coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

बिमा गर्नेभन्दा ब्याज लगाउनमा ध्यान

रमेशकुमार भट्टराई प्रमुख कार्यकारी अधिकृत महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड

सबैभन्दा पछिल्लोपटक खुलेको महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी गत पुस १७ देखि रमेशकुमार भट्टराईले सम्हालेका छन्। वाणिज्य विषयमा स्नाकोत्तर र कानुनमा स्नातक तह अध्ययन गरेका सिइओ भट्टराईसँग बिमा तथा बैंकिङ क्षेत्रको ३५ वर्षको भनुभव छ। आगामी ४ वर्षका लागि महालक्ष्मी लाइफ इन्स्योरेन्सको सिइओ नियुक्ति भएका भट्टराई यसअघि महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एसियन लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकमा गरी २२ वर्षभन्दा बढी सिइओ पदमा रहेर काम गरेको अनुभव छ। नयाँ जोश र जाँगर भएका भट्टराईले आगामी दुई वर्षभित्र १० बिमा कम्पनीभित्र महालक्ष्मी लाइफ इन्स्योरेन्स पार्ने र पाँच वर्षभित्र नेपालकै नम्बर १ बिमा कम्पनी बनाउने योजना बनाएर काम गरिरहेको बताउँछन्। नेपालमा बिमा कम्पनीको अवस्था, चुनौती र सुधार गर्नुपर्ने पक्षका बारेमा केन्द्रीय भएर नागरिक परिवारका लागि विष्णु बेल्वासेले भट्टराईसँग गरेको कुराकानीः


महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी आएसँगै अहिले १९ वटा लाइफ इन्स्योरेन्स कम्पनी भएका छन्। नेपालको जनसंख्यालाई हेर्ने हो भने यो संख्या धेरै भएन र?
४, ५ लाइफ इन्स्योेरेन्स कम्पनी भए पनि पुग्ने थियो। तर, अहिले १९ वटा पुगेका छन्। हामी कहाँ बिमा गर्नका लागि पटक–पटक पहल (फोर्स) गर्नुपर्छ। विकसित देशमा बिमा गर्नलाई फोर्स गर्नु पर्दैन। विकसित देशमा बिमा गरिदिनुहोस् न भन्दै बिमा कम्पनी धाउँछन्। हामीकहाँ बिमा गर्नुस् न भनेर घरघर पुग्नु पर्छ। अहिले पनि १४ प्रतिशत नागरिकले मात्र बिमा गरेका छन्। अझै पनि ८६ प्रतिशतले बिमा गरेका छैनन्। यो भनेको बिमा कम्पनीका लागि अवसर हो। ८६ प्रतिशतमा बिमा पु-याउनु छ। गाउँ–गाउँमा बिमा पु-याउनु छ। त्यसका लागि शाखा विस्तार आवश्यक छ। शाखा बिस्तार गर्दा खर्च पनि बढ्छ। गाउँ–गाँउमा बिमा कम्पनी पु¥याउने चुनौती त छँदैछ त्यससँगै अवसर पनि छ।

धेरै बिमा कम्पनीका कारण अस्वस्थ प्रतिस्पर्धा पनि हुने गरेको छ भनिन्छ। अस्वस्थ प्रतिस्पर्धा नै छ त ?
धेरै कम्पनी हुँदा अस्वस्थ प्रतिस्पर्धा हुन जान्छ। अस्वस्थ प्रतिस्पर्धाले विकृति र खर्च बढाउँछ।

बिमा नगर्नुको कारण के होला?
विकसित देशमा सुरक्षा पहिलो प्राथमिकतामा पर्छ। विकसित देशमा बिमा गरेको व्यक्तिले करमा छुट पाउँछ। त्यसले गर्दा पनि बिमा गर्ने बढेको हुनुपर्छ। हामीकहाँ सुरक्षा प्राथमिकतामा पर्दैन। बिमा गर्नुभन्दा बैंकमा पैसा राख्दा बढी ब्याज आउँछ। त्यसैले बिमा गर्नुभन्दा बैंकमा पैसा राख्नेतिर ध्यान गएको हो। बिमा गर्नुपर्छ भन्ने भावनाको विकास हुन सकेको छैन। रेमिट्यान्सको रकम पनि आएपछि खाइ हाल्ने बानी छ। भोलि दुर्घटना भयो भने दुःख पाइन्छ भन्नेतिर ध्यान गएको छैन। बिमा गराउनु पनि धर्म हो। धर्म र सेवाको काम हामीले गरिरहेका छौं। घरमा बसिरहेकालाई क्रियाशील बनाउने काम पनि बिमा कम्पनीले गरिरहेका छन्।

आयस्रोतको कमीले गर्दा पनि बिमा गर्न सकिरहेका छैनन् भनिन्छ नि ?
आयस्रोतको कमीले गर्दा पनि बिमा गर्नेको संख्यामा कमी छ। आम्दानी हुनेले पनि बिमा गरिरहेका छैनन्। विदेशबाट रेमिट्यान्स आउने परिवार र यहाँ राम्रो कमाइ हुनेले पनि बिमा गरेका छैनन्। बिमा गर्नु भनेको अनिवार्य बचत र सुरक्षा पनि हो। बिमा गर्नेलाई फाइदा हुन्छ र बिमा कम्पनीलाई पनि गाउँगाउँ जान प्रेरित गर्छ।

सरकारी नीतिप्रति तपाईंको धारणा के छ?
२०४९ मा बनेको बिमा ऐन अहिलेसम्म लागू भएको छैन। बिमा कम्पनीको चुक्ता पुँजी कति हुनुपर्ने भन्ने जस्ता ऐनमा राख्नु हुँदैन। समय अनुकूल परिवर्तन हुनुपर्छ। बिमा ऐन नयाँ आउने क्रममा छ। बिमा ऐनको मस्यौदा अर्थ मन्त्रालयमा छ। त्यो संसदले पारित गरेपछि ऐन बनेर आउनेछ। त्यसले बिमाको दायरा फराकिलो बनाउने छ।

तपार्ईं धेरै बैंक तथा वित्त कम्पनीमा काम गरिसक्नु भएको छ र तपाईंले नेतृत्व गरेका कम्पनीको प्रगति अहिले पनि राम्रो देखिन्छ। सफलता प्राप्त गर्न के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ?
समय परिस्थितिलाई बुझेर अगाडि बढ्नुपर्छ। त्यसका लागि क्षमता, इच्छाशक्ति, इमानदारिता, विश्वसनियता र टिम वर्क राम्रो भयो भने सफलता प्राप्त गर्न धेरै कुर्नु पर्दैन।
नेपालमा कामको अभाव भएकाले विदेश पलायन भएका छन्।

साच्चै नै नेपालमा कामको अभाव भएकै हो त ?
नेपालमा कामको अभाव छ जस्तो त मलाई लाग्दैन्। अहिले पनि दुई चार कम्पनी खोल्ने मेरो इच्छा छ। काम गर्ने व्यक्तिको कमी भएकाले कम्पनी खोल्न सकेको छैन। कामका लागि विदेश जानुपर्ने स्थिति त म देख्दैन। नयाँ टेष्ट दिन सक्नुपर्छ। यतिधेरै रेष्टुरेष्टका बीचमा बोता, बाजे चलेकै छन्। नयाँ स्वाद (टेष्ट) दिएकैले उनीहरु चलेका हुन्। त्यस्तै टेष्ट दिन सक्नुपर्छ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी स्थापना गर्दा पनि निकै चुनौतीको सामना गर्नु भएको भन्ने सुनिन्छ। के कस्ता चुनौतीको सामना गर्नु भयो?
सरकारले २०७४ जेठ ८ गते १० वटा इन्स्योरेन्स कम्पनीलाई सञ्चालन अनुमति (एलओआई) दियो। महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी पु-याउन नसकेको भन्दै इजाजत खारेज गरिदियो। संस्थापक लगानीकर्ता खोजेर १ अर्ब ४० करोड रुपैयाँ पु-याउँछौंभन्दा पनि मानिएन। त्यसपछि हामी न्यायका लागि सर्वोच्च अदालत पुग्यौँ। सर्वोच्च अदालतले एक डेढ वर्षपछि लाइसेन्स दिनु भन्ने आदेश दियो । अदालतको आदेशपछि  लाइसेन्स पायौं र सञ्चालन गर्न पुग्यौं।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कस्ता खालका बिमा योजना ल्याएको छ?
१९ औं बिमा कम्पनीको रुपमा सञ्चालनमा आएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले तीनवटा जीबन बिमा योजना ल्याएका छौं। हामीले केही दिन पहिले पत्रकार सम्मेलन गरेरै तीनवटा बीमा प्रोडक्ट सार्वजनिक गरेका हौैँ। कम्पनीले महालक्ष्मी डबल सावधिक बिमा योजना, लगानी फिर्ता म्यादी बिमा योजना र सावधिक बिमा योजना ल्याएको  छ।
डबल सावधिक बिमा योजनामा बोनसको गणना गर्नै पर्दैन। कम्पनीले तोकिएको समय अवधि सकिएपछि बिमांकको दोब्बर रकम भुक्तानी गर्नेछ।
लगानी फिर्ता योजनामा बिमा शुल्क भुक्तानीपछि तोकिएको अवधिमा कुनै घटना भएमा एकमुष्ट बिमांक रकम उपलब्ध हुन्छ। घटना नभएमा अवधि समाप्तिपछि जम्मा गरेको बिमा शुल्क जस्ताको तस्तै फिर्ता हुनेछ। सावधिक बिमा योजनामा कम्पनीले गर्ने नाफामा पनि सरिक हुन पाइन्छ। यसको बिमा शुल्क कम पर्छ।

अरु लाइफ इन्स्योरेन्सले जस्तै त बिमा योजना ल्याउनु भएको छ। अरु जीवन बिमा कम्पनीले भन्दा फरक खालको बिमा योजना त ल्याउनु भएन नि?
डबल बिमा र लगानी फिर्ता नेपालको सन्दर्भमा नयाँ बिमा योजना हुन्। अन्य बिमा कम्पनीले अहिले बिमा गरेपछि डबल पाइन्छ भनेर झुक्याइरहेका छन्। यसले गर्दा बिमाको बजार नै बिग्रिएको छ। बिमांकको डबल पैसा पाउन कम्पनीको बोनस दर ७० प्रतिशत हुनुपर्छ। अहिले खुलेका नयाँ कम्पनीको बोनस दर ३०,३५ प्रतिशतभन्दा माथि पुग्दैन। उनीहरुले सपना बेच्ने काम गरेका छन्। बजार नबिग्रियोस र बिमा गर्नेले डबल नै रकम पाउन भनेर डबल बिमा योजना ल्याएका हौं। हामीले ल्याएको डबल बिमा योजनामा बिमा गर्नेले बोनसको हिसाब गरिरहनु पर्दैन।

कम्पनीको पुँजीगत संरचना कस्तो छ?
कम्पनीको जारी पुँजी २ अर्ब छ। यसमध्ये ६० करोड रुपैयाँ सर्वसाधारणलाई सेयर जारी गरिनेछ। संस्थापकहरुले १ अर्ब ४० करोड रुपैयाँ सेयर पुँजी लगानी गरेका छन्। सातैवटा प्रदेशका प्रादेशिक कार्यालय पनि सञ्चालनमा आउनेछन्। कम्पनीले छिट्टै ३५ वटा शाखा कार्यालय सञ्चालन गर्ने योजना बनाएको छ।

बिमा कम्पनीको भीडमा महालक्ष्मी लाइफ इन्स्योरेन्स आएको छ। यो कम्पनीको आगामी योजना के छ?
आगामी असारसम्म करिब ५० करोड बिमाशुल्क संकलन गर्ने लक्ष्य छ। सञ्चालनमा आएको दुई वर्षमा १० कम्पनीभित्र पर्ने र पाँच वर्षभरिमा सबै जीवन बिमा कम्पनीभन्दा उत्कृष्ठ हुने हुने गरी काम गरिरहेका छौं।

त्यसका लागि दक्ष कर्मचारीको पनि त आवश्कता पर्छ नि?
हामीसँग दक्ष जनशक्ति छ। राम्रो टिम भएकाले पनि हामीलाई पूर्ण विश्वास छ कि हामी सबैलाई पछाडि पार्दै अगाडि बढ्न सक्षम हुने छौं। १८ महिनाको लामो संघर्षबाट लाइसेन्स पाएको हुनाले पनि कम्पनीलाई सबै हिसाबले सफल बनाउनु छ। अहिले हामी अभिकर्ता उत्पादनमा लागेका छौं। प्रत्यक्ष (डाइरेक्ट) व्यापार नहुने भएकाले अभिकर्ता उत्पादनमा लागेका हौं।

कसरी जागिरमा प्रवेश गर्नु भयो?
शंकरदेव क्याम्पसमा पढ्दै गर्दा जागिर खान सुरु गरेको हुँ। राति क्यासिनो नेपाल र दिउँसो तथ्यांक विभागमा काम गर्थेँ। त्यसपछि २०३९ सालमा नेपाल बैंक वीरगञ्जमा काम गर्न सुरु गरे। नेपाल बैंकमा १३ वर्ष जागिर खाएर म्यानेजर लेभलमा पुगेर छाडेँ। त्यसपछि २०५२ साल मंसिरमा महालक्ष्मी फाइनान्स कम्पनी स्थापना गर्न पुग्यो। त्यसमा १० वर्षसम्म काम गरे। त्यसैगरी, एएमसी हस्पिटल एन्ड रिसर्च सेन्टर, रेडियो वीरगञ्ज सञ्चालन गरे। २०६२ साल मंसिर २३ गते नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भए। त्यस बेलासम्म विदेशी सिइओले मात्र इन्स्योरेन्स चलाएका थिए। नेपाली सिइओले पनि इन्स्योरेन्स कम्पनी चलाउन सक्छन् भन्ने कुरा गरेर देखाइ दिए। वित्तीय क्षेत्रमा काम गर्दै आएकोले बिमा कम्पनीको बारेमा त्यति धेरै जानकारी थिएन। जिम्मेवारी र चुनौतीलाई सामना गर्दै काम गर्दै गए। सफल पनि भए। नेपाल लाइफमा २ वर्ष काम गरेर २०६४ सालमा छाडे। त्यसपछि २०६४ सालकै चैत १९ गते एसियन लाइफ इन्स्योरेन्स हाँक्ने जिम्मेवारी पाए। त्यो कम्पनीलाई पनि राम्रो पोजिसनमा पुप्याए र पाँच वर्षपछि छाडी दिएँ। त्यसपछि महालक्ष्मी फाइनान्स कम्पनीमा ७ वटा संस्थालाई गाभेर महालक्ष्मी विकास बैंकको स्थापना गरेँ। त्यसलाई पनि नम्बर १ विकास बैंक बनाएर २०७४ सालमा छाडि दिए। फनपार्क, नयाँ क्लियरिङ हाउसलगायत सञ्चालन गर्ने तयारी गरेका छौं। त्यसका लागि छुट्टाछुट्टै कम्पनी स्थापना गरेका छौं। अहिले महालक्ष्मी लाइफ इन्स्योरेन्सको सिइओ भएर गरिरहेको छु।

तपाईंसँग निकै धेरै संस्थामा काम गरिसकेको अनुभव रहेछ। किन यति धेरै संस्थामा काम गर्दै छाड्नु भएको नि?
मेरो बानी नै उत्कृष्ट बनाउने अनि छाड्ने हो। कहिले पनि कम्पनी अधोगति (डाउन फल) मा लागेको बेला छाड्नु हुँदैन। उत्कृष्ट बनेको बेलामा छाड्ने हो। त्यसो गर्दा संस्थालाई फाइदा पुगेको हुन्छ नै व्यक्तिगत रुपमा पनि त्यो कम्पनी हाक्नेलाई पनि फाइदा पुग्छ।

परिवारमा को–को हुनुहुन्छ?
श्रीमती दीपा भट्टराई, छोरा रितेश भट्टटाई र छोरी डा. रिचा भट्टराई र म छौं। छोरा सोल्भानियामा छ। सफ्टवेयर इन्जिनियर हो। छोरी डाक्टर छिन्।

प्रकाशित: २४ चैत्र २०७५ १०:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App