coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

डेउडा गायिका डिक्रा वादीको पुनरागमन

‘१२ वर्षमा खोला पनि फर्किन्छ’ भन्ने उखान निकै प्रचलित छ। यो उखान ठ्याक्कै लागू हुन्छ डेउडा गायिका डिक्रा वादीमा। कुनै समय सुदूरपश्चिममा निकै चर्चित थिइन् उनी। उनीविनाका एल्बम चल्दैैनथे। डिक्राले गीत गाउने भन्ने प्रचार भएपछि कार्यक्रम तथा महोत्सवहरुमा गाउँ नै उर्लिन्थ्यो।

उनै वादी जब मेमोरी कार्डको जमाना आयो तब बेपत्ता भइन्। रोगी भइन्। दर्जनौँ गीत  रेकर्ड गराइसकेकी डिक्रा एकाएक गुमनाम भइन्। कसैलाई अत्तोपत्तो भएन। कवि एवं सांस्कृतिक अध्येता हेमन्त विवशले ६ महिना लगाएर उनलाई खोजे।

‘कुनै समय डेउडा गीतमा राम्रो भाका दिएकी वादी कहाँ गइन् भनेर निकै सोधखोज ग-यौँ’, विवशले भने, ‘घरायसी कारण र स्वास्थ्य समस्याले गाउँमै (कंचनपुर) मै अलमलिएकी रैछिन्।’

उनले डिक्राको स्वरको जादु र उनी गुमनाम भएको कथा सुनाए पत्रकार अमृत भादगाउँलेलाई। भादगाउँलेले डिक्रालाई गायनमा पुनरागमन गराउन काठमाडौंमा एकल डेउडा गायनको योजना बनाए। अनि कन्सेप्ट नेपालको ब्यानरमा गत फागुन ११ गते राष्ट्रिय नाचघरमा उनको एकल डेउडा गायन कार्यक्रम गरियो।

कन्सेप्ट नेपालले ५० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरेर कार्यक्रम शुभारम्भ गरेको थियो। कार्यक्रममा डिक्राले जीवनसाथी कित्थ्याको सारंगीको धुनसँग ठाडो भाकाका बिरही गीत गाइन्। यसरी गाउँदा दशर्कहरुका आँखा टिलपिल भए। उनीहरुले दोहोरी गीतमा चाहिँ रोमाण्टिक शब्द गाएका थिए।

उनको एकल गायन जीवनकै टर्निङ पोइन्ट बन्यो। उनको मखमली स्वरमा तिलस्मी जादु भेटियो। दर्शकले वाहवाही गरे। कार्यक्रममा आयोजकले दिएको पचास हजार र अन्य शुभेच्छुकहरुले दिएको गरी जम्मा १ लाख ३० हजार रुपैयाँ नगद पाउँदा डिक्रा दम्पती गद्गद् भए।

त्यति मात्रै होइन, उनको एकल गायन सकिएपछि गीतकार हर्क साउँदले डिक्राको स्वास्थ्य परीक्षण गराए। धन्न पाठेघरमा ठूलो समस्या रहेनछ। त्यसपछि काठमाडौंमा उनका केही गीत रेकर्ड गरियो। यसरी खुसी मन लिएर डिक्रा दम्पती गाउँ फर्केका हुन्।

यसरी डिजिटल युगमा डिक्रा वादीको सुखद्  पुनरागमन भयो।

यसै मेसोमा परिवारकर्मीलाई  डिक्रा दम्पतीसँग कुराकानी गर्ने अवसर प्राप्त भयो। बानेश्वरको उनीहरु बसेकै होटलमा ७ बजेका लागि समय मिलाइदिए कवि हेमन्त विवशले। ७ बजे नै पुगेकी म केही बेरको परिचयपछि कुराकानी सुरु भयो।

‘डिक्रा दिदीलाई मनपर्ने एउटा गीतबाट सुरु गरौँ न त’  मैले यति भन्ने बित्तिकै सुदूरपश्चिमेली लवजमा उनले एउटा गीतको हरफ सुनाइन्।

‘म पारी तराइदे चुल्ठीको झगेंलो हाली
कि भगमान मारिदे कि भगमान भेट गराइदे।’

उनले यो गीत अथ्र्याइन्। पारि रहेको मायालुलाई भेट गराउन खोला बाधक भएपछि खोला तार्न भगवान्सँग याचना गरिएको हो।

५० वर्ष पुगिसकेकी डिक्राको जन्म सुदूरपश्चिमको बाजुरा जिल्लामा भएको हो।

उनीहरु डोटीबाट झरेका हुन्। जातले उनीहरु दासी भए। अरुको जातको जस्तो आफ्नै जग्गाजमिन पनि भएन। वादी समुदायमा त्यो बेलामा कमाइ गरेर खान हुन्न भन्ने थियो। उनीहरुले खेतीपाती गरे अन्न फल्दैन भन्ने चलन थियो। त्यसकारण उनीहरु समाजले ठूला मानेको जातको विवाह, पूजामा जान्थेँ त्यहाँ गाउने नाच्ने परम्परा थियो। ‘त्यतिबेला हाम्रो ठूलो गनितोमनितो थियो रे,’ डिक्रा भन्छिन्, ‘भगवान्को दुतको रुप मान्थे रुपैयाँ पैसा पनि राम्रो दिन्थे पछि त हामीलाई मागेर खाने जात भनेर बसिखान दिएनन्। ’

उनीहरु बसेको गाउँ बाजुरामा उनीहरुको घर मात्रै थियो वादीको। उनका बुबा बैरागी र आमा जानकी गाउँभरि बोलाएको घरमा जान्थे। त्यहीँ नाचेर गाएर ल्याएको पैसाले उनीहरुको घर खर्च चल्थ्यो।

गाउँमा अरु जातिको आफ्नै उमेरका साथी स्कुल जाँदा उनी भने वनजंगल, खोलानाला चारिन्। आमाको पछि लाएर कसरी गीत गाउँछन् सिकिन्। वनपाखामा आफ्नो सुमधुर ध्वनि गुञ्जाइन्।

जसै उनी १४ वर्षकी भइन्। कित्थ्या वादीसँग उनको भेट भयो। बझाङमा बस्ने कित्थ्यालाई उनकी सानीमाले केटी देखाउन लगिन्। उनै डिक्रासँग भेट भयो। १६ वर्षका कित्थ्या र १४ वर्षकी डिक्राबीच विवाह भयो।

सानैमा बुबा गुमाएका कित्थ्या ५ कक्षा पढ्दा पढ्दै छोडे। उनकै पुरानो पेशा सारङ्गी बजाउन थाले। श्रीमती गीत गाउने श्रीमान् सारङ्गी बजाउने। यो जोडीलाई त्यतिबेला गाउँभरि परेवाको जोडी आयो भनेर बोलाइन्थ्यो।

धौली खोलाको नजिक रहेको घर बाढीले ४० सालमा बगायो। कित्थ्याले ज्यामी काम पनि गरे भारत पनि गए। यता डिक्राले केही गीत पनि गाइन् गाउँघरतिरै।
४९ सालमा उनीहरु तराई झरे। कञ्चनपुरमा २२ घर वादी परिवारले जंगल फाँड्यो र बस्ती बसायो। ‘त्यतिबेला कम्ती त सकस भएन,’ कित्थ्या भन्छन्, ‘गाउँलेले हाम्रो जातलाई अर्कै सोच्ने रहेछन् उठीबासै लाउन खोजे। पछि सरकारले ऐलानीमा जग्गा ९ धुरका दरले दिन त दियो तर स्थायी बस्ने गरी दिएन।’

गाइनेबाट वादी
ओर्जिनल थर वादी भए पनि गित गाउँदा उनीहरुले गाइने राखे कारण वादी समुदाय भन्ने बित्तिकै समाजले गर्ने तिरस्कार। वादी समुदाय भन्नेबित्तिकै यौन पेसामा लाग्छन् भन्ने सोचाइ रहेकोमा डिक्रा दम्पतीले अहिले पनि दुःखेसो पोखे। ‘हामी त्यस्ता हैनौँ तर वादी भन्ने बित्तिकै अर्कै सोच राख्ने भएको कारण गाइने भनेका थियौँ,’ उनीहरुले भने, ‘पछि पत्रकार भादगाउँले सर, गायिका झुमा लिम्बूले र कवि हेमन्त विवशले वादी तपाईहरुको खास थर हो यही राख्नु भनेपछि यही राख्यौँ।’

३ सय रुपैयाँदेखि सुरुवात ९ सय रुपैयाँसम्म आउँदा बन्द
डेउडा गायक नरेन्द्रराज रेग्मी र गोरख थापालाई डिक्राको स्वर राम्रो लाग्यो। उनीहरुले धनगढीमा सारङ्गी बजाउन कित्थ्यालाई र गीत गाउन डिक्रालाई ल्याए। गाउँघरमा गीत गाइरहेकी डिक्राले ५२ सालमा गीत रेकर्ड गराइन्। उनको पहिलो एल्बम २०५२ सालमा ‘बसिबियाँलो’ निस्कियो। अनि सुरु भयो उनको औपचारिक गायन यात्रा। सुरुको स्वर परीक्षण भए पनि अरु गीतबाट भने पारिश्रमिक पाइन्। ३ सय रुपैयाँ। एल्बमको समयमा डिक्राविनाका एल्बम बिक्री हुँदैनथे। कति एल्बममा उनको नाम राखियो कतिमा राखिएन तर उनले १०/१२ वर्ष निरन्तर गीत गाइन्।

उनीहरुको जोडीलाई विभिन्न संघसंस्थाले भारततिर पनि बोलाए। भारतको मुम्बई लगायतका ठाउँमा ३ महिना बसेर आफ्नो प्रस्तुति देखाए।
एक समयकी चर्चित गायिका एकाएक गुमनाम भइन्। बिरामी भइन्। फेरि गीत गाउन उनी कस्सिएकी छिन्। सहयोगी हातहरु यी दम्पतीलाई सहयोग गर्न लागिपरेको छ।

राज्यपक्षर समाजबाट अपहेलित वादी समुदायकी डेउडा गायिका डिक्रा आफ्नो स्वरका कारण र सहयोगी हातको कारण फेरि पनि पुनरागमन भएकी छन्।

बानेश्वरमा उनले गाउन पाएका दुःख त सुनाइ हालिन् उनले मलाई भनिन्, ‘हाम्रो जातको आफ्नो जग्गा छैन सरकारलाई भनिदिनु है, हामी मागेर खाँदैनौं काम गरेर खान्छौँ। हाम्रो पनि अरुको जस्तै जग्गा होस् आफ्नो क्षमता देखाएर खान पाइयोस्। त्यसैमा कित्थ्याले भने हामीले पनि भोट हालेका छौं क्यारे तर हामी बस्ने जमिन छैन। सरकारलाई सुनाइदिनु है।’

प्रकाशित: २४ चैत्र २०७५ ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App