुँदैन। मेरो के दोष?

यस्तो प्रगल्भ र अहंकारपूर्ण उत्तरले सबै गम्भीर भए। त्यसो भए तपाईं दिन्करको कुरुक्षेत्रबारे केही भन्नुस्। उनले भने, हिन्दी, अंग्रेजी, नेपाली कुन भाषामा? त्यसपछि उनीहरुकै सहमति अनुसार विमलले कुरुक्षेत्रबारे टिप्पणी दिए। प्राचार्यले काव्य शास्त्रको रस सम्प्रदायसित सम्बन्धित केही प्रश्न राखे। उनले उत्तर दिए। सबै प्रभावित देखिए। प्राचार्यको फैसला थियो, तपाईं भोलिदेखि नै आउनुस्। अहिले आंशिक प्राध्यापकको रुपमा तपाईंको नियुक्ति हुन्छ पछि पूर्ण प्राध्यापक स्वतः हुनुहुनेछ। विमलको खुट्टा भुइँमा रहेन। एक वर्ष पद्मकन्यामा जागिर खाए र त्यसपछि उनको सरुवा विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा भयो।

विराटनगरमा उनी हिन्दी पढाउँथे। विद्यार्थीको संख्या न्यून थियो। उनी निराश हुन्थे। एक दिन प्राध्यापक बालकृष्ण पोखरेलले उनको पाखुरा स्नेहले च्याप्प समाए र भने, ‘विमल भाइ, नमिठो नमान्नुस् है। तपाईं जस्तो मान्छे यसरी विदेशी भाषा, विदेशी (हिन्दी) भाषा पढाउनुभन्दा आफ्नै राष्ट्रभाषा पढाउनुपर्छ। भोलिसम्म एमए परीक्षाको फारम भर्ने अन्तिम मिति छ, आजै भरिहाल्नुस्। मैले तपाईंको मद्दत गर्नेछु।’ उनले फारम भरे। राति पढेर भोलिपल्ट जाँच दिए। परीक्षाको एकपत्रको उत्तर पुस्तिका बालकृष्ण गुरु कहाँ पनि आयो। गुरुले खुसी भएर भने, विमल भाइ तपाईंको कृपाको एउटा पोको म कहाँ पनि आएको छ। त्यस पत्रमा उनले ७५ अंक दिएर पठाए। त्यो त्यतिखेर ठूलो अंक थियो। यसरी उनी हिन्दीको प्राध्यापकबाट नेपाली प्राध्यापक हुन पुगे।

पिताको बिग्रँदो स्वास्थ्य र जनकपुर स्थानान्तरण
नेपालीको प्राध्यापक भएर जनकपुरको राराब क्याम्पसमा आउने बाध्यता भयो। पिताको स्वास्थ्य अवस्था दिनदिन खस्कँदो थियो। सेवानिवृत्त भएसम्म उनले राराबमै पढाए। यसबीच अनेक घटना परिघटना भए। तीमध्ये केही अत्यन्त पीडादायक र केही सुखदायक पनि छन्। पीडादायक घटनाहरु सम्झँदा उनी दुःखी हुन्छन्। कृपाको बलले धेरै मान्छेहरु स्कलरसिपमा देशविदेश पढ्न गए। तर विमलले आफ्नी सिकिस्त पत्नीलाई छोडेर कुट्टीमा महन्तको सेवा गरी वनारसबाट वडो दुःखजिलो गरेर पिएचडीको सपना पूरा गरे।

जुन प्राध्यापन सेवामा ४० वर्ष जति जीवन बिताए। त्यसै पेशामा उनलाई प्राध्यापक हुनसमेत योग्य ठह-याइएन। जुन साहित्य सिर्जनालाई उनले आफ्नो प्राणवायु (श्वास) ठाने त्यसमा उनलाई प्रज्ञा प्रतिष्ठानको सामान्य सदस्य हुने योग्यता पनि कुनै सरकारले देखेन। समाजले कहिले ढाका टोपी लगाएकोमा राजावादी देख्यो र कहिले भानुभक्तको शालिक तोड्नु हुँदैनभन्दा पहाडे दलाल भनियो। उनलाई निराधार कालो सूचीमा राखियो र एक किसिमले सामाजिक बहिष्करणसमेत गरियो।

तर, कुनै सरकारले न पत्याए पनि नेपाली जनतामा आफूप्रति रहेको स्नेहले उनी विह्वल हुन्छन्। कतिपय सार्वजनिक संघसंस्थाहरुले सम्मानित गरेकोमा उनी दंग छन्। खासगरी जगदम्बा श्री पुरस्कारलाई उनी आफ्नो चहराइरहेको घाउमाथि लगाइएको ज्यादै असरदार मलम ठान्छन्। त्यसमै उनलाई आफ्नो जीवनको सार्थकताको बोध हुन्छ।  

प्रकाशित: २४ चैत्र २०७५ ११:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App