७ वैशाख २०८१ शुक्रबार
अर्थ

सगरमाथा आरोहण गर्न २१ जना तिब्बत प्रस्थान

रसुवा – तिब्बतबाट सगरमाथा आरोहण गर्न २१ जना नेपाली आरोही तिब्बत प्रस्थान गरेका छन्। शनिबार २१ जनाको समूह चीन प्रवेश गरेको अध्यागमन कार्यालय रसुवाले जानकारी दिएको छ। एन्दोर्जी शेर्पा, लाक्पा ह्यालु शेर्पा, लाक्पा ह्याल्जेन शेर्पा, तेम्बा भोटे, रिन्जेन शेर्पा, मुक्तु लाक्पा शेर्पा, नुर्वु छिरिङ शेर्पालगायत सगरमाथा आरोहणका लागि तिब्बत गएका हुन्। बर्सेनि सगरमाथाको तिब्बती मोहोडाबाट पनि आरोही सगरमाथा आरोहणका लागि जाने गरेका छन्।

सगरमाथा आरोहणका लागि रसुवागढी नाकाबाट गत वर्षदेखि आरोही जान थालेका हुन्। गत वर्षदेखि यो नाकाबाट तिब्बत प्रवेश गर्न थालेका अध्यागमन अधिकृत विष्णु घर्तीले बताए। ‘आरोहण गर्न यो नाका हुँदै जानु जिल्लाका लागि राम्रो हो,’ उनले भने, ‘यसपछिका दिनमा पनि केही समूह आउने जानकारी आएको छ।’

अन्य नाकाबाट जान नपाइने भएकाले रसुवागढी नाकाबाट जान थालेका पर्यटन व्यावसायी गणेश लामाले बताए। ‘पहिले तातोपानी नाका भएर जाने गरेका थिए,’ उनले भने, ‘अहिले रसुवागढीको विकल्प छैन।’ रसुवागढी नाकाबाट दुई दिन गाडीमा यात्रा गरेपछि बेस क्याप पुगिने उनले बताए।

स्प्रिङ र अटम गरी दुई सिजनमा तिब्बतले हिमाल आरोहण खुला गरेको छ। तिब्बतमा सन् २०१९ को स्प्रिङ सिजनमा आरोहणका लागि जान चाहनेले फेबु्रअरी २८ सम्म नाम दर्ता गराउनुपर्ने थियो भने अटमका लागि ३१ जुलाईसम्म नाम दर्ता गराइसक्नु पर्छ। नेपालतर्फबाट सगरमाथा आरोहणका लागि चिनियाँ तथा विदेशी पनि रसुवागढी नाका हुँदै नेपाल आउन थालेका छन्। गत वर्षदेखि यही नाका हुँदै मानसरोवर जाने क्रम सुरु भएको थियो। चीनले रसुवगढीलाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सडक मार्ग प्रयोग गर्ने तेस्रो देशका पर्यटक समेत यही नाका हुँदै आउने तथा जाने गरेका छन्।
 

प्रकाशित: २४ चैत्र २०७५ ०७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App