६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

मसुल कब्जामा लिन निर्णायक लडाईं

इस्लामिक स्टेटको नियन्त्रणमा रहेको मोसुलमा आक्रमणकालागि प्रस्थान गर्दै गरेको संयुक्त सुरक्षा फौजको टोली । सो सहरलाई आइएसले सन् २०१४मा कब्जामा लिएका थिए ।

बगदाद–इराकका प्रधानमन्त्री हैदर अल अबादीले विद्रोही समूह इस्लामिक स्टेटका लडाकुहरुको नियन्त्रणमा रहेको इराकको दोस्रो ठूलो सहर मोसुललाई पुन आफ्नो नियन्त्रणमा लिनका लागि सैन्य कारबाही शुरु भएको बताएका छन् ।

मध्येरात सरकारी टेलिभिजनमार्फत गरिएको सम्बोधनमा प्रधानमन्त्री अबादीले कारबाहीको समय आएको र ठूलो जितको क्षण नजिकिएको बताए । कुर्दहरुको पेशमेर्गा लडाकु समूह, इराकी सरकार र सम्बद्ध फौजबाट भएको आइएसविरुद्धको हमलालाई अमेरिकी नेतृत्वको गठबन्धनको समर्थन रहेको छ ।

मानवीय सहायता समूहहरुले उक्त क्षेत्रमा ठूलो संख्यामा गैरसैनिकको हताहती हुनसक्ने चेतावनी दिएका छन् । मध्यरात सरकारी सञ्चारमाध्यमबाट उक्त घोषणा गर्दै प्रधानमन्त्री अबादीले आफूहरु  ठूलो जितको नजिक रहेको दाबी गरेका थिए ।

सुन्नीहरुको बाहुल्यता रहेको मोसुल शहरमा केवल सरकारी फौजमात्रै प्रवेश गर्नसक्ने पनि उनले बताए । इस्लामिक स्टेटले तीब्र हमला गर्दै मोसुलसहित पश्चिम इराकको ठूलो भूभागलाई सन् २०१४ मा आफ्नो कब्जामा पारेको थियो ।

मोसुल, उक्त विद्रोही समूहको इराकमा रहेको महत्वपूर्ण र बलियो पकडको क्षेत्र हो । त्यसको धेरै क्षेत्रलाई अहिले पुनस् सरकारी नियन्त्रणमा लिइएको छ ।

अमेरिकी लडाकूविमानहरुले मोसुल सहरमा आक्रमण गरिरहेका छन् । इराकका सेनाले महिनौंसम्म त्यहाँ ठूलो हमलाको लागि तयारी गरिरहेका थिए । उक्त शहरको नियन्त्रण गुमाउनुले इराकमा इस्लामिक स्टेटको हारको संकेत गर्ने अधिकारीहरुले बताएका छन् । मोसुल शहरबाट नै इस्लामिक स्टेटका नेता अबु बक्र अल बग्दादीले उक्त क्षेत्रलाई इस्लामवादी कानुन शासित राज्य क्यालिफेट भनेर घोषणा गरेका थिए ।

जुन क्यालिफेट अन्तर्गत इराक र सिरियाका उसको नियन्त्रणमा रहेका क्षेत्रसमेत समेटिएका थिए । आक्रमण हुनै लागेको छ भन्ने चेतावनीसहितका हजारौं पर्चाहरु हालैका दिनहरुमा त्यहाँ छरिएका थिए ।

आइएसविरुद्धको गठबन्धनका लागि अमेरिकाका दूतले ट्वीटरमार्फत उक्त ऐतिहासिक कारबाहीका लागि इराकको पक्षमा उभिन पाउँदा आफूलाई गर्व लागेको बताए ।

मोसुल शहरमा कति मानिसहरु बाँकी छन् भन्ने यकिन तथ्यांक छैन तर दुई वर्षभन्दा अघि आइएसले आफ्नो नियन्त्रणमा लिँदा त्यहाँ २० लाख भन्दा बढी मानिस थिए । मोसुल तेल उत्पादन गर्ने इराकको दोस्रो ठूलो सहर मानिन्छ ।

नयाँ तथ्यांक अनुसार आइएसले आफूले कब्जा गरेको भूभागको करिब एक चौथाइ क्षेत्र गुमाइसकेको छ । यसैबीच संयुक्त राष्ट्रसंघले कारबाहीका कारण त्यहाँ मानवीय सहायताका लागि ठूलो प्रभाव पार्ने र त्यसले १२ लाखसम्म मानिसहरुलाई असर गर्ने चेतावनी दिएको छ ।
सिरियाको डाबिकमा पनि सेनाको कब्जा
टर्कीको समर्थन पाएको सेनाले सिरियाको डाबिक नगर पनि इस्लामिक स्टेट समूहबाट फिर्ता लिएका छन् ।

ब्रिटेनस्थित पर्यवेक्षक समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार आइएस लडाकुहरु हटेपछि विद्रोहीले डाबिक नगरमाथि नियन्त्रण जमाएका हुन् ।

सुल्तान मुराद विद्रोही समूहका कमाण्डर अहमद ओसमानले रोयटर्स समाचार संस्थालाई आइतबार बिहान बताएअनुसार उक्त समूहले डाबिक नगरको छिमेकी गाउँ सोरानलाई पनि आइएस लडाकुबाट नियन्त्रणमुक्त गराएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार डाबिक नगरको रक्षाका लागि १२ सय आइएस लडाकु पठाइएका थिए ।
उक्त नगर कब्जामुक्त गर्ने क्रममा आइएस लडाकुबाट ‘सामान्य प्रतिवाद’ भएको हम्जा लडाकु समूहका एकजना कमाण्डरले समाचार संस्था एपीलाई बताएका छन् ।
उनीहरुलाई टर्कीले ट्यांक र हातहतियारबाट सघाएको थियो भने अन्तर्राष्ट्रिय गठबन्धनका लडाकु विमानले हवाई हमला गरी सघाएका थिए । डाबिक नगर टर्कीको सीमादेखि १० किलोमिटर मात्रै टाढा पर्दछ ।

आइएस र कुर्दिशसहितका लडाकुलाई सीमा क्षेत्रबाट धपाउन टर्कीले गत अगस्टमा कारबाही थालेको थियो ।

गत सेप्टेम्बरमा टर्कीका प्रधानमन्त्रीले सिरियासँगको ९१ किलोमिटर सीमा ‘पूर्णरुपमा सुरक्षित’ तुल्याइएको र ‘आतंकवादी समूहहरुलाई पछाडि धकेलिएको’ बताएका थिए ।

 

प्रकाशित: २ कार्तिक २०७३ ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App