coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

दुईघण्टा रोएर बित्यो

म्युजिक भिडियोसँगै दर्पणछायाँ –२ बाट फिल्म क्षेत्रमा प्रवेश गरेका कलाकार हुन् पुष्प खड्का। ‘मंगलम्’ फिल्मबाट चर्चामा आएका पुष्पले खेलेको पछिल्लो फिल्म ‘दाल भात तरकारी’ प्रदर्शनको तयारीमा रहेको छ। उनीसँग भोला अधिकारीले गरेको कुराकानीः

तपाईं अभिनेता नभएको भए के बन्नु हुन्थ्यो?
म कि डाक्टर बन्थेँ कि निर्देशक बन्थेँ। यी दुईमा एक पक्का बन्थेँ। मेरो इच्छा डाक्टर बन्ने हुँदाहुँदै पनि कलाकार हुन आएँ। यदि म सफल कलाकार बन्न सकिनँ भने निर्देशक भने अवश्य बन्छु।

कसको प्रेरणाबाट कलाकारमा आउनु भयो?
म कसैको प्रेरणाबाट आएको होइन। म सानैदेखि फिल्म खेल्छु भन्ने मनमा राखेको थिए। मलाई कसैले तँ कलाकार बन भनेर आएको होइन। म आफैँ मेरो संघर्षले आएको हुँ।

पहिलोपटक केमा क्यामेरा फेस गर्नुभयो?
मैले सुरुमा एउटा विज्ञापनबाट क्यामेरा फेस गरेको थिएँ। धेरै अगाडिको कुरा हो सायद फेसवास क्रिमको थियो क्या र? मैले क्रिमको नाम भने ठ्याक्कै बिर्सिएँ । मैले बोलेको डाइलग के थियो भने, ‘मैले यो क्रिम लगाएको छु। यो क्रिम लगाएर मेरो चायाँ पोतो सबै हट्यो।’ त्यसमा म एउटा ग्राहकको भूमिकामा थिएँ। त्यो डाइलग बोल्नका लागि मैले २० टेकभन्दा धेरै खाएँ। अरुको रोल आयो तर मेरो आएन।

तपाईंको पहिलो कमाइ?
मैले म्युजिक भिडियोमै पाएको थिएँ। म आलोक नेम्वाङको एउटा म्युजिक भिडियोमा खेलेको थिएँ। उहाँले मलाई ३ हजार रुपैयाँ दिनुभएको थियो।

तपाईंलाई के गर्न मन लाग्छ?
मलाई फिल्मी दुनियाँमा हराउन मन लाग्छ। मलाई फिल्म क्षेत्रभन्दा बाहिर गएर कुनै काम गरौँ,  पैसा कमाउँ भन्ने नि छैन। फिल्ममा कसरी चर्चामा आउने होला भन्ने नै मेरो सोच हो। दर्शकको मनमा कसरी बस्न सक्छु भन्नेतिर नै ध्यान गएको छ। हरेक काममा फरक–फरक तरिकाले प्रस्तुत हुन पाऊँ भन्ने नै लाग्छ। यो भन्दा बाहिर मेरो मनै जाँदैन।

जीवनको कुनै त्यस्तो समय तपाईं फेरि जिउन चाहनुहुन्छ?
मलाई प्लस टु मा पढ्दाको समय नै हो। त्यो बेलाको समयमा पूरा समय फ्री थिएँ। त्यो समयमा कसैले मलाई रोकतोक गर्दैनथ्यो। कुनै बन्धनमा बाँधिएको थिइनँ। साथीभाइहरु पनि धेरै थिए। अहिले जस्तो व्यस्त थिइनँ।  त्यो समय पाए फेरि जिउन चाहन्छु।

कस्तो कुराले खुसी बनाउँछ ?
म परिवारसँग बस्दा खुसी हुन्छु। किनभने मेरो बाबा ममी इण्डियामा बस्नुहुन्छ। उहाँहरु नेपाल आएको बेला सँगै बस्न पाए भने खुसी लाग्छ। अर्को चाहिँ आफूले काम गरेर सफलता हुँदा धेरै खुसी हुन्छु।

तपाईंको कुन कुराले चित्त दुख्छ?
मलाई धोका दिने मान्छेदेखि साह्रै चित्त दुख्छ। यो काम गर्नुपर्छ है भन्ने तर काम नगर्ने मान्छे देखेर चित्त दुख्ने गर्छ।

तपाईंलाई अलिक फरक प्रश्न? तपाईं सुतिरहेको कोठामा अचानक भूत प्रकट भयो भने के गर्नुहुन्छ?
मलाई भूतदेखि असाध्यै डर लाग्छ। हर हर फिल्म हेरेको रात म ट्वाइलेट जान सक्दिनँ। मेरो रुम नजिकै ट्वाइलेट छ त्यहाँ जानका लागि त भाइलाई बोलाउँछु। कहिलेकाहीँ भूतको कुरा गरेर सुतिन्छ नि त्यो बेला कता कता एैठन भएको जस्तो हुने, कताकता भूत आएर सुमसुम्याएको जस्तो लाग्छ। त्यसैले भुत मेरो कोठामा आयो भने त बेहोस नै हुन्छु होला।

यदि तपाईंलाई नेपालमा एकदिनका लागि प्रधानमन्त्री पदमा नियुक्त गरियो भने पहिला के काम गर्नुहुन्छ?  
सायद  विदेश जाने सयौँ युवालाई नेपालमा कतै न कतै जागिरका लागि सेटल गराइदिन्थेँ होला। हामीले तराई झरेका मान्छेलाई मात्र युवाहरु गन्ने गरेका छाैँ। हामीले पहाडका मान्छे कति अशिक्षित छन् भनेर कसैले सोचेको पाउँदिन। तर हुम्ला जुम्लाका मान्छेहरु कति अशिक्षित छन् भन्ने कुरा सोचेका हुँदैनौ। न त्यहाँ हस्पिटल छ न त्यहाँ शिक्षाको प्रभाव नै छ। त्यो ठाउँमा स्वास्थ्य र शिक्षाका लागि पहिलो पटक बजेट छुट्याउँथे।

के देख्दा दुःख लाग्छ?
शिक्षित मान्छेले पिउनको जागिर र कम पढाइ भएका मान्छे हाकिम भएको पाउँदा दुःख लाग्छ। आफू त्यो पदका लागि लायक हुदाँहुँदै पनि आफूभन्दा कम शिक्षा भएको मान्छे हाकिम भयो भने दुःख लाग्छ। नेपालमा पढाइको महत्व नदेख्दा मलाई धेरै दुःख लाग्छ।

प्रेम प्रस्ताव कत्तिको आउँछ?
प्रेम प्रस्ताव कमै आउँछ। म भर्खर फिल्ममा, म्युजिक भिडियोमा प्रवेश गर्दै गर्दा भने धेरै नै आउँथ्यो। त्यो बेला म प्लस टु लेबलमा थिएँ। जब म फिल्ममा निकै काम गर्न थालेँ, म्युजिक भिडियोमा धेरै खेलेँ तर अहिले प्रेम प्रस्ताव नै आउँदैन। कसैले पनि म सिङ्गल छु भन्दा पत्याउँदैनन्। अहिले म खाली छु भन्यो भने मान्छेलाई जोक जस्तो लाग्छ।

तपाईंको गोप्य कुरा के होला, जुन दर्शकलाई थाहा छैन?  
म एक्लै हुँदा रमाइलो लाग्छ। यसमा बढी इन्जोय गर्छु।

तपाईंले चाहेको तर गर्न नसकेको अधुँरो काम के होला?
मैले आइटी पढेँ तर फिल्मको लोभले गर्दा पूरा गर्न सकिनँ। ब्याचलर पूरा गर्न पनि सकिनँ। अहिले आएर मलाई पढ्न नसकेकोमा पछुतो लाग्छ।

आफ्नो कमजोरी के हो जस्तो लाग्छ?
म कुनै पनि कुराको छिटो निर्णय दिन सक्दिन। त्यही नै मेरो कमजोरी हो जस्तो लाग्छ।

आफु भित्रको के कुरालाई आफ्नो शक्ति ठान्नुहुन्छ?
मेरो आत्म विश्वास नै हो। योबाहेक अर्को शक्ति नै छैन।

आफ्नो आफैँलाई मन पर्ने बानी?
म सच्चा छु। मलार्ई कसैलाई पनि चिट गरुँ भन्ने लाग्दैन। सत्य र साँचो बोल्छु। त्यही नै मन पर्छ। 

आफ्नो मन नपर्ने बानी?
अन्याय भएको देख्न सक्दिन।

तपाईंलाई कुनै कार्यक्रममा भाषण गर्न लगाइयो भने कुन विषयमा गर्नुहुन्छ?
अहिले बेरोजगार भएर धेरै युवा विदेश पलायन भइरहेका छन्। तिनीहरुलाई रोक्ने प्रयास राज्यले गर्नुपर्छ र काम दिनु पर्छ भन्ने कुरामै जोड दिन्थेँ।

तपाईं सबैभन्दा धेरै रोएको क्षण?
पहिलो कुरा त फिल्ममा काम गर्ने समयमा निकै संघर्ष गर्नुपरेको थियो। मैले  दर्पणछायाँ –२ को फिल्ममा नायक भएर खेल्ने अवसर पाएको थिएँ। त्यो फिल्मको गीतमा रोएर अभिनय गर्नुपर्ने थियो। सुरुमा मलाई रुनै आएन। निकै समय लाग्यो रुन तर मैले फिल्ममा आउनका लागि जुन संघर्ष गरेँ ती कुरा एक्कासि मनमा झस्का पस्यो। अनि रुन थालेको कति रोएँ रोएँ। यो समयमा म २ घण्टा जति रोएँछु।
 

प्रकाशित: २४ चैत्र २०७५ ०८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App